बहसमा एसईई

के परिक्षा भनेको विद्यार्थीको बर्षभरिको हरेक पक्षको मूल्याङ्कन अढाई तीन घण्टा प्रहरीको घेराभित्र बसेर कपि भरेपछि हुने हो ? के त्यतिले विद्यार्थीको खुबी जाँच भैहाल्छ त ? बर्षभरि अब्बल दर्जामा रहेको बच्चाले परीक्षामा कुनै असहज वातावरणका कारण लेख्न सकेन भने के त्यो बच्चा कामै नलाग्ने भै हाल्छ त ?

यो बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आफ्नो ८७ बर्षको इतिहासमा सर्वाधिक चर्चाको बिषय बन्यो । सबैको अत्याधिक चासो र चर्चासँगै नतिजा प्रकाशन भएपछि यसको बहस समाजकि सञ्जालमा छताछुल्ल नै देखियो । परीक्षाको अवस्था कस्तो थियो या यसो गर्नुको भित्री पाटो के थियो यसका बिषयमा कसैले पनि बुझ्ने प्रयास गरेन तर यसलाई ब्यापक मनोरन्ञनको माध्यम भने बनाइयो । नतिजा प्रकाशन भएको हप्ता दशदिनसम्म त कतिपय प्रिन्ट छापाहरु देखि अनलाइनछापाहरुमा यसैको चर्चाले ठाउँ पायो । कतिले त यो परीक्षालाई खुलाकिताब, मनपरीको खेल, आफ्नो हात जगन्नाथ, लटरी परेको, चिठ्ठै खुलेको, गोरु ब्याएको आदि इत्यादी कुराहरु गरेर भर्खर १४ बर्ष पुगेका कलिला बालबालिकाहरुको मनोविज्ञानमा नै असन्तुलन बनाउने जस्ता उदण्ड वचनहरु पस्केर गिजाउने काम गरे । समाजकि सञ्जालमा टिकटकहरु समेत बनाएर यसपटकको परीक्षालाई भाग्यसँग जोड्दै पिएचडी पनि गरौंला नि भनेर यो तहलाई मात्रै गिज्याएन उच्चशिक्षा र विद्यावारिधीको पनि अवमूल्यन गरियो ।
कतिपयलाई यो कुराले खासै महत्व राखेन पनि होला । किनकि हरेक दिर्घकालिन असर राख्ने नीतिहरु नै ब्यङ्गात्मक शैलीमा राख्ने परम्परा जस्तो भएको हाम्रो देशमा यो माध्यामिक शिक्षा परीक्षा त्यो पनि भारेभूरे केटाकेटीको के नै अर्थ राख्छ र भन्ने पनि लागेर हुनसक्छ, यो परीक्षालाई बनाउनु मजाक बनाइयो । कतिपय शिक्षा विद्हरुले बालबालिकाको मनोविज्ञानको ख्याल राख्न दिएको सुझावलाई पनि कुनै चासोका साथ बुझिएन । यसलाई लगेर विगतका बर्षहरुमा आएको चार जीपीएको संख्या र यसबर्ष आएको सोही जीपीएको संख्यालाई टेबल नै बनाएर नेपालको शैक्षिक गुणस्तर बढेको नै हो त ? भनेर प्रश्न पनि उठाएर त्यो हैसियत राख्ने विद्यार्थीको पोलेको घाउमा नूनचूक थप्ने काम भयो ।
चैत्र ६ गतेबाट शुरु गर्ने भनि पुरै तयारी गरिसकेको परीक्षा १२ घण्टा पहिला स्थगित गरेर पहिले नै उत्कृष्ट अंक ल्याउने ल्याकत भएका विद्यार्थीहरुको मनोविज्ञानमा सरकारले नै घात गरिसकेको थियो । यसको कारण कोरोनाको संक्रमणलाई देखाइयो । विद्यार्थीहरुले तथापि यसमा निकट भविष्यमा नै परीक्षा त हुन्छ भन्ने आशा भने मारिसकेका थिएनन् । तर दुई महिनासम्म पनि परीक्षा गर्ने परिस्थिति नभएपछि सरकारले ल्याएको परीक्षाको नयाँ मापदण्ड र विधी अनुसार परीक्षाको मूल्याङ्कन गर्ने जिम्मा उहि शिक्षकलाई नै दिइयो जसले त्यो विद्यार्थीको हरेक पक्षको जानकारी राखेको थियो । यो कुनै गर्नै नहुने काम पनि थिएन । आफुले पढाएको विद्यार्थीको मूल्याङ्कन गर्न पाउनु यो निकै गौरवको बिषय पनि थियो अहिले हरेक शिक्षका लागि । यसभन्दा पहिला प्राय यस्तो अवसर शिक्षकहरुले पाउने गरेका थिएनन । कतै शिक्षक संघ संगठनको पहुँच, कतै प्रअहरुको आफ्नो पक्षकोे शिक्षक पठाएर कपि जाँच गराइएका कुराहरु पनि नसुनएिका होइनन् । यसरी परेकाहरुबाट रकम बनाउनकै लागि बढिभन्दा बढि उत्तरपुस्तिका जाँच गर्ने प्रतिष्पर्धामा कत्तिको वास्तविक मूल्याङ्कन भएको थियो यसबारे बहस कहिल्यै भएन । एउटै विद्यार्थीको उत्तरपुस्तिका अलग अलग शिक्षकले जाँच गर्दा प्राप्ताङ्कमा आउने ठूलो अन्तरले यो कुराको पुष्टि गर्छ कि त्यो विधीबाट भएको जाँच मूल्याङ्कन पनि कुनै रामवाण थिएन । र यसबाट एकअङ्क पनि तलमाथि थिएन भनेर कसैले भन्नै खोजेको हो भने पनि त्यो गलत नै हो ।
बेलाबेलाम आएका सेन्टर सेटिङ्गका खबरहरु, परीक्षा हलभित्र भेटिएका बोराका बोरा चिटहरुका खबरहरु र बोर्ड मंै सिकाएर नतिजा बनाइएका खबर पनि असत्य होइनन । फेरिपनि त्यसरी लिइएको परिक्षाको विश्वश्नीयता र गुणस्तरमा गर्व गर्नेहरुले नै अहिले भएको मूल्याङ्कनलाई गलत साबित गर्न खुबै लागि परेको देख्दा अचम्म लाग्नु अस्वभाविक लागेन । अझ केहि ले त यतिसम्म पनि भन्न भ्याए कि कतिले त अन्तिम परीक्षा नै लिएनन । पैसा उठाउनैका लागि गोरखधन्दा चलाएका नीजि स्कूलहरुले सेन्टअपको नाटक गरे आदी इत्यादी । आफ्ना विद्यार्थीहरुको नियमित जाँच लिने र माघ महिना पछि साप्ताहिक र फागुनको दोश्रोसाता देखि दैनिक परिक्षा लिने परिपाटी प्राय सबै नीजि विद्यालयहरुमा रहेको कुरा शायद यो गोरखधन्दाको अलाप गर्नेहरुले यो बिषयमा केहि बुझ्न नचाहेर अति पूर्वाग्रही भएकोे जस्तो पनि लाग्यो ।
कुरा त यति मै सकिँदैन । गतबर्ष १०६ जना विद्यार्थीले मात्रै चार जीपीए ल्याएकोमा यस बर्ष ९३१९ विद्यार्थीले ल्याउनु केहि अपवाद बाहेक वास्तविक मूल्याङ्कन नै हो । आखिर चार जीपीए ल्याउन सबै बिषयमा शत प्रतिशत अंक ल्याउनु पर्ने पनि त होइन । सबै बिषयमा ९० अंक कटाए त चार जीपीए पुग्छ भने यो कुरालाई सबैलाई शत प्रतिशत नै अंक दिएर आफ्नो हात जगन्नाथ गरियोे भन्नु गलत नै भन्न सकिन्छ ।
यसपटकको नतिजालाई लिएर आफ्नै शिक्षकको भरोसा नगर्ने वातारण किन बनाइयो ? के परिक्षाका नाममा हुने कोहि चलखेल छ र ? के परिक्षा भनेको विद्यार्थीको बर्षभरिको हरेक पक्षको मूल्याङ्कन अढाई तीन घण्टा प्रहरीको घेराभित्र बसेर कपि भरेपछि हुने हो ? के त्यतिले विद्यार्थीको खुबी जाँच भैहाल्छ त ? बर्षभरि अब्बल दर्जामा रहेको बच्चाले परीक्षामा कुनै असहज वातावरणका कारण लेख्न सकेन भने के त्यो बच्चा कामै नलाग्ने भै हाल्छ त ? हो कतिपय विद्यार्थीहरु जो कुनै बिषयमा कमजोर भएकै कारण उसको ग्रेड कम हुन जान्थ्यो त्यस्ताले अवसर पाए भन्ने कुरा हो त्यो पनि आफैमा वैज्ञानिक छैन । ती विषयहरुमा केहि उदारता देखाइएको पनि होला तर यो पनि उनीहरुको अन्य क्षमतालाई नै आधार बनाएर गरिएका छन् किन भन्न नसक्ने ?
हद त यहाँसम्म पनि भयो कि कक्षा ११ मा भर्नाका लागि काठमाण्डौंका केहि नाम चलेका भनिएका विद्यालयहरुले प्रवेश परिक्षाको फारम भर्दा कतिले दशको सेन्टअपको लब्धाङ्क पत्र, कतिले दशको दोश्रो त्रैमासिक परिक्षाको लब्धाङ्क पत्र त कतिले त नौ कक्षाको र आठ कक्षाको लब्धाङ्क पत्र समेत पनि मागे । यो किन गरियो ? के यस पटकको माध्यामिक परीक्षामा सबै गलत नै अङ्क पठाइएको थियो त ? के अब भविष्यमा जहाँ जहाँ पनि हुने परिक्षाहरुमा विद्यार्थीहरुले यो कोभिड–१९ को ब्याच भनेर आफ्नो माध्यामिक परीक्षाको लब्धाङ्क पत्रको प्रमाणिकरणको लागि कक्षा नौ को या दशको दोश्रो त्रैमासिक परीक्षाको लब्धाङ्क पत्र बोकेर हिँड्नु पर्ने हो ? यी केहि विद्यालयहरुको व्यवहार र यो समाजको यसपटकको परीलाई हेर्ने नजरिया देख्दा त यसपटक पास हुने बिशेषगरि उच्च ग्रेड ल्याउने ल्याकत भएका विद्यार्थीहरुको जीवनमा खोट लगाउने वातावरण मात्रै बनाइएको छ किन नभन्ने ? यस्ता खोटहरुको सृजना गराएर हामीले कस्तो कलंक बाँडन खोजेको हो ?
कुनै बेला बाहिर लठैतहरु राखेर भित्र प्रश्नको उत्तर बोर्डमा लेखाएर त्यहि सारेको भरमा इण्डियाका कतिपय बोर्डहरुबाट प्रमाणपत्र ल्याएर जागिर खाएकाहरु, पाँच पाँच हजार प्रति बिषयको चढाएर सीमापारीका स्कूलमा परिक्षा दिएर उच्चशिक्षाका प्रमाणपत्र ल्याएर समकक्षता कायम गरेकाहरु नेपालमा नभएका हुन र ? यस्ता कुराहरु नेपालका सीमावर्ती शहरहरुमा दलालहरुको चलखेलले देखाएको होइन र ? पटक पटक अदालतले समेत प्रमाणपत्र छानबीन गर्न भनेको होइन र ? कतिका यस्तै नक्कली प्रमाणका कारण जागिर पनि गएको होइन र ? नेपालमा त आज पनि प्रमाणपत्र छानबीन गर्न पर्छ भन्ने आवाज उठी नै रहन्छ त किन? तर त्यहाँ त्यस्तालाई खोज्ने र उनीहरुको हुर्मत लिने या ती खोटासिक्काहरुको बारेमा सञ्जाल त भरिँदैन त । अनि एउटा विधी र तरिकाबाट आफ्ना विद्यार्थीको ल्याकतको पुरै जिम्मेबारीका साथ दिइएको अङ्कमाथि अनावश्यक रुपमा सिँङ्गो माध्यामिक परीक्षा–२०७६ माथि शंका उब्जाएर जिम्मेबार व्यक्तिहरुबाट समेत गैर जिम्मेवार खोट लगाँइदै छ ?यो खोटले ती सयकडौं विद्यार्थीहरुको जीवनमा एउटा दीर्घकालीन खोट बोकेर हिँड्नुपर्ने बाध्यता बनाएको छ । यस्ता खोटहरु सृजना गर्ने गराउने काम नगर्ने विचार गर्ने कि ।

प्रतिक्रिया

प्रतिक्रिया