बाँकेमा खुल्दै तीनसय ५० करोडको लगानीमा एक्सिलेन्ट पल्प तथा पेपर मिल

बाँकेमैं कागज उद्योग स्थापनाका लागि पहल थालिएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा. लि. (प्रस्तावितः एक्सीलेण्ट पेपर मिल कम्पनी लि.) ले नेपालमै कागज उत्पादनका लागि उद्योग स्थापना पहल सुरु गरेको हो ।

उद्योग स्थापनास्थल बाँकेको राप्ताीसोनारी–२ महेन्द्रपुरमा कम्पनीका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारी स्थानीयसँग । (तस्विरः दैनिक नेपालगन्ज)


हाल भारतीय कच्चा पदार्थमा निर्भर कागज उद्योगहरु सञ्चालन हुँदै आएकोमा निजी क्षेत्रबाट प्रस्तावितः एक्सीलेण्ट पेपर मिल कम्पनी लि.ले आफै कच्चा पदार्थसमेत उत्पादन गर्ने भएको जनाएको छ । ‘योजना अनुसार लक्ष्य पुरा भएमा २०८० सालभित्रमा नेपालको आफ्नै पल्प तथा पेपर उत्पादन हुनेछ,’ एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा. लि.का संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसले फोटोकपी पेपर, म्याफ्लिथो पेपर लगायत सबै खालका क्वालिटियुक्त कागज उत्पादन गरी नेपालको आयातलाई केही हदसम्म रोक्न सफल हुनेछ ।’


एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि.बाट काम सुरु गरेको उद्योगले बाँकेको राप्तीसोनारी–२ महेन्द्रपुरमा वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरी फोहोर पानीलाई सफा गर्दै कम्पनीमा पुनःप्रयोग योग्य बनाउने छ ।.‘त्यसका लागि उत्पादन सुरु गर्दासम्म तीन सय पचास करोडसम्मको लगानी पुग्ने हाम्रो पूर्वानुमान छ,’ संस्थापक अध्यक्ष भण्डारीले २२ बिगाह जग्गा खरिद गरिएको जानकारी दिंदै भने, ‘राप्तीसोनारी–२, महेन्द्रपुरमा अवस्थित उद्योगस्थलमा डीपीआरका लागि कन्सल्टेन्ट नियुक्त पनि गरिसकिएको छ ।’


नेपालगन्ज उप–महा नगरपालिका–१८,मा रजिष्टर्ड कार्यालय राखि कम्पनीको नाउँमा जग्गा खरिद गरिसकेको एक्सीलेन्टले नेपालकै गौरबको उद्योगका रुपमा पल्प एण्ड पेपर मिल शुरु गर्न लागेको दावी गरेको छ । ‘भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द गरिएपछि पल्पमा हामी पुरै परनिर्भर छौं,’ दुई दशकदेखि कागज आयात गर्दै आएका प्रिन्ट एण्ड प्याकेजिङ उद्योगका अनुभवी भण्डारीले भने, ‘यो उद्योग नेपालका लागि गौरबको उद्योग हुनेछ ।’

एक्सीलेन्टले पहिलो चरणमा रिसाइकल प्लान्ट लगाउने भएको छ । ५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निस्कासन भइसकेको जानकारी दिंदै अध्यक्ष भण्डारीले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने बताए । ‘११ जना संस्थापकबाट आवश्यक लगानी संकलन गरि काम अगाडी बढेको छ,’ जग्गा खरिद सकिएपछि मेसिनरीमा काम अगाडी बढेको जानकारी दिंदै अध्यक्ष भण्डारीले रिसाइकल प्लान्टले स्याक पेपर बनाउने र सो पेपरबाट सिमेन्ट प्याकिङ् गर्ने बोरा, क्यारिङ् झोला, लगायत कार्टुन बक्स बनाउने क्राफ्ट पेपर, डुप्लेक्स पेपर तयार गरिने जानकारी दिए । ‘त्यसबाट निस्केको (फालिएको) फोहरबाट फालिएको प्लाष्टिक मिसाई अण्डाको क्रेट बनाउने लक्ष्य पनि राखिएको छ,’ फालिएको पेपर र प्लाष्टिक पुनःप्रयोगबाट बनाउने सामानले प्रदुषण केही हदसम्म कम हुने विश्वास व्यक्त गर्दै भण्डारीले भने ।


सम्बद्ध उद्योगका अनुसार, नेपालमा भएका पेपर मिलले कच्चा पदार्थ (पल्प)आयात गरी पेपर बनाउँदा क्वालिटी दिन नसक्ने र आयात पेपरको क्वालिटीमा प्रतिष्पर्धा गर्न नसक्दा उद्योगहरु रुग्ण हुँदै जाने अवस्थामा देखिएका छन् ।


‘पल्प तथा पेपर दैनिक ३०० मे.टन उत्पादन लक्ष्यका साथ अगाडी बढेको कम्पनी एकलबाट बहुल सेयर प्रणाली हुँदै पब्लिक सेयरमा आइपुगेको छ,’ उद्योगको अवधारणा अघि सारेका भण्डारीले लामो समयदेखि आफुले थालेको पहल र प्रयासले मूर्त रुप दिन लागेकोमा खुशी व्यक्त गरे । उनको भनाइ छ, ‘नेपालमा पेपर मिलहरु भएता पनि गुणस्तरमा प्रतिष्पर्धात्मक पेपर मिल नहुनु, पल्प तथा पेपर उत्पादनमा ७५ प्रतिशत विदेशबाट आयात हुनु र माग अनुसारको क्वालिटी उत्पादन नहुने हुँदा कम्पनीलाई बजार व्यवस्थापनमा समस्या नहुने र कच्चा पदार्थ नेपालमै प्रशस्त पाइने हुँदा गौरवमय उद्योगको स्थापना गर्न लागिएको हो ।’


सम्बद्ध जानकारका अनुसार, नेपालमा पाइने बाबियो, काँस, अम्रिसो, पराल, गहुँको नल, ऊँखुको छोक्रा लगायत अन्य फाइवरयुक्त घाँसबाट फाइवर प्लान्ट स्थापना गरि डाइजेष्टर मेसिनबाट ब्ल्याक लिक्क्वायर/ब्ल्याक लिङ्नेम निकाली पल्प बनाउने गरिन्छ ।
सोही पल्पलाई व्लीचिङ् सफाई नगरी क्राफ्ट पेपर, सिङ्गल व्लीचिङ् सफाईबाट न्यूजप्रिन्ट पेपर तथा दोस्रो/तेस्रो/चौथो ब्लीचिङ्बाट सफाई गरी केमिकल गमिङ् मिसाई ७० बाट ९० प्लस ब्राइटनेसको फाईवरयुक्त ३६ जीएसएम देखि ४०० जीएसएमसम्मका कागज बनाउने गरी प्लान्ट स्थापना गर्न लागिएको हो ।


आफ्नै उद्योगबाट पल्प उत्पादन गरी पेपर बनाउने पब्लिक लिमिटेड शुरु गर्दै कम्पनीले सेयर बिक्री गर्न लागेको एक्सीलेन्टले स्थानीय स्तरमा रोजगारी श्रृजना गरी एक हजार जनासम्मलाई रोजगारी दिने लक्ष्य राखेको अध्यक्ष भण्डारीको भनाइ छ । ‘आफै श्रमिक–आफै मालिक, उत्पादन हाम्रै नेपालको’ हाम्रो मूल नारा हो,’ श्रमिकलाई पनि सेयरमा जोड्दै लाने कम्पनीको अवधारणा सुनाउँदै अध्यक्ष भण्डारीले भने, ‘स्थानीय स्तरमा विभिन्न कारणले फालिएका जग्गामा सम्वन्धित जग्गा धनीलाई नै फाइवरयुक्त खेती गर्न प्रोत्साहन गर्ने गरी काम अगाडी बढाउन लागिएको छ ।’


कम्पनीले नयाँ प्रविधियुक्त डाइजेष्टर मेसिन प्रयोग गरी क्वालिटी पेपर उत्पादन गर्नेगरी बायोप्लान्ट स्थापना गर्ने जनाएको छ । ‘बायो विद्युत प्लान्ट, सोलार प्लान्ट जडान गरी कम्पनीलाई चाहिने उर्जा आफै उत्पादन गरिनेछ,’ उद्योग लगाउने जग्गा देखाउँदै भण्डारीले आफ्नो स्वप्नील योजना भन्दै गए, ‘वायो प्लान्टबाट निस्केको फोहोरलाई फर्टिलाईजर प्लान्ट जडान गरी मल उत्पादन गरिने लक्ष्य राखिएको छ ।’
‘यो उद्योग स्थापना पश्चात देशलाई पेपर आयातमुक्त गरी निर्यात स्तरसम्म लैजान सकिन्छ भन्ने हो,’ स्थानीयस्तरमा रोजगारीदेखि आयस्तर वृद्धिसम्मका योजना सुनाउँदै भण्डारीले भने, ‘लगानीका लागि विग हाउसहरुले पनि रुची देखाइरहेकाले पेपर सम्वन्धि उद्योगहरु अरुपनि स्थापना गर्दै लैजाने योजना छ ।’


स्थानीय स्तरबाट पनि उद्योगमा लगानी प्रेरित गरिएको छ । ‘गौरबको योजना बनाउन खोजिएकाले लगानीका लागि सबैलाई आब्हन गरिएको छ,’ ठुला लगानीकर्ताहरु जोडिइरहँदा स्थानीयस्तरमा अपनत्व वृद्धि गर्न स–साना पुँजीलाई पनि एकत्रित गर्दै लैजाने सोंच अघि सारिएको जनाउ दिंदै अध्यक्ष भण्डारीले भने, ‘हरेक कर्मचारीलाई न्यूनत्तम सेयरमा जोड्ने हो, स्थानीयस्तरमा चाहेका जतिलाई कम्पनीको न्यूनत्तम सेयर उपलब्ध गराउने गरि सु–सूचित गराइरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया