अब कोभिडको तेस्रो लहर पनि आउने सम्भावना व्यक्त गरिएको छ । त्यसका लागि हामी तयारी अवस्थामा रहनेछौं । तेस्रो लहरसँग जुध्नका लागि हामी पर्याप्त बजेट विनियोजन गर्नेछौं । कोरोना कहरबीच यसरी योजना बनाउँदैछ खजुरा ? खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन्, हामीले जनता माझ गरेका वाचाहरु पूरा गर्न तत्पर छौं ।
कोरोना कहरले थलिएका बेला स्थानीय तहले कसरी काम गरिरहेका छन् ? यतिबेला आगामी आर्थिक वर्षको योजना बनाउँदै बजेट तयारी जुटेका स्थानीय तहलाई कोरोना संक्रमणको महामारीले निकै प्रभाव पारिरहेको छ । खासगरी कोरोना कहरको दोस्रो लहरमा स्वास्थ्यमा केन्द्रित भएका स्थानीय सरकारले कसरी काम गरिरहेका
छन् ? यिनै विषयमा केन्द्रित रहेर खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिसँग गरिएकोे
सम्यक संवाद आजको विशेषमा ।

कोरोनाको दोस्रो लहरमा कसरी काम गरिरहनु भएको छ ?
हामी नर्मली तयारी अवस्थामा नै थियौं । बाँकेमा खजुरागाउँपालिकाले पहिलो पटक ५० बेडको आइसोलेसन केन्द्र खोलेर कोरोनाका बिरामीको उपचार सुरु गर्यौं । खजुरा गाउँपालिका वडा नं. ७ को जनक शिक्षा सामाग्री केन्द्रको भवनमा हामीले ३५ बेडको आइसोलेसन केन्द्र, जहाँहरु हामीले २५ वटा बेडका लागि अक्सिजन सिलिण्डर सहित सेवा सुरु गर्यौं । र, वडा नं. राधापुर स्वास्थ्य चौकीमा १५ बेडको अक्सिजन सिलिण्डर सहितको आइसोलेसन केन्द्र हामीले सुरु गर्यौं । हामीले एकै दिन खजुरामा दुई वटा आइसोलेसन केन्द्र सुरुवात गरेका थियौं । र, त्यहाँ हामीले २४सैं घण्टा मेडिकल अधिकृत, स्वास्थ्यकर्मी व्यवस्था गरेका थियौं । पोजेटिभ बिरामीहरुलाई खानपानको व्यवस्थादेखि सिसिक्यामेरा, इन्टरनेट जडान सहितको सुविधा दिएका थियौं । बिरामीको स्वास्थ्य निगरानीका लागि स्वास्थ्यकर्मी २४ सैं घण्टा उपलब्धता सुनिश्चित गरेका थियौं ।
अहिलेको अवस्था कस्तो छ ?
हालसम्म जनक शिक्षा सामाग्री केन्द्रमा रहेको आइसोलेसनमा ५९ जना र १९ जना राधापुर स्वास्थ्य चौकीबाट उपचार गरिएको छ । सबै निको भएर घर फर्किसक्नु भएको छ । हामीले सकेसम्म पोजेटिभ केसका बिरामीलाई एकदम हार्दिकताका साथ मानसिक प्रभाव नपर्ने हिसाबले स्वास्थ्यकर्मीहरुले फ्रन्ट फेसमा बसेर अत्यन्तै राम्रो व्यवहारका साथ सेवा गर्नु भयो । जसले गर्दा ७० जना बिरामी निको भएर घर फर्कन सफल हुनुभयो । र, सिरियस भएका पोजेटिभ बिरामीहरुलाई हामीले मेडिकल कलेज र भेरी अस्पतालमा थप उपचारका लागि पठायौं । १÷२ जनाबाहेक सबै निको भएर घर फर्किनु भएको छ ।
हामीले अस्पताल रेफर गरेका कतिपय बिरामीहरु अस्पतालबाट फेरि फर्केर यहीको आइसोलेसनमा आएर बस्नु भएको छ । यसले हाम्रो आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीले बिरामीको मन जित्नु भएको हामीले महसुस गरेका छौं ।
अहिलेसम्म खजुरामा ७ सय ८० वटा पोजेटिभ केसमा पुरुष ३ सय ६४ र ४ सय १६ जना महिला हुन् । त्यसमध्ये ७ सय ५ जना निको भइसक्नु भएको छ । कतिपय होम आइसोलेसनमा पनि बस्नु भयो । अहिले ३४÷३५ जना होम आइसोलेसनमा बसेको रेकर्ड हामीसँग छ । अहिलेसम्म हामीले ६ सय ३१ जनाको एन्टिजेन टेष्ट गरिसकेका छौं । अन्तिम पटक १४ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । हामीले एक÷एक दिन बिराएर एन्टिजेन टेष्ट गर्ने गरेका छौं । अब चाहीँ दुई/तीन दिन बिराएर एन्टिजेन टेष्ट गर्ने प्रक्रियामा अगाडि बढेका छौं ।
स्वास्थ्यका क्षेत्रबाट पनि खजुरालाई समृद्ध बनाउनु भन्नुहुन्थ्यो ? स्वास्थ्यको क्षेत्रमा कोभिडले के पाठ सिकाए जस्तो लाग्छ !
कोभिडले स्वास्थ्य क्षेत्रमा राम्रो पाठ सिकाएको छ । गत बर्ष पहिलो कोरोनाको पहिलो लहरमा हामीले खजुराको क्यान्सर अस्पतालमा सुविधा सम्पन्न कोभिड विशेष अस्पताल हामीले सुरु गरेका थियौं । जुन कुराले देशभरी यसले चर्चा पाएको थियो । दोस्रो चरणमा हामीले खजुरा क्यान्सर अस्पतालमा ननकोभिड बिरामीको ठूलो शल्यक्रिया गरेका छौं । ४० बढी सर्पदंशका बिरामीको उपचार अहिले खजुरा क्यान्सर अस्पतालमा भएको छ । अहिलेको प्लस प्वाइन्ट भनेको के हो भने जुन हामीले खजुरामा दुई वटा आइसोलेसन बनायौं त्यहाँका बिरामीको रगत परीक्षण, एक्सरे लगायतको कार्यका लागि क्यान्सर अस्पतालसँग सहकार्य गरेका छौं । क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकले रनिङ्गमा बिरामी हेर्ने काम गर्नुभएको छ । अक्सिजन सिलिण्डरको अभाव हामीले हुन दिएका छैनौं । क्यान्सर अस्पतालसँग आन्तरिक सहकार्यबाट हामीले आइसोलेसन भर्ना भएका बिरामीलाई अक्सिजन अभाव हुन दिएनौं । जसले गर्दा राम्रो सेवा दिन सक्यौं, अक्सिजन अभावमा मृत्यु कसैको भएन ।
खजुरा गाउँपालिकालाई हामीले मेडिकल हब बनाउन खोजेका छौं । क्यान्सर अस्पतालले पनि ठूलो सपोर्ट भएको छ त्यसका लागि । नेपाल अधिराज्य भरी तीन वटा क्यान्सर अस्पताल छन् । जसमा खजुराको पनि एउटा हो । खजुराको क्यान्सर अस्पताललाई सरकारले ट्रयाकमा ल्याएको छ । जसले गर्दा बजेट अभाव हुनेछैन ।
लुम्बिनी प्रदेश मात्रै नभएर सुदूरपश्चिम र कर्णाली प्रदेशका क्यान्सरका बिरामीहरु अब खजुराको क्यान्सर अस्पतालमा आएर पूर्ण उपचार लिन सक्नुहुन्छ । हामीले १५ बेडको अर्को अस्पताल पनि बनाउँदैछौं ।
कोभिड म्यानेजमेन्टसँगै नियमित काम कसरी अगाडि बढेको छ ?
कोभिड म्यानेजमेन्ट सँगै हामीले पूर्वाधार निर्माणको काम पनि गरिरहेका छौं । भौतिक पूर्वाधार तर्फ सभागृह निर्माणको काम भने केही दिन रोकियो । लेबरको समस्या हुँदा केही दिन रोकिएको हो । लेबर कोरोना पोजेटिभ भएपछि केही दिन काम बन्द गर्नु परेको थियो । दुई हप्ता रोकिएको उक्त काम अहिले सुचारु भैसकेको छ ।
१५ बेडको अस्पताल निर्माणको काम पनि केही दिन रोकियो, लेबरकै समस्याका कारण । लकडाउनका कारण लेबर आउने, जाने समस्या हुँदा केही दिन रोकिएको उक्त काम अहिले सुरुवात भैसकेको छ । कोरोनाको दोस्रो लहरमा कोभिड म्यानेजमेन्टको काम पनि भैरहेको छ भने भौतिक पूर्वाधारको तर्फको काम पनि भैरहेको छ । हाम्रो प्राविधिक फाँटका कर्मचारीहरु एक दिन पनि अपसेन्ट हुनु भएन । नियमित काम गरिरहनु भएको छ ।

कोभिडले आगामी आर्थिक वर्षको बजेटको स्वरुप परिवर्तन गर्ने अवस्था हो ?
हो । हामीले कोभिड म्यानेजमेन्टलाई फोकस गरेर बजेट विनियोजन गर्दैछौं । आगामी आ.व.का लागि बजेट निर्माणको काम हामीले सुरु गरिसकेका छौं । स्रोत व्यवस्थापन समितिको बैठक बिहीबार मात्रै बसेको छ । अन्य समितिको बैठक पनि बस्ने छ । असार १० गते बजेट ल्याउनका लागि हामी आन्तरिक तयारीमा जुटेका छौं ।
विगतको भन्दा आगामी आ.व.को बजेट अत्याधिक परिवर्तन त नहोला । किनभनेपछि कोभिडका निमित्त संघीय सरकार र प्रदेश सरकारले पनि महत्वका साथ बजेट विनियोजित गरेको छ । त्यसैको सपोर्टिङ बेशमा स्थानीय सरकारले आफ्नो तयारी गर्दैछ ।
हामीले आइसोलेसन केन्द्रका लागि पर्याप्त बजेट छुट्याउने छौं । अब कोभिडको जुन तेस्रो लहर पनि आउने सम्भावना व्यक्त गरिएको छ । त्यसका लागि हामी तयार अवस्थामा रहनेछौं । तेस्रो लहरसँग जुध्नका लागि हामी पर्याप्त बजेट विनियोजन गर्नेछौं । खजुराभित्रको १५ बेडको अस्पताल र क्यान्सर अस्पताललाई संघ र प्रदेश सरकारको सहयोग छ । र, हामीले स्थानीय स्तरबाट गर्ने सहयोग हामीले गर्ने लक्ष्य लिएका छौं ।
पूर्वनिर्धारित योजनाहरु सकिन्छन् त यसपटक ?
कोभिडले विकासमा प्रत्यक्ष असर नपरेको होइन । परेको छ । कोभिड नभएको भए विकास, निर्माणका काम अझै बढी गर्न सक्थ्यौं । जस्तो कोभिड नभएको भए, कोरोनाको दुई वटा लहर नआएको भए अहिलेसम्म हाम्रो ग्रीन सिटीको प्रोजेक्ट अगाडि बढिसक्थ्यो । अहिले पनि हामी ग्रीन सिटीको प्रोजेक्टका लागि सरोकारवालासँग सम्पर्कमा छौं, भर्चुअल मिटिंग भैरहेको छ । बजेट विनियोजन भएको छ । तर, यो कोभिडले गर्दा डिस्र्टभेन्स भएको छ । हाम्रो पूर्वाधार र भौतिक पूर्वाधारको निर्माण कार्य पनि भएको छ । तर, कोभिडका कारण त्यसमा पनि डिस्टरभेन्स भएको नै छ । कोभिड संक्रमण नियन्त्रणमा आएपछि बाँकी काम थप दु्रत रुपमा गर्ने हाम्रो लक्ष्य रहेको छ । तेस्रो लहरको कुरा आइरहेको छ । त्यसको वावजुद पनि हामीले जनता माझ गरेका वाचाहरु पूरा गर्न तत्पर छौं ।