एउटै वडामा सयबढी कार्यकर्ता दुई महिनासम्म परिचालित गरेको नेकपा एमालेले संगठनको शुद्धिकरण, सुदृढिकरण र विस्तारमा आफुलाई केन्द्रीत गरेको हो ।
नेकपा (एमाले)ले पछिल्ला निर्वाचनको परिणामपछि आफुलाई जनस्तरमा पु¥याउने अभियानलाई अगाडी बढाएको छ ।
त्यसका लागि फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको हो ।
देशव्यापी सञ्चालन गरिएको ‘मिसन ग्रासरूट’ बाँकेमा पनि केन्द्रीय योजना अनुसारनै चलिरहेको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । अध्यक्ष कक्षपतिका अनुसार, निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो ।
बाँकेमा पार्टी केन्द्रले केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, भिम केसी, खड्कबहादुर खड्का र कोमल ओलीलाई अभियानका लागि ‘मिसन ग्रासरुट’मा खटाएको छ । ‘
केन्द्रीय प्रतिनिधि सहित जिल्लाका नेता कार्यकर्ता पालिकादेखि टोलसम्म पार्टीको यो अभियानमा लागेका छन्,’ एमाले अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘एउटै वडामा सयबढी कार्यकर्ता दुई महिनासम्म परिचालित भएर शुद्धिकरण, सुदृढिकरण र विस्तारमा आफुलाई केन्द्रीत गरेका छौं ।’
एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरमा खटाउने निर्णय गरेको थियो ।
अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।
त्यसक्रममा जिल्लाका ८ वटा पालिकास्तरीय भेला यसैसाता सकिएको अध्यक्ष कक्षपतिले जानकारी दिए । ‘त्यसका लागि चार जना केन्द्रीय सदस्यसहित ५७ जना प्रदेश कमिटीका र १६१ जना जिल्ला कमिटीका नेता परिचालित भए,’ अभियानबारे अध्यक्ष कक्षपतिले भने, अब पालिकास्तरीय कमिटीले वडास्तरीय र टोलस्तरीय कमिटी तहमा प्रशिक्षण तथा अभिमुखिकरण गर्नेछन् ।’
त्यसक्रममा गाउँ कमिटी, वडा कमिटी र टोल कमिटी तत्कमिटीमा परिचालित हुँदै जिल्लाका ८१ वटै वडामा पुग्दा जिल्लाका सबैजसो पार्टी सदस्यलाई अभियानले परिचालित गर्ने पार्टी उपाध्यक्ष डिल्ली बिसीले बताए । ‘शत्प्रतिशत पार्टी सदस्यलाई मिसन ग्रासरुटमा परिचालित गरिने यो अभियान हो,’ उपाध्यक्ष बिसीले दैनिक नेपालगन्जसँग भने ।
अभियानका क्रममा बाँकेको कोहलपुर र डुडुवामा केन्द्रीय सदस्य लक्षमण ज्ञवाली परिचालित छन् । अर्का केन्द्रीय सदस्य भीम केसी नेपालगन्ज र जानकी, खड्क ब खड्का बैजनाथ र खजुुरा तथा कोमल ओली नरैनापुर र राप्तीसोनारीमा कमाण्ड गरिरहेको अध्यक्ष कक्षपतिले जानकारी दिए । उनीहरु पालिकास्तरका नेता तथा कार्यकर्ताहरुलाई गाउँ–गाउँमा भइरहेका अभियानमा राजनीतिक प्रशिक्षण दिइरहेका छन् ।
उनीहरुले एमालेका नेता कार्यकर्ता माझ जनताको बहुदलिय जनवाद,देशको बर्तमान परिस्थति र पार्टीको भूमिका, पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्था, संगठन निर्माण, स्थानीय कमिटिले गर्नुपर्ने कार्यभार र अन्य पार्टीबीचको सम्बन्धका बारेमा प्रशिक्षण दिइरहेका हुन् ।
त्यसक्रममा चर्चित लोकगायिका कोमल ओली यतिबेला नेकपा एमालेको केन्द्रीय सदस्यको हैसियतमा बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खटिएकी छन् ।
नेकपा एमालेको केन्द्रीय सदस्यको हैसियतमा चर्चित लोकगायिका कोमल ओलीको प्रशिक्षण सुनेका कार्यकर्ताहरु भन्छन्– ‘हामीले जे बुझेका थियौं उहाँका बारेमा प्रशिक्षण सुनेपछि फरक लाग्यो । कम्युनिष्ट आन्दोलन र पार्टी संगठन निर्माणका बारे उहाँमा ज्ञान रहेछ ।’
पार्टी नेतृका हैसियतमा कम्युनिष्ट आन्दोलन र संगठन निर्माणका बिषयमा दिएको प्रशिक्षणले ओलीको परिचय बद्लिएको एमालेका नेता कार्यकर्ताहरु बताउँछन् । ओलीको प्रशिक्षण सुनेका कार्यकर्ताहरु भन्छन्– ‘हामीले जे बुझेका थियौं उहाँका बारेमा प्रशिक्षण सुनेपछि फरक लाग्यो । कम्युनिष्ट आन्दोलन र पार्टी संगठन निर्माणका बारे उहाँमा ज्ञान रहेछ ।’
नेतृ ओलीको प्रशिक्षण नेता कार्यकर्ताहरुले ध्यान दिएर सुन्ने गरेका छन् । ‘बोलीमा मिठास त छ नै बिषयबस्तुको समय गहिरो अध्ययन भएका कारण कार्यकर्ताहरुले प्रशिक्षण रुचाएका छन्,’ ओलीसंगै अभियानमा रहेका एमाले बाँकेका नेता दिलबहादुर परियार भन्छन्, ‘कोमल ओली कामरेडमा बिषयबस्तुमा प्रष्ट र गहिरो ज्ञान भएको पाएँ ।’
नेता परियारका अनुसार, प्रशिक्षणका क्रममा ओलीले मिसन ग्रासरुट अभियानले आफुलाई ग्रासरुटका नेता कार्यकर्तासंग र ग्रासरुटका नेता कार्यकर्तालाई आफुसंग भेट्ने अवसर जुराइदिएको बताउने गरेकी छन् ।
एमाले अध्यक्ष कक्षपतिका अनुसार, लुम्बिनीस्तरीय प्रशिक्षणमा सहभागी भएपछि अभियन्ताहरु जिल्लास्तरीय प्रशिक्षण, अभिमुखिकरणसँगै फागुन १० गतेबाट नगर र गाउँपालिका हुँदै ८१ वटै वडामा वडा भेला, टोल कमिटीमा पुगेका हुन् ।
‘घरदैलो, प्रशिक्षण, पार्टीका गुनासाबारे अभियन्तामार्फत सुन्ने र सुनुवाई गर्ने, जिल्ला हुँदै समाधान हुन नसकेका गुनासा केन्द्रसम्म पु¥याउने अभियानको योजना छ,’ कक्षपतिले मिसन ग्रासरुट अभियान आगामी बैशाख ९ गते पार्टी स्थापना दिवसका दिन भव्य समापन गर्ने योजना रहेको जानकारी दिंदै भने ।