एमाले बाँके निर्वाचन : उम्मेदवार फकाउँदै, गलाउँदै

नेकपा एमाले बाँकेको जारी जिल्ला अधिवेशन अन्तर्गत गठित अध्यक्ष मण्डलले किस्मत कुमार कक्षपतिको अध्यक्षतामा १ सय २० सदस्यीय कमिटि प्रस्ताव गरेको छ । तर, अध्यक्ष मण्डलको प्रस्ताव बाहेक पनि उम्मेदवारी परेपछि उम्मेदवारहरुलाई फकाउने, गलाउने नीति लिएको छ ।

अहिले पनि उम्मेदवारी फिर्ता लिने क्रम जारी छ । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बढाएको छ । अध्यक्ष पदका उम्मेदवार अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएपछि किस्मत कुमार कक्षपति र निरक गुरुङको मात्रै उम्मेदवारी कायम छ । सुरुमा ७ जनाले अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका थिए । कर्माचार्यसँग केन्द्रीय नेताले लामो संवाद गरेपछि उनले फिर्ताका लागि निवेदन दिएका थिए । ‘गुरुङसँग पनि वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले निकै लामो संवाद गर्नुभएको छ’, पार्टी स्रोतले भन्यो, ‘त्यसैले फिर्ताका लागि समय बढाइएको हो ।’

अध्यक्ष दाबी गरेका पार्टी सचिव रत्न खत्रीले पुनः सचिव पदमै उम्मेदवारी दिएका छन् । उनीसँगै भीम ओली र बलराम भट्टराई पनि सचिवका दाबेदार छन् । उपसचिवमा दिपक बर्मा र भूमिसरा धिताललाई अध्यक्ष मण्डलले प्रस्ताव गरेको छ भने उनीहरुसँगै अछरी पोखरेल, मनोज बर्मा र तुलसीराम थारुले पनि उम्मेदवारी दिएका छन् ।

शनिबार अधिवेशनको बन्दसत्रमा एमाले बाँके इन्चार्ज सुर्य ढकालले खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका किस्मत कुमार कक्षपतिको अध्यक्षतामा १ सय २० सदस्यीय जिल्ला कमिटि प्रस्ताव गरेका हुन् । एमाले बाँकेको उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री, उपसचिवमा भूमिसरा धिताल, उपसचिवमा दिपक बर्मा लगायतको नाम अध्यक्ष मण्डलको तर्फबाट प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया