व्यवसाय टिकाउनै धौ भइरहेको व्यवसायीको पीडा

पुस्तक तथा स्टेशनरी व्यवसायीको १५औं बार्षिक साधारणसभा

पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायीले हालकै अवस्था लामो समय रहने हो भने व्यवसाय चल्न नसक्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १५औं बार्षिक साधारणसभा बोल्ने सम्बद्ध क्षेत्रका अगुवा व्यवसायीहरुले कागजको अभाव र मूल्यवृद्धिबाट सिर्जित समस्याबाट प्रत्यक्ष रुपमा पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसाय प्रभावित भएको बताएका हुन् ।

महासंघका केन्द्रीय सचिव बुद्धि प्रसाद अधिकारीले कच्चा पदार्थको अभावमा कापी उद्योग बन्द हुने अवस्थामा रहेको बताएका बताए । ‘कागजको कमी हुँदा कापी तथा किताब छाप्ने उद्योग धराशयी छन्’, उनले भने, ‘यही अवस्था रहने हो भने आगामी शैक्षिक सत्रमा निजी विद्यालयको पाठ्यपुस्तक समेत अभाव हुनसक्छ ।’ उनले हालको समस्या समाधानका लागि केन्द्रीय स्तरबाट पहल भैरहेको बताउँदै सरकारको गम्भीर हुन आवश्यक रहेको बताए ।

‘महासंघको टोलीले छापिएका पुस्तक र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ’, सचिव अधिकारीले भने, ‘अहिले व्यवसाय कसरी टिकाउने भन्ने समस्या छ ।’

महासंघका बाँके उपाध्यक्ष प्रदिप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा व्यवसायीहरुले खुला सीमानाका कारण बिना भन्सार भित्रिने स्टेशनरीको समानले यहाँका व्यवसायी प्रभावित भएको गुनासो समेत गरेका थिए । ‘एकातिर खुला सीमानाबाट विना भन्सार आयातित स्टेशनरी अर्को तर्फ पर्याप्त पुस्तक उपलब्ध नहुनु र बैंकले मनपरी ब्याज बढाउनु, व्यवसायी निकै संकटमा छन्’, महासंघका लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष बसन्त लामिछानेले भने, ‘अहिले व्यवसाय चल्ने भन्दा कसरी टिकाउने भन्ने समस्या छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायिक समस्याको उठान र समाधानका लागि व्यवसायी एक भएर अगाडि बढ्नु पर्ने बताए । ‘संघले व्यवसायिक समस्या उठाउन विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्दछ, त्यसमा सबै वस्तुगत संघको सहभागिता हुनुपर्यो’, अध्यक्ष मन्सुरीले भने । उनले संघका कार्यक्रममा व्यवसायीहरुको उपस्थिति न्यून हुने गरेको भन्दै व्यवसायिक हितमा चनाखो बनिदिन आग्रह समेत गरेका थिए ।

जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रविन्द्र शर्माले अन्य जिल्ला भन्दा बाँकेमा पाठ्यपुस्तकको आपूर्ति नियमित भएको बताए । ‘केही कक्षाको केही विषयका पाठ्यपुस्तक अझै अभाव छ’, उनले भने, ‘केन्द्रबाट प्राप्त भएको किताब समयमै वितरण गरेर सकेसम्म आपूर्ति नियमित गराउने प्रयास गरेका छौं ।’ उनले कागज अभावका कारण समयमै पुस्तक नछापिने गर्दा विद्यार्थीको हातसम्म पुग्न ढिलाई हुने गरेको बताए । ‘यो देशभरको समस्या हो, केन्द्रबाट नै समाधान हुनुपर्छ’, शर्माले भने ।

प्याब्सन बाँकेका उपाध्यक्ष शरद रावलले विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । ‘बालबालिकालाई क्रियटिभ बनाउन पुस्तक पढ्न बानीको विकास गर्न आवश्यक छ’, उनले भने, ‘बालबालिका मोबाइलमा मात्रै व्यस्त हुने, पास हुनकै लागि लेखिएको उत्तर मात्रै याद गर्ने बानीले उनीहरुको क्षमता विकास अपेक्षित रुपमा हुन सक्दैन ।’

कार्यक्रममा महासंघका पूर्व क्षेत्रीय उपाध्यक्ष रामप्रसाद गौतम, जिल्लाका पूर्व अध्यक्ष नारायण ज्ञवाली, साहित्यकार कल्पना पौडेल, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया