नेपालगन्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग गर्दै १३ दिन अघि पैदल यात्रामा रहेको पीडित र अधिकारकर्मीको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ ।

नन्कुन्नी धोबीको रहस्यम मृत्यु र निर्मला कुर्मीको वास्तविक अवस्था पत्ता लगाउनका लागि लामो समय बाँकेमा आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि उनीहरु पैदल नै काठमाडौं यात्रामा निस्किएका हुन् । उनीहरुले यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत भेटेर न्यायका लागि पहल गरिदिन माग गरेका छन् ।
अधिकारकर्मी रुबी खानको नेतृत्वमा रहेको टोली बुधबार नवलपरासी पुगेको हो । अधिकारकर्मीले बाँकेका जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाहीको माग पनि गर्दै आएका छन् । बाँकेका प्रहरी अधिकारीले भने प्राप्त प्रमाणका आधारमा अनुसन्धान र कारवाही गरेको बताउँदै आएको छ ।
पैदल मार्चको क्रममा नवौँ दिन लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पुगेको टोलीले शनिबारदेखि मुख्यमन्त्री कार्यालय अगाडि लगातार तीन दिन धर्ना दिएको थियो । न्याय पाउने आश्वासन मात्र पाएको टोलीले ११ गतेदेखि पैदल मार्चलाई पुनः निरन्तरता दिएको अधिकारकर्मी रूबीले बताएकी छन् ।