मधेशी समुदायमा छोरीहरुको लागि दाइजोमा लगानी गरिन्छ, उनीहरुको शिक्षामा लगानी गरिदैंन । म आफ्नी छोरीलाई उसको खुट्टामा उभिनका लागि उसलाई आधुनिक उच्च शिक्षा पढाउने छोरीको शिक्षामा लगानी गर्छु ।

आज नलेखिएका कथामा हामी एक जना यस्ती महिलाका बारे जानकारी गराउँदै छौं जो मधेशी समुदायकी उदाहरणीय र सशक्त महिला हुन् । जसले घुम्टोभित्र बस्ने मधेशी समुदायभित्र चार दशक अगाडि २०२८ सालमा आफ्नो आमाबुवाकी एक्ली सन्तानको रुपमा उनको जन्म भयो । उनको आनीबानीको कुरा गर्ने हो भने हिंसा र अन्यायको विरुद्ध संधै आफ्नो आवाज बुलन्द गर्छिन् कसैले अनाहक कसैलाई सतायो भने उसलाई सम्झाउन, झगडा निम्टाउन हरपल तम्तयार रहन्छिन् । उनी निकै दयालु र अरुको दुखसुखमा साथ दिने स्वाभाव भएकी महिला हुन् । उनी एक्लै सन्तान भएकोले आफ्नो आमाबुवाको सम्पूर्ण सम्पतिको हकवाला भइन्् । उनको माइतीतिरको सम्पतिले नै उनको परिवारलाई पुग्ने हुँदा उनले पतितिरको सम्पतिमा दाबी गरिनन् र आफ्नो पतिको भाग पनि पतिका भाईहरुलाई राजीखुशी गरिखान दिइन् । जसले गर्दा उनको घरपरिवार नाता कुटुम्बमा उनको विशाल हृदय र कोमल मनको औधी प्रशंसा गरिन्छ ।
उनले त्यस बेला घुम्टोभित्र बस्ने मधेशी समुदायबाट कक्षा दशसम्म शिक्षा हासिल गरिन् जतिबेला मधेशी महिला घरको चार पर्खालभित्र सम्म मात्र सीमित र जीवित हुन्थिन् । पर्खाल बाहिरको जीवनसंग मधेशी महिलाहरुको कुनै चिनजान हुँदैनथ्यो । उनले शिक्षालाई कति महत्वपूर्ण ठान्छिन् यो कुरालाई यसरी बुझ्न सकिन्छ, उनका जेष्ठ सन्तान पढेर सरकारी जागिरमा लागेका छन् माइली सन्तान (छोरी) उच्च शिक्षा हासिल गरिसकेपछि मात्र उनको विवाह गरिन् र कान्छी छोरीलाई अहिले भारतको पंजाब स्थित यिखभथि उचयाभककष्यलब िगलष्खभचकष्तथ मा कम्प्यूटर सफ्टवेयर इन्जीनियर पढ्न पठाएकी छिन् । उनी भन्छिन्, हाम्रो समुदायमा दाइजो प्रथा र तिलक प्रथा व्यापक छ । जसले गर्दा मधेशी समुदायमा छोरीहरुको लागि दाइजोमा लगानी गरिन्छ, उनीहरुको शिक्षामा लगानी गरिदैंन । म आफ्नी छोरीलाई उसको खुट्टामा उभिनका लागि उसलाई आधुनिक उच्च शिक्षा पढाउने छोरीको शिक्षामा लगानी गर्छु । हो आज हामी उनै आमाको जीवनी बारे जानकारी र उनको भविष्यको योजना बारे उनीसंग गरिएको छलफलका अंश प्रस्तुत गर्दैछौं । जसपाबाट जिल्ला समन्वय समिति सदस्यमा मनोनीत मधेशी समुदायकी महिला नीलम सिंह ती उदाहरणीय व्यक्तित्व हुन् ।
दैनिक नेपालगन्जका लागि नलेखिएका कथाको खोजीमा नीलम सिंहको घर पुग्दा उनी अखबार पढ्न व्यस्त थिइन् । उनी देश विदेशका खबरका साथै देश विदेशका राजनीति उतारचढाव र व्यापार व्यवसाय बारे पुर्ण जानकारी राख्न आफुलाई खबर जगतसंग जोडिएकी हुन्छिन् । उनको दैनिकीको सुरुआत नुवाईधुवाई गरिसके पश्चात पुजापाठ गरी बिहानको नास्ता गर्छिन् र अखबार लिएर बस्छिन् खबर पढेर मात्र उनी आफ्नो अन्य काममा लाग्छिन् ।
कहिले काही त पुजा गरिरहेकै बेला सामाजिक विवादका घटना लिएर फिरादीहरु उनको दैलोमा आइपुग्छन् । उनी त्यतिबेला नास्ता पनि नखाइ विवाद मिलाउन जाने गर्छिन् । समाजमा उनको कुरा ठुला साना मुस्लिम मधेशी पहाडी सबैले मान्ने गर्छन् । यसकारण उनी आफ्नो यस सामाजिक कामले धेरै सन्तुष्ट रहन्छिन् । उनी भन्छिन्, ‘जब मैले कुनै घटना मिलाउन जान्छु र त्यो घटना मिलिहाल्छ र झगडा शान्त भइहाल्छ त्यतिखेर महसुश हुने सफलता र खुशी बयान गर्न सक्दिन् ।’ उनी मधेशी समुदायबाट स्थानीय चुनावमा भाग लिए महिला सदस्य पदमा विजय भएर हाल जिल्ला समन्वय समितिकी सदस्य भइ कार्यरत रही आफ्ना भूमिका निर्वाह गर्दैछिन् ।
तपाई सामाजिक क्षेत्रमा कहिले देखि सकृय हुनु भयो ?
मेरो गाउँमा महिलाहरु समुह बनाएर बसेको जानकारी पाएँं मलाई नि जिज्ञासा लाग्यो कि महिलाहरु के गर्छन् होला । अनि म नि जोडिने इच्छा लाग्यो । म समुहको बैठक हुने बेला गएर बुझ्द्थे मलाई उनीहरुको कुरा चित्त बुझ्दो लाग्यो अनि १५ वर्ष अघि म पनि निर्धन बैंकको ११ मासिक बचत समुहको सदस्य भएँ ।
तपाई त्यसैमा सकृय भइ लाग्नु भयो त ?
मलाई इच्छा पनि बढ्दै गयो र समुहमा पढेलेखेको महिलाको खांचो नि पर्थ्यो लेखपढ गर्न र रकमको लेखाजोखा राख्नका निम्ति त्यसकारण पछि उनीहरुले मलाई समुहको सचिव बनाए । म धेरै वर्षसम्म समुहमा सचिव पदमा रही समुहबाट संकलन भएका रकमहरुको लेनदेनको हिसाबकिताब मिलान गरी व्यवस्थित गरेर राख्ने काम गरें ।
त्यसपछि त मेरो सामाजिक कार्यतिर झन् आकर्षण बढ्दै गयो । मैले व्यक्तिगत बचत समुह पनि सन्चालन गरें जुन दुई दुई वर्षको अवधीमा संकलित रकम वितरण पश्चात पुनः संचालित हुदैं आयो। अनि पछि म पारालिगल समितिको सचिव भइ महिला हिंसा न्यूनीकरण कार्य तर्फ लागें ।
पारालिगल समितिले के काम गर्थ्यो त्यसमा तपाईको जिम्मेवारी के थियो ?
पारालिगल समितिले महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न झगडियाहरुलाई बसालेर छलफल मार्फत समाधान गर्ने साथै टोल छिमेकका पनि स साना झगडाहरु मिलाउने काम गर्थ्यो । मेरो जिम्मेवारी त्यहाँं पनि सचिवकै रुपमा थियो किनभने गाउँघरमा मधेशी समुदायमा सामाजिक क्षेत्रमा सकृय भइ लेखपढ गर्न सक्ने महिलाहरु कमै हुनेथिए । म त्यहांँ बस्दा समाजका झगडाहरु समाधान गर्न पहल गर्थें मेलमिलाप गराउथें । यसै क्रममा मेरो सकृयता बढ्दै गयो जसको फलस्वरुप मलाई अन्य संघसंस्थाहरुले पनि आफ्नो संस्थामा जोडे ।
अन्य संघसंस्थामा जोडिएपछि कस्तो महसुश भयो ?
निस्वार्थताका साथ कर्म गर्दै जानुपर्छ किनभने कर्मको फल पाइन्छ भन्थे हो रैछ । म पनि पारालिगल र निर्धन बैंकसंग जोडिएर निस्वार्थ रुपमा काम गर्दै गएँ । मेरो काम प्रतिको लगन सकृयता र इमानदारिता हेरेर मलाई अन्य संस्थाले पनि अवसर दिए । म करिब ६ वर्ष सम्म संकल्प काठमाडौंको परियोजना अन्तर्गत सामाजिक अभियानकर्ता भएर समाजमा महिला हिंसा विरुद्ध काम गरें । जसमा उतिखेरको बांकेका यी गा.वि.स. जस्तै कोहलपुर, पुरैना , पुरैनी, इन्द्रपुर, परसपुर, बेलहरी, सोनपुर लगायतका ४५जना महिलाहरुको समुहमा रहेको थियो । मैले धेरै ठांउमा महिला सशक्तीकरण अभियानका क्रममा सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकार बारे जानकारीका साथसाथै अन्य सशक्त महिलाहरुसंग भेटघाट गर्ने र अनुभव साटासाट गर्ने अवसर पाएं जसले गर्दा धेरै सिकाइ भयो ।
अनि, सामाजिक क्षेत्रबाट राजनीतिमा कसरी त ?
हो, म हाल स्थानीय तहको चुनावमा गाउँपालिकाको महिला सदस्य निर्वाचित भइ कार्य गर्दैछु । चुनाव अघि म सामाजिक क्षेत्रमा सकृय हँुदा मेरो बारे धेरै चर्चा गरिन्थ्यो विभिन्न पार्टीहरुमा, जसबारे म अनभिज्ञ थिएँ । चुनावको निकट मलाई विभिन्न पार्टीबाट चुनाव लड्न र पार्टीसंग आबद्ध हुन अवसर आए । मलाई राजनीति तर्फ त्यति जानकारी थिएन् । राजनीतिमा धेरै दाउपेच र उतारचढाव हुन्छन् भनी सुनिराख्थें । एक दिन त्यतिखेरको मधेशी फोरमका केही व्यक्ति मेरो घर आए मलाई अनि मेरो पतिलाई राजनीतिमा मधेशी महिला हुन जरुरी छ र म राजनीतिकर्मीको हैसियतले समाजमा राम्रो स्थान बनाउन सफल हुन सक्छु भनी उनको पार्टीमा आबद्ध हुन अह्वान गरे र चुनाव लड्दा आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । अनि म चुनावमा भाग लिन तयार भएँ र चुनाव जितें पनि ।
अहिलेको व्यस्तता के कस्तो छ ?
चुनाव जितेको केही समय गाउँपालिकामै बसें तर अहिले त जिल्ला समन्वय समितिको सदस्य भएर आफ्नो जिम्मेवारीहरु निर्वाह गर्दैछु ।
अनि राजनीति जीवन र सामाजिक जीवनको अनुभव कस्तो रह्यो ?
हेर्नुस् , दुबै क्षेत्र आ आफ्नो ठांउमा महत्वपूर्ण छन् । समाजमा विद्यमान कुरिति, कुसंस्कार महिलामाथि गरिने विभेद र महिलाहिंसा जस्ता कुरालाई समाप्त गर्न सामाजिक क्षेत्रमा सकृयता आवश्यक छ । भने यही कुरिति, कुसंस्कार, महिलामाथिका गरिने विभेद, महिलाहिंसा जस्ता अपराधलाई जरै देखि उखेल्न राजनीतिक तर्फ महिला सहभागिता र सकृयता उतिकै जरूरी छ । किनभने यी अपराधमाथि लगाम कस्न कानून चाहिन्छ र कानून बनाउन राजनीतिज्ञ भने ती बनाइएका कानूनलाई कार्यान्वयन गर्न गराउन सामाजिक अभियन्ताहरुको उत्तिकै खांचो हुन्छ । यस कारण मेरो अनुभव दुबै क्षेत्रमा राम्रै रह्यो । जहांँ मैले १५ वर्ष सम्म निस्वार्थताका सामाजिक क्षेत्रमा लागि समाजसेवा गरेर समाजबाट इज्जत र सम्मान पाएँ, त्यहीं राजनीतिक क्षेत्रमा लाग्दा जीतको रुपमा सफलता हासिल गरें । मेरो अनुभव दुबै क्षेत्रमा सकारात्मक नै रहेको छ ।
राजनीतिक र सामाजिक जीवनमा फरक अनुभव के रह्यो ?
सामाजिक जीवनमा खासै समस्या भोग्नु परेन् तर राजनीतिक क्षेत्रमा महिलाका लागि सहज चाहिं पक्कै पनि छैन ।
उसो भए मधेशी महिलाका लागि राजनीति तर्फ समस्या र चुनौतीहरु के कस्ता छन् ?
एक त पार्टी चयन गर्न नै चुनौती छ । किन भने कुन पार्टीको कुन तहको व्यक्ति महिला हितैषी छ कुन व्यक्ति महिला विरोधी छ बुझ्नै गाह्रो हुन्छ । बुझ्दाबुझ्दै समय निस्किसकेपछि बल्ल थाहा हुन्छ फलाना मान्छे महिला विरोधी छ । अनि जब सम्म थाहा हुन्छ तब सम्म यति समय गइसकेको हुन्छ । कि पार्टी छाड्ने की बसिरहने दोधार पर्छ । यो समस्या हरेक पार्टीका महिलाका लागि हुन्छ । अनि त्यस पछि चुनौती आउँछ पार्टीमा लगानीको, एक त महिला त्यसमाथि समस्या यो कि मधेशी समुदायकी जहां आफुखुशी सम्पतिमा महिलाको किनबेच गर्ने लगानी गर्ने अधिकार नै हँुदैन् । जब अधिकार हुँदैन आम्दानी स्रोत हँुदैंन् अनि पार्टीमा लगानी गर्ने कसरी ? लगानी नगरे फल पाउने कुरा आउदैन । यदि हेर्ने हो भने मधेशी महिलाका लागि राजनीति गर्न धेरै गाह्रो छ ।
अहिले राजनीति क्षेत्रमा सकृयता साथ आइसकेपछि अब अगामी योजना के छ ?
मैले स्थानीय चुनावमा आफु खारिनुका लागि पनि सहभागिता जनाएँ । अहिले राजनीति बुझ्दै सिक्दै जाँदा धेरै अनुभव बटुलेकी छु । मेरो सकृयता, लगनशीलता र इच्छाशक्तिलाई देखेर नै पार्टीले मलाई चाहिने बेलामा आवश्यक सल्लाह,सुझाव र दिशानिर्देश दिएर मेरो हौसला बढाएको छ । जसले गर्दा म गाउँपालिकाबाट जिल्ला समन्वय समिति सम्म पुगें । अब यो कार्यकाल पुरा गरिसकेपछि म एक तह माथि जाने प्रयास गर्नेछु । वार्ड अध्यक्षका लागि उठ्नु पर्छ हामी सहयोग गर्नेछौं भनी समुदायले पनि उत्साहित गर्दैछ । यस कारण अब राजनीतिक जीवनलाई सफल बनाउन र अझ माथि उठ्ने प्रयास गर्नेछु ।
अन्तमा केही ?
म आफु सामाजिक क्षेत्रबाट हुँदै राजनीतिक तर्फ आएकी हुनाले मेरो सुझाव यो छ कि हरेक मधेशी महिला आफ्नो क्षमता दक्षता अनुसार राजनीतिक तर्फ सकृय भइ योगदान दिनु पर्छ । राजनीति माउ नीति हो यस कारण समाजलाई परिवर्तन गर्नुछ भने जुनसुकै पार्टी होस् जोडिनुस् आफुले मन पराएको पार्टीसंग जोडिनुस् र राजनीतिमा हिस्सा लिनुस् ।