खजुरामा वैकल्पिक शिक्षण प्रणालीका लागि जनशक्ति तयार गरिंदै

यो विधिलाई कार्यान्वयन गर्नको लागि गाउँपालिकाले करीब ५९ लाख रुपैयाँ छुट्टाएको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् ।

बाँकेको खजुरा गाउँपालिकामा वैकल्पिक प्रणालीबाट शिक्षण प्रक्रिया अगाडी बढाइने भएको छ । कोरोना महामारीका कारण बदलिंदो अवस्थालाई मध्यनजर वैकल्पिक शिक्षण प्रणालीको प्रक्रिया अगाडी बढाइने भएको हो ।
अहिलेको संकट लामो जाने संकेत देखिएपछि कोभिडबिरुद्धको खोप माग गरिएको बताउँदै गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले नयाँ शैक्षिकसत्रमा आइसिटी विधिको प्रयोग गर्नका लागि नेट, इन्टरनेट नभएका विद्यालयलाई सहयोग गरिने उल्लेख गरेका छन् । यो विधिलाई कार्यान्वयन गर्नको लागि गाउँपालिकाले करीब ५९ लाख रुपैयाँ छुट्टाइएको कक्षपतिले जानकारी दिए ।
त्यसका लागि खजुरा गाउँपालिका शिक्षा शाखाले सिकाइ सहजीकरण गर्न सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ । गाउँपालिकाका अनुसार, एक हप्ते तालिम खजुरा क्षेत्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकलाई प्रदान गरिने छ ।


आइतबार विभिन्न तीन ठाउँमा आयोजना गरिएका तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष कक्षपतिले आइसिटी विधिबाट पठनपाठन गर्नका लागि निर्वाचित भएलगतै कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेर शुरु गरेको उल्लेख गरे । अध्यक्ष कक्षपतिले शिक्षा क्षेत्रमा खजुराले ठूलो लगानी गरेको बताउँदै कोभिडबाट प्रभावित भएकोले वैकल्पिक प्रणाली लागू गरेको बताए ।
अध्यक्ष कक्षपतिले संकल्प गरे सबै कुरा सम्भव हुने भन्दै इच्छा शक्ति राखेर शिक्षकहरुले वैकल्पिक विधिलाई सफल बनाउनु पर्ने बताए । २१ करोड सशर्त बाहेक २ करोड २१ लाख गाउँपालिकाले विनियोजन गरेकोले शिक्षामा बजेटको कमी नभएको उनले उल्लेख गरे ।
शिक्षा समिति सदस्य भक्तबहादुर केसीले हिजो कक्षा कोठामा लाठी बोकेर जाने गरिन्थ्यो भने अब नयाँ टेक्नोलोजी लिएर जाने अबस्था आएको भन्दै कोभिडको लागि अनलाइन भए पनि अन्य समयमा पनि टेक्नोलोजीका साथमा अगाडि बढ्ने बेला आएको बताए । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले वैकल्पिक माध्यम प्रयोग गरेर पठनपाठनलाई निरन्तरता दिन जोड दिएको उल्लेख गर्दै जुम बैठकबाट अनुभव आदानप्रदान, बर्सेनि तालिम, सिकाइसंग जोडिनेका लागि सबै विद्यालय एकसाथ अघि बढ्नु पर्ने बताए ।
जनता नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह थापाले गाउँपालिका भित्र वैकल्पिक प्रणालीमार्फत शिक्षण सिकाई गरेकोमा आभार प्रकट गर्दै शिक्षामा केही न केही परिवर्तन आउने र कार्यान्वयन पक्षलाई जोड दिनु पर्ने बताए ।


कार्यक्रममा संस्थागत विद्यालयको प्रतिनिधित्व गर्दै प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटाले ६५ विद्यालयका १७ हजार विद्यार्थीमा वैकल्पिक कक्षाले सकारात्मक सन्देश प्रभाव हुने विश्वास व्यक्त गरेका थिए ।
इशाका खजुराका अध्यक्ष डिवी तामाङले खजुरा गाउँपालिकाभित्र लागू गरिएको वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणले सामुदायिक, संस्थागत र मदरसा सबै विद्यालयमा सुधार आउने आशा व्यक्त गरे । उनले खजुराले शिक्षामा यसरी विगतदेखि नै नयाँ प्रवधिका साथ अगाडि बढ्न खोजिरहेकाले सबै शिक्षक र विद्यालयको सहयोग अपरिहार्य भएको उल्लेख गरे ।
कोभिडका कारण सबैलाई एकै ठाउँमा राखेर तालिम दिन नसकिने भएकाले ज्ञानोदय नमूना मावि, जनता नमूना माविमा सामुदायिक विद्यालयका शिक्षकलाई र खजुरा मिनीपार्कमा संस्थागत विद्यालयका शिक्षकलाई छुटाछुटै राखेर तालिम प्रदान गरिने भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया