पुनर्जीवन पाउँदै महेन्द्र पुस्तकालय

नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयलाई पुनर्जीवन दिने प्रयास गरिएको छ । २०५४ सालपछि नयाँ कार्यसमिति गठन नभै अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालयमा पुनर्जीवन प्रयास गरिएको हो ।


त्यसका लागि २०७८ चैत २९ गते तदर्थ समिति गठन भएको थियो । उक्त समितिले भदौ २८ गते अधिवेशन गराई निर्वाचित भएको कार्यसमितिले पुस्तकालयलाई पुनर्जीवन दिन प्रयास गरिरहेको जनाएको छ ।


‘त्यसका लागि ई–पुस्तकालयको अवधारणतर्फ अघि बढ्ने कार्ययोजना तय भएको हो,’ कार्यसमिति सदस्य वीरेन्द्र जैसीले भने, ‘पुस्तकालयलाई अब ई–पुस्तकालयको मोडेलमा पनि अघि बढाउने गरी कार्यक्रम तय गरेको हो ।’


शुक्रबार भएको कार्यसमितिको बैठकले पुस्तकालयको चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्दै ई–पुस्तकालय बनाउनका लागि बजेट विनियोजन गरेको जनाएको छ । सदस्य जैसीका अनुसार, कुल २७ लाख पाँच हजार रुपैयाँको बजेट निर्धारण गर्दै कार्यसमितिले ई–पुस्तकालयका लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको हो ।


पुस्तकालयका अध्यक्ष वलराम यादवले पुस्तकालयका आजीवन सदस्यहरुमध्येबाट ई–पुस्तकालय उपसमिति गठन गरी काम अघि बढाइने जानकारी दिएका छन् ।

यसवर्ष ई–पुस्तकालयका लागि आवश्यक भौतिक स्रोतसाधन खरिद गर्ने र ई–पुस्तकालयको सुुरुवात गर्ने कार्यक्रम निर्धारण गरिएको जानकारी दिंदै अध्यक्ष यादवले आफूहरुको कार्यकालमा महेन्द्र पुस्तकालय ई–पुस्तकालयको पूर्ण मोडेलमा गइसक्ने योजना सुनाए ।


पुस्तकालयमा केही हप्तामै वाचनालय सन्चालन पनि गरिने भएको छ । पुस्तकहरु पाठकहरुले पढ्न पाउने व्यवस्था मिलाउने र सभाहल सन्चालन ल्याउने पनि अध्यक्ष यादवले जानकारी दिए ।


पुस्तकालयबाट पुस्तक घरमा लिएर पढ्नेगरी नियमित पाठक बन्नका लागि सदस्य बन्न चाहनेहरुका लागि सदस्यता आवेदन पनि खुला गरिएको छ ।

अध्यक्ष यादवका अनुसार, पुस्तकालयको नियमित पाठक बन्न चाहनेहरुले दुई सय रुपैयाँ शुल्क तिरेर सदस्यता लिन सक्नेछन् । त्यस्ता सदस्यहरुले पुस्तकको मूल्यको केही प्रतिशत धरौटी राखेर पुस्तक फिर्ता गर्नेगरी घरमा लिएर अध्ययन गर्न पाउनेछन् ।


वि.सं. २००३ सालमा नेपालगन्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयमा परिणत भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया