
कोहलपुरको प्याराडाइज कटेजको एउटा खुला टेबलमा एक साँझ । वेटरले दुई कप कफि ल्याउनु अघि सागर गैरेले आफ्नो किताब थमाईदिए – ‘बलैगाउँदेखि बाकुसम्म ।’
अघिल्लो वर्ष लकडाउनको जर्जरपूर्ण समयबाट निस्केर निबन्धकृति ‘लकडाउन’ बजारमा छोडेका गैरेको यो नियात्रा दोस्रो किताब हो । कोलाहल नभएको तर साहित्यिक सक्रियता भएको कोहलपुरमा बसेर फुटकर लेखनमा रमाएरै गैरेले जीवनका मलिला केहि दशकहरु बिताए । ‘मैले हिम्मत नै गर्न सकिन नवीन सर ।’ कफि भन्दा मिठो आवाजमा गैरेले किताब प्रकाशन गर्न नसक्नुको कारण बताए, ‘कागजमा लेखेका रचना टाइप गर्न कस्लाई भन्ने ?, मलाई प्रकाशकले खोजेनन् मैले खोज्न ढिला गरेँ ।’ जब इन्ड्रोइड मोबाइल हात पर्यो, त्यसपछि सागर गैरेका किताब बजारमा देखिन थाले ।
बाह्र हजार वर्षअघिदेखि मानिसले आफ्नो भावना अभिव्यक्त गर्न कुनै न कुनै माध्यम खोजी गर्दै र प्रयोग गर्दै आएको छ । पाँच हजार वर्षको ध्वन्यात्मक लेखनको प्रयास र मेसोपोटामिया, ग्रीस, साइबेरियामा विकसित सभ्यताले विकास गरेको शब्दाक्षर हुँदै अहिलेको एक्काइशौँ शताब्दीको डिजिटल दुनिँयासम्म आइपुग्दा मानिसका संबेदनाहरु सहजै सञ्चार गर्ने सुविधामा हामी बाँचिरहेका छौँ । त्यहि सुविधा समातेर गैरेको मोबाइलमा लेखिए दुई वटा किताब ।
गैरेसंग प्रश्नहरु छन् भोलिका लागि । कहिल्यै विस्मृत नहुने विगत झन धेरै, त्यो विगतको रंगिन क्यानभासमा व्यक्तिदेखी बस्तीहरु छन्, मान्छेका अनुहार छन्, ति अनुहारमा अल्झिएको उस्का इतिहासहरु छन् । गैरेसंग यस्ता धेरै किताबहरु बाँकि नै छन् ।
चराको मन लिएर बाँचेका गैरे यात्रा गर्न मन पराउछन् । सके समुद्र, नसके देशका सीमाना नाघेर, त्यो पनि नसके गाउँघरकै खेत खलियान र बाटो बस्तीमा पुगेर फोटो खिच्छन् र लेख्छन् । भारतको बलै बजारदेखि अजरबैजानको राजधानी बाकुसम्मका तेह्र नियात्रा समावेश ‘बलैगाउँदेखि बाकुसम्म’ किताब गैरेको सम्पूर्ण वैदेशिक भ्रमणको एकमुस्ट दस्ताबेज हो । यो किताब भ्रमणको विवरण मात्र हैन यात्रा साहित्य, यात्रा वृत्तान्त, यात्रा वर्णन, यात्रा संस्मरणमा हुनुपर्ने सम्पूर्ण ओज बोकेको किताब हो । तीन दशक पहिले नेपाली जनजीवनसंग जोडिएको भारतको बलैगाउँ वा बलै बजारको त्यो यात्रा, यो किताब लेख्नका लागि गरिएको यात्रा थिएन । नेपाली समाजको विद्यमान समयको सृजनाबाट उद्देलित भएर भोग्न बाध्य÷भोग्नुपर्ने समयको बाल मनोवैज्ञानिक स्मृति हो । त्यो नेपाली नियात्रा लेखनमा विरलै पाइन्छ ।
नेपाली नियात्रा साहित्यको जरो सवा ५ सय वर्ष पुरानो छ । विसं १५५० मा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रह नै नियात्रा लेखनको पहिलो पाइला मानिन्छ । तर बर्तमान नियात्रा लेखनको नेपाली सौन्दर्य विदेश यात्रा नै हो भन्ने सोँच हावि छ । वि.सं. १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’ देखि लैनसिंह वाङ्देलको ‘युरोपको चिठी’ हुँदै ‘स्पेनको सम्झनामा’ र तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ लगाएतका महत्वपूर्ण नियात्रा चर्चामा छन् । यस्ता किताबहरु चर्चामा मात्र छैनन् यसले नेपाली साहित्यमा नियात्रालाई पृथक र महत्वपूर्ण विधाको रुपमा स्थापित समेत गर्यो ।

त्यहि दर्विलो इतिहासको पछिल्लो पुस्तामा उभिएर सागर गैरेले नियात्रा लेखे । सागरका नियात्राहरु संयोगबाट उद्घाटित फसलहरु मात्र होइनन् । भवितब्य भ्रमणबाट संश्लेशित समयका घोतक हुन् । चेतनाका झिल्का हुन्, समयका उद्गार हुन्, देशबाहिर पुगेर संसार देख्दै गरेका अविकसित देशका आँखामा देखिएका चिन्ता हुन् । विश्व समाजमा उभिएर सर्वव्यापी चेतनाले मूल्याङ्कन गरेको नेपाली समाज र मनोविज्ञान हुन् यी नियात्राहरु ।
भारतीय बजारको नुन चिनीमा निर्भर तत्कालिन (?) नेपाली समाजलाई बालमनोविज्ञानको सापेक्षित तर आम भोगाईको पृथक प्रस्तुती हो । यो नियात्रा रोचक मात्र छैन, नेपाली बजार विकासको प्रारम्भिक चित्र हो । राज्यलाई कर तिर्ने तर स्वास्थ्य उपचारका लागि भारत जानुपर्ने बर्तमान (पनि) बाध्यताको कथाले स्तब्ध बनाउछ । स्वर्ग विमानले करुण कथा बोल्छ । अहिले पनि बहुप्रतिक्षित प्रतिक्षारत रेल सपनालाई लेखकले भारतका विभिन्न शहरको रेल संसारसंग साक्षात्कार गराउँछन्, त्यो पनि एक अन्जान मानिस भएर । भारतमा रेल विकासदेखि अहिलेको विकासको मोडल बारे मिहिन ढगले लेखक भन्छन् । लेखकका जिज्ञासु आँखासँगसँगै पाठक पनि भारतका प्रचलित ठाउँमा अनेक रहस्य उद्घाटन गर्दै घुम्छन् । मिस्टेरियस र मेमोरियवल आगराको ताज महल, रिक्सावालाको आँखा र सम्पन्नशाली अलिगढ, वृन्दावन– मथुराको धार्मिक कायाकल्प निक्कै मिठो शैलीमा बोल्छन् नियात्राले ।
इन्डोनेसियाको बाली । धार्मिक विविधताको एक उत्कृष्ट नमुना भएको देश, जहाँ हिन्दु परम्परा, कलासृजनामा आफ्नै आँखा परे जस्तो लाग्छ । त्यहाँको मौसम, विश्व चर्चित कृषि प्रणाली, अर्थतन्त्र र मुद्रा कारोबारका रोचक तथ्यहरु जान्न पाइन्छ । भूपरिवेष्ठित देशको मानिसले समुद्र किनारमा उभिएर महसुस गरेका उन्नत अनुभूतीहरु समुद्रका छालहरुसगै लहराउन पाइन्छ । विश्व दुनिँयामा सेक्स टुरिजमको नयाँ प्रयोगबारे लेखक लजाइ लजाइ लेखे पनि थाइल्याण्डको पटायाका रँगिन गल्लीहरुमा ग्राहकलाई सेवा दिन कुरीरहेका थाइ युवतीहरुसंग आँखा जुधे जस्तो अनुभूत गराउछ किताबले । इस्तानबुलका यादको सीमा भित्र आइपुग्छ शासकसँगै धर्म बदलिने शहरको ऐतिहासिक कथा । तीन हजार वर्षको मानव बस्तीले विकास गरेको पृथक सभ्यताबारे गहिरो र मसिनो गरी जानकारी दिन्छ किताबले ।
८३० मिटर अग्लो बुर्ज खलिफा । शेष मोहम्मदको आकाङ्क्षाले निर्माण गरेको यो धरहरा अहिलेको आम चासोको विषय हो । यसबारे भित्रि रहस्यहरु लेखक गैरेले खोजेका छन् । नियात्रा यसकारण सुविधात्मक लाग्छ कि विषयस्थानको जति जति गहिरो अध्ययन र खोज गरिन्छ त्यसले पाठकलाई बलियो गरी समात्छ । चीनको विकासको मोडेल अहिलेको विश्व बहसको विषय हो, चिनिया दरवारदेखी माओकालिन समाजको विकास र अहिलेको शक्तिशाली चीनबारे अध्ययन गरेर एउटा नियात्रा तयार पारिएको छ भने केहि समयदेखि निक्कै चर्चामा रहेको अजरवैजानको बाकुको कथाले पाठकलाई तान्छ । तेल र ग्यासको अथाह सम्भावना भएको भूमीमा बाह्य शक्तिको आँखा र विग्रदो अन्तरयुद्धले चर्चामा रहेको अजरवैजान र त्यहाँको कम्युनिष्ट आन्दोलनले पहिल्याएका मार्ग लेखकले टिप्पणी गरेर लेखेका छन ।
नेपाली साहित्यमा नयाँ प्रयोगको शिलशिला जारी नै छ, नियात्रा लेखनमा पछिल्लो पुस्ताले समातेको नयाँ ट्याक भन्दा पनि यो उन्नत शैलीको प्रशंसा गर्नैपर्छ । नयाँ प्रयोगले कहिलेकाही विधागत संरचनाहरु भत्किजान सक्छन् त्यसलाई नजरअन्धाज गर्न पनि सकिन्छ ।
नियात्रा चित्रमय हुन्छ । पाठक नियात्रासँगै यात्रामा सहभागी हुनुपर्छ । मानौ लेखकले भनिरहेको छ र पाठक सँगसँगै यात्रामा लेखकलाई सुनिरहेको छ, ठिक त्यहि महसुस गराउछ यो किताबले ।
नियात्रामा कसैले यो चीज किन नराखेको भन्ने प्रश्न उठाउने स्थान हुँदैन । नियात्रा व्यक्तिपरक सिर्जना हो । लेखक डुबेको पानीमा पाठक नभिज्न पनि सक्छ । लेखक स्वयम् नायक भएकाले उस्को गतिशिलता अनुसार विषय जोडिदै–छोडिदै जान्छन् । विषय गम्भीरता त्यसले संकटमा पर्न सक्छ । लेखकीय आत्मपरक वैयक्तिक दृष्टिकोण बढी हुने रचना हो यो । लेखकीय सापेक्षतामा पाठकसंगको भेट कहिलेकाही नहुने जोखिम पनि हुन्छ । यो कुरामा लेखक सागर गैरे चलाख मानिन्छन् । उनी श्रावस्तीमा बुद्धको प्रभाव शिर्षकको नियात्रामा गौतम बुद्धबारे तटस्थ धारणा राख्छन् ।
नियात्रा नाङ्गो धरातलमा उभिएर लेखिन्छ । सत्य र विश्वसनियता मर्न नदिएर सिर्जनामा समाहित गर्नु लेखकीय गुण मानिन्छ । यो इमान्दारिता नभई सम्भव छैन । कोठामा बसेर गुगल गर्दैमा नियात्रा बन्दैन । भूगोलको साक्षी बनेर मात्रै नियात्राले जिवित आकार प्राप्त गर्छ । लेखक सागर गैरेले भाव सम्प्रेषणमा ठूलो मेहनत गरेको देखिन्छ । यद्यपी लेखक फ्लोरमा निक्कै कम अन्तरघुलन गर्छन् । भाव अनुभूति मै लगभक किताब सकिन्छ तर पाठकले कुनै कुनै स्थानमा सम्वाद सुन्न चाहन्छन् तर पाउँदैनन् ।
नियात्रामा सबै विधा सङ्ग्रहित छन् । नियात्रा संगसंगै कविता आउछन्, कथा लोककथाहरु जोडिन्छन्, विश्वविख्यात किताब र श्रष्टाहरुका नामहरु आउछन् । यसबाट लेखकले नियात्राका विषयको गम्भीरता र विराटतालाई थप फराकिलो बनाउन खोज्छन् । निक्कै परिचित भूगोलमा पुगेर अपरिचित दृश्य देखाउन सक्ने लेखक आफैले भन्छन् – ‘यात्रा भनेको जादु जस्तै हो ।’
यात्रा विना मानव सभ्यता असम्भव छ । फर्डिनान्ड मागेल्लानदेखि क्रिस्टोफर कोलम्बस र मार्कोपोलोहरु यात्रा नगरेको भए ? या भनुँ यात्रा गरेर यात्राका कुराहरु संसारलाई नभनेको भए ? यात्रा फगत घुमफिर र मोजमस्ती मात्र नभएर मानव सभ्यताको विकासमा नयाँ आयाम ल्याउने कडि पनि हो ।
किताब ः ‘बलैगाउँदेखि बाकुसम्म’
लेखक ः सागर गैरे
विधा ः नियात्रा
प्रकाशक ः सांग्रिला पुस्तक प्रालि
संस्करण ः पहिलो २०७८ मंसिर