मेरो टुकी प्रज्ञालयले अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो

मेरो टुकी प्रज्ञालय स्कुलले ‘ब्याक टु स्कुल’ का नाममा बाल स्वास्थ्य, बाल मनोविज्ञान र अभिभावक–विद्यालय समन्वयमा केन्द्रित रहेर अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
शनिवार आफ्ना ८० बढी अभिभावकलाई निम्त्याइएको कार्यक्रममा बालरोग विशेषज्ञ डा. रोमा बोराले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि अपनाउनुपर्ने सुझाव तथा महत्वपूर्ण जानकारी दिइन् । बालस्वास्थ्य सम्बन्धीे उक्त सत्रमा उनले एन्टिबायोटिक र अन्य औषधी, पोषण, सहज बालविकासका चरण, अटिज्म आदिबारे अभिभावका जिज्ञासाहरूको उत्तर दिएकी थिइन् ।
अभिभावकहरुलाई प्रज्ञालयका संस्थापक, मनोपरामर्शकर्ता भोजराज शर्माले बालबालिकाको बहुबौद्धिक क्षमताका विषयमा हावर्ड गार्डनरको ‘मल्टिपल इन्टेलिजेन्स थ्योरी’ बारे जानकारी दिएका थिए । साथै बाल मनोविज्ञान र बालबालिकाका मनोसामाजिक समस्या समाधानका विषयमा दोस्रो सत्रमा जानकारी दिइएको थियो ।
कार्यक्रमको अन्तिममा ‘ब्याक टु स्कुल’ नामक मनोरञ्जनात्मक सत्रमा अभिभावकले बालबालिकाको परीक्षाको प्रश्नपत्र हल गरेका थिए । स्वयम् बालकजस्तै भएर शिशु कक्षाको परीक्षा दिँदा आफू अनायासै ‘नर्भस’ भएको भए पनि रमाइलो स्कुले जीवन याद आएको अभिभावकहरुको प्रतिक्रिया थियो ।
यस्ता खाले अभिमुखीकरणले अभिभावक र विद्यालयबीच सम्बन्ध गाढा हुने र बच्चाको लागि दुवै पक्षबाट संयुक्त योजना बनाउन सकिने प्रज्ञालयकी प्रिन्सिपल कल्पना शर्माले बताइन् । कार्यक्रमको सहजीकरण संचारकर्मी निशु जोशीले गरेकी थिइन् ।










