उपमहानगरबाट सेवा बन्द गर्ने चेतावनी

नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, संस्थागत, निजी तथा मदरसाहरुले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (इएमआइएस) अद्यावधिक नगर्दा हैरान छ । पटकपटक ताकेता गर्दा पनि इएमआइएस नभरेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयको नाम उल्लेख गरेर ताकेता सम्बन्धी सूचना पत्रिकामै प्रकाशन गरेको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले पटकपटक ताकेता गर्दा पनि वेवास्ता भएपछि उपमहानगरपालिकाबाट दिइने सेवा, सुविधा नै बन्द गर्नका लागि सूचना प्रकाशित गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले इएमआइएस अद्यावधिक गर्नका लागि भदौं ७ गतेसम्मको समय दिएको छ । उक्त अवधीसम्म पनि इएमआइएस अद्यावधिक नगरेमा उपमहानगरपालिकाबाट प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी पनि दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका ७ वटा मदरसा, २८ वटा संस्थागत विद्यालय र ३ वटा सामुदायिक विद्यालयले इएमआइएस अद्यावधिक नगरेको शिक्षा महाशाखाले जानकारी दिएको छ । उपमहानगरपालिकाले इएमआइएस अद्यावधिक नगर्ने विद्यालयलाई कालोसूचिमा राख्ने तयारी समेत गरेको छ । कालोसूचिमा परे त्यसको असर विद्यालय सँगै विद्यार्थीलाई समेत पर्ने सम्बद्ध बताउँछन् ।










