मानव बेचविखनः भारतबाट उद्दार चुनौति

मानव बेचबिखनका घटनामा भारतबाट उद्दार निकै चुनौतिपूर्ण रहेको सम्बद्ध क्षेत्रमा क्रियाशिल संघ, संस्थाका प्रतिनिधिहरुले औपचारिक कार्यक्रममा बताउने गरेका छन् ।

सीमापार भारततर्फ जान लागेका नेपालीहरुलाई जोखिमको अवस्थाबारे जमुनाह नाकामा बसेर सोधपूछ तथा सचेत गराउँदै शान्ति पुनःस्थापना गृहका सहजकर्ता । (तस्विरः दैनिक नेपालगन्ज)

उद्दारका लागि राज्यको केन्द्रीय तहबाट यथोचित पहल नहुँदा पनि भारत तथा तेस्रो मुलुकमा बेचबिखनमा परेका नेपाली नागरिकको उद्दार चुनौतिपूर्ण हुने गरेको हो । सरकारी स्तरबाट भारत तथा तेस्रो मुलुकबाट उद्दार गरेर ल्याएको सुनिने गरेको छैन ।

सरकारी स्तरबाट बेचबिखनमा परेकाका उद्दारमा ठोस पहल नभएपनि मानव बेचबिखन विरुद्ध क्रियाशिल संघ, संस्थाहरुले त्यसको जिम्मेवारी लिने गरेका छन् । प्रक्रियागत रुपमा उद्दार निकै झन्झटिलो हुने गरेको बताउँदै सम्बद्ध क्षेत्रमा क्रियाशिल संघ, संस्थाका प्रतिनिधि भन्छन्, ‘कतिपय व्यवहारिक रुपमा सम्पर्क गरेर पनि उद्दार गर्दै आएका छौं ।’

संघ, संस्थाहरुको पहलमा हुने उद्दारका प्रयासमा राज्यको केन्द्रीय तहबाट दु्रत गतिमा सघाउने खालको गतिविधि भएको पाइँदैन । यद्यपि, सुरक्षाकर्मी तथा प्रशासनिक निकायबाट भने संघ, संस्थालाई उद्दार सम्बन्धी कार्यमा पूर्ण सहयोग हुँदै आएको छ ।

भारतमा नेपाली चेलिबेटी, बालबालिका बेचिने गरेको समाचार प्रकाशमा आउन लागेको बर्षौ भैसकेको छ । तर, यस विरुद्ध अहिले सम्म सरकारले भारतीय सरकारलाई ध्यानाकर्षण गराएर कारवाहीको दायरामा अपराधीलाई पुर्याउन सहयोग लिन सकेको छैन । भारतमा लगेर बेचिएका घटनामा उद्दारपछि त्यहाँ यौन शोषणका लागि मानव खरिद गर्ने भारतीय नागरिकलाई मुद्दा चलाउने र कारवाही अगाडि बढाउन समस्या भएको सम्बद्ध क्षेत्रमा क्रियाशिल बताउँछन् ।

‘नेपाली नागरिकलाई पनि ल्याउन धेरै प्रक्रिया पूरा गर्नुपर्दछ, कतिपयले त भारतमा नै रासन कार्ड लिइसकेको हुँदा भारतीय प्रहरीले नेपाल ल्याउन सघाउँदैन, स्थानीय प्रहरी अधिकारीको असहयोग रहन्छ, तर भारतमा क्रियाशिल संघ, संस्था तथा उच्च तहका अधिकारीले भने उद्दारमा सघाउने गरेका छन्’, शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराई भन्छन् ।

‘भारत पुर्याएर बेचिएको हो, बेचिएका नागरिक नेपाली हुन् भनेर धेरै कागजात चाहिन्छ, विभिन्न ठाउँ पुग्नु पर्दछ, यसले बेचिएको थाहा हुँदाहुँदै पनि तत्काल उद्दार गर्न समस्या हुने गरेको छ’, भट्टराई भन्छन् ।

भारतका विभिन्न सहरमा यौन शोषणका लागि चर्चित ठाउँहरु छन् । त्यहाँको सरकारले त्यसलाई प्रतिबन्ध लगाउन सकेको छैन । अहिले पनि नेपाली चेलीहरु भारतमा बेचिने गरेको पाइन्छ । खासगरी पछिल्लो समय प्रविधिको प्रयोगले झुक्याएर, जागिरको प्रलोभन देखाएर, आफन्तबाटै भारत लगेर बिक्री गर्ने गरेको पाइएको शान्ति पुनस्र्थापना गृह बाँकेका कार्यक्रम संयोजक निर्मल सुवेदी बताउँछन् ।

सरकारले मानव बेचबिखन विरुद्ध अनुसन्धान ब्यूरो पनि स्थापना गरेको छ । २०७५ साल २७ गते ब्यूरोको स्थापना गरिएको थियो । ब्यूरोका अनुसार, आर्थिक बर्ष ०७८/०७९ मा देशभर मानव बेचबिखन सम्बन्धी १ सय ४२ वटा मुद्दा दर्ता भएका छन् । देशभर आ.व. ०७५/०७६ देखि आर्थिक बर्ष ०७८/०७९ सम्म ६ सय ७० मात्रै मुद्दा मानव बेचबिखनका घटनामा दर्ता भएका छन् ।

मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्थाहरुले नेपाल भारतको मुख्य नाका सहित सहायक नाकाहरुमा समेत निगरानी गर्दै आएका छन् । सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विभिन्न संघ, संस्थाको पहलमा नाकाबाट जोखिमपूर्ण यात्रामा लग्न तथा बेचिन लागेको आशंका लागेका सयौंको उद्दार हुँदै आएपनि मुद्दा भने न्यून दर्ता हुने गरेका छन् । ‘पीडित होस्टाइल हुने, पछि बयान बदले संस्था नै बदनाम हुने, आफन्त नै अपराधी भए मुद्दामा जान नचाहने, अपराधीको पहिचान नै नखुल्ने लगायतका कारणले उद्दार धेरै भएपनि मुद्दा भने कमै हुने गरेका छन्’, मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्थाका प्रतिनिधि भन्छन् ।

भारतबाट उद्दारका घटनामा पनि कमै मात्र मुद्दा चल्ने गरेको छ । भारतमा असहयोग हुँदा जोखिम नै मोलेर संघ, संस्थाका प्रतिनिधिले कोठी चाहार्दै हिड्ने गरेका छन् । कतिपय ठाउँमा बेचबिखनमा परेकालाई अर्को ठाउँमा लुकाइ दिंदा पनि पीडित फेला नपर्ने समस्या रहेको सम्बद्ध बताउँछन् ।

‘हामीलाई भारत लगेको सूचना आएपछि त्यहाँको प्रहरीसँग कागजात मिलाउनेदेखि विभिन्न नीतिगत समस्या देखिएको छ’, गृहका क्षेत्रीय संयोजक भट्टराईले भने ।

शान्ति पुनःस्थापना केन्द्र, बाँकेका संयोजक सुवेदीले मानव बेचबिखन गर्नेले नयाँ नयाँ रणनीति अपनाएर युवतीलाई भारत पु¥याउने गरेको पाएको बताए ।

२ सय ४६ को उद्धार

मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था, शान्ति पुनःस्थापना गृह बाँकेले बाँकेका चार वटा नाकाबाट आ.व. २०७८/७९ मा २ सय ४६ जनाको उद्दार गरेको छ ।

संस्थाद्वारा शुक्रबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियात्मक कार्यक्रममा बाँकेका मुख्य नाका जमुनाह मात्रै नभई भित्री नाका तथा कोहलपुरमा समेत सम्पर्क कार्यालय स्थापना गरेको गृहले गत आर्थिक बर्षमा बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको ५ लगायत ३१ जिल्लाका २ सय ४६ जनालाई उद्दार गरेको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका बाँके कार्यक्रम संयोजक निर्मल सुवेदीले उद्दार गरिएका मध्ये १८ देखि २५ बर्ष उमेर समूहका बढी रहेको जानकारी दिएका छन् । उनले १६ देखि १७ उमेर समूहका ६४, ११ देखि १५ बर्ष उमेर समूहका २८, ३० बर्ष माथिका १२ जनाको उद्दार गरिएको जानकारी दिएका छन् । ‘जोखिमपूर्ण यात्रामा भारत जानेहरुलाई सम्झाई बुझाई नाकाबाट फर्काइएको हो’, उनले भने ।

भारतबाट ६ को उद्दार

शान्ति पुनस्र्थापना गृह बाँकेले भारत पुगेर ६ जना नेपालीको उद्दार गरी नेपाल फर्काएको छ । बेचबिखनमा परेकाहरुलाई उद्दार गरी नेपाल फर्काएको गृहका बाँके कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिएका छन् ।

भारतको उत्तर प्रदेशको उन्नाउबाट ४ जना, लखनउबाट १ जना र हिमाञ्चलको सिमलाबाट १ जनाको उद्दार गरिएको हो ।

लुम्बिनीमा १२ मुद्दा: ५ वटा बाँकेमा मात्रै

मानव बेचबिखनका घटनामा कमै मात्र मुद्दामा जाने गरेका छन् । शान्ति पुनस्र्थापना गृहले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १२ वटा मानवबेचबिखन विरुद्धको मुद्दा प्रहरी मार्फत गराएको जानकारी दिएको छ ।

गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बाँकेमा ५, कपिलवस्तुमा ४, दाङ्गमा १, बर्दियामा दुई मुद्दा दर्ता भएको जानकारी दिएका छन् ।

कार्यक्रममा गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले मानवबेचविखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्दार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताएका थिए ।

बाँकेमा दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, दुई जनाविरुद्ध जबर्जस्ती करणी र एक जना विरुद्ध मावन बेचबिखन र जबर्जस्ती करणीमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा मुद्दा दर्ता गरेको गृहका बाँके कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

गृहले लुम्बिनी प्रदेशमा १५ हजार ९ सय ७५ लाई परामर्श प्रदान गरेको छ । जसमा कपिलवस्तुका ६ हजार ५ सय ५७, दाङका १ हजार ५४, बाँकेका ५ हजार ९ सय १५, बर्दियाका २ हजार ४ सय ४९ लाई परामर्श दिइएको हो ।

गृहले आफ्नै संस्था मार्फत लुम्बिनी प्रदेशमा ३ सय ५३ जनालाई उद्दार गरी परिवारको जिम्मा लगाएको छ । जसमा कपिलवस्तुका १ सय ७६, दाङका ८, बाँकेका १ सय ४५ र बर्दियाका २४ जना रहेका छन् । अघिल्लो आ.व.मा गृहले लुम्बिनी नाकाबाट उद्दार गरिएका २ सय ३७ व्यक्तिलाई प्रहरी मार्फत परिवारको जिम्मा लगाएको थियो ।

लुम्बिनी प्रदेश अन्तर्गतका कार्यालय मार्फत भारत पुगेर ११ जनाको उद्दार गरिएको संस्थाले जानकारी दिएको छ । गत आ.व.मा संस्थाले लुम्बिनी प्रदेशमा ४ जनाको पुनस्र्थापना समेत गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया