मेरो कुरा गर्नुहुन्छ भने अब एसईई नहुने भन्ने निर्णय नहुँदासम्मको दुई महिना अवधिको बन्दाबन्दी बिच पनि आफूले नियमित पढेर र छुटेको वा कमजोर जस्तो लागेको कोर्ष पढेर परीक्षाको दिनकै लागि पूर्णरुपमा तयार भइसकेकी थिएँ ।
म एसईई नदिएरै ४.०० जिपीए अंक ल्याएकी विद्यार्थी । परीक्षा देखि अहिलेसम्मका अन्योलता भन्दा नतिजा प्रकाशनपछि आएका प्रतिक्रियाले मेरो खुशीलाई क्षणभंगुर बनाइदिएको छ । जाँच नै नदिइ पास भएका भन्दै होच्याउने र हामो मस्तिष्कमा हीनताबोध गराउने जस्ता पोस्ट सामाजिक सञ्जालमा लेखेर हाम्रो बालसुलभ मस्तिष्कमा पीडा रोप्ने ति महानुभावहरु जो सोसल मिडियामा दैनिक पोष्ट गर्दै हुनुहुन्छ कि यो त कोरोना रिजल्ट हो । के ४ लाख ८२ हजार विद्यार्थीहरुलाई कोरोना कै महामारीमा परीक्षा दिन लगाउनु उपयुक्त हुन्थ्यो ? के उनीहरूले परीक्षाको तयारी गरेका थिएनन् र ? परीक्षाको लागि भनेर वर्षदिनसम्म मेहनत गरेका थिएनन् होला ?
परीक्षाविनाको नतिजालाई लिएर सामाजिक सञ्जालमात्रै होइन पत्रपत्रिकामा पनि विभिन्न टिप्पणी पढिरहेकी छु । नलेखिकनै पास भएकोमा बधाई भन्नेदेखि तिम्रो त बाबा पत्रकार हुन् स्कूललाई मिलाए होलान् भन्नेसम्मका कटाक्ष गरिंदा उम्लिएका भावनाले सोध्न मन लाग्छ, परीक्षा दिएरै परिणाम स्वीकार्न चाहने म जस्ता लाखौं विद्यार्थीहरूलाई यसरी लान्छित गर्न मिल्छ ? किनकी परीक्षाविनाको नतिजा न हाम्रो चाहना थियो नत हामीले अनुमानै गरेका थियौं । हो, मलाई पनि लागेको हो यो प्रक्रियाले दीर्घकालीन रुपमा हामीलाई फाइदा गर्ने हो होइन ? तर, हामी विद्यार्थी दोषी हो त ? हामी जीवनभर यो आक्षेप सहिरहनु पर्ने !
पक्कै पनि फलामे ढोका भनेर पार गर्ने धोकोमा १२ महिनासम्म रात दिन गरेर पढेकै हौं । हरेक दिन रात एक बनाउदै आफ्नो सबै ध्यान दिनुपर्ने कुरा ध्यानपूर्वक परीक्षाको तयारीमा जुटेका थियौं । यस्तोमा हाम्रो लगन र विद्यालय व्यवस्थापनको इमान माथि प्रश्न किन उठाइयो ? म अचम्भित भएर यो लेख्दै छु, कि हरेकले सोच्नुस्, बोल्नु प्रतिक्रिया दिनुअघि अवस्था के हो ? सबै शिक्षकले हामीलाई पढाउन के गर्नु भएन होला, हरेक दिन परीक्षा लिनुभएन् कि सधै बच्चाहरु जस्तो सोध्नु भएनकी गाली गर्नु भएन कि, त्यो सबै कुरा गर्नुभो जुन एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई सफल बनाउन गर्नु पर्ने हो । अनि तिनै शिक्षकको इमानमा प्रश्न ?
मेरो कुरा गर्नुहुन्छ भने अब एसईई नहुने भन्ने निर्णय नहुँदासम्मको दुई महिना अवधिको बन्दाबन्दी बिच पनि आफूले नियमित पढेर र छुटेको वा कमजोर जस्तो लागेको कोर्ष पढेर परीक्षा दिनकै लागि पूर्णरुपमा तयार भइसकेकी थिएँ । परीक्षा प्रति पहिला जस्तो उत्साह, जोश जाँगर थिएन होला तर मलाई उत्कृष्ठ नतिजा ल्याउनु छ भनेर सक्दो हरसम्भव प्रयास त गरेकी हुँ, मलाई मेरो जीवनको महत्वपूर्ण परीक्षा उत्कृष्ठ गर्नु थियो । अनि, विद्यालयलाई पनि आफु अगाडी आउनै थियो । हामीलाई दिने आवश्यक गाइडलाइन निरन्तर दिइनै रहेको थियो । अनि, सरकारको जे जस्तो रणनिती भएपनि यसमा विद्यार्थीलाई दोष दिनु पर्ने किन ? परीक्षाको अघिल्लो रात परीक्षा रद्द भएपछि के गर्ने ? जबकि त्यो बेला संक्रमण कम देखिएको थियो । हामीलाई थाहा थियो र कोरोना यसरी आऊछ भनेर ? यदि यो रिजल्टलाई मान्यता दिनु नै थिएन भन्ने कम जोखिमको बेला परीक्षा लिए हुन्थ्यो नि ! कतै हजुरहरूले आ-आफ्नो फेसबुकमा लेख्नु भएको स्टाटसले कसैको जीवनलाई प्रत्यक्ष असर त पारिरहेको छैन ? एक पटक सोचौ त यदि हजुर र हजुरको बच्चाबच्ची यहि स्थानमा भएको भए के हुने थियो ! विद्यार्थी परीक्षा दिन तयार हुँदाहँुदै परिस्थिति असहज भएर परीक्षा दिन नपाएका हुन् । त्यसैले जाँचै नदिई पास भए जसरी होच्याउने काम बन्द गर्नुस् । किनकी हामीले पाएका परिणाममा हाम्रो कम्तिमा एक वर्षको पूर्व परीक्षाहरुका नतिजाका आधार छन् । अहिलेका हामी विद्यार्थीहरु भोलिको कर्णधार हौं, त्यसैले हामीलाई सबैको साझा धारणा, साथ, र सहयोगको जरुरी छ, कसैको नकरात्मक टिप्पणी होइन ।
४ जिपीए धेरैले पाए भन्ने चर्चापनि उत्तिकै छ । त्यसमा पनि हामी दोषी छैनौं । मैले पाएको ४ जिपीएमा मेरो अपेक्षा र विश्वास दुबै मिसिएको छ । मैले मागेर पाएको र विद्यालयले आफुखुसी पनि पठाएको होइन् । विद्यालयले देखेको छ हामी र हाम्रो मेहेनतहरुलाई, बिना मुल्यांकन, यस्ता निर्णय लिएको हुँदै होइन । । हामीलाई यो जिपीएको हकदार भएका हुनाले यो विशेष अंक हामीलाई प्रदान गरिएको हो । यो नतिजाले हामीलाई अझै कठोर बनाएको छ । पहिलेका एसईई विद्यार्थीलाई एकै पटक आफूलाई विश्व सामु साबित परे पुग्यो, नजिता । हामीले त आफ्नो जीवनको हरेक प्रहर आफुलाई साबित गर्नु पर्छ, त्यसैले यो रिजल्टले हामीलाई अझै गार्हो बनाएको छ । म यति टप रिजल्ट ल्याउँदा पनि सेलिब्रेट गर्न सकिन । खुशी भन्दा चुनौती उठाउँदै हामीले हाम्रो अब आउने नयाँ शिक्षाको दुनियाँको लागि ध्यान केन्द्रित गरेर उज्ज्वल भविष्यको लागि तयारी तर्फ लाग्नु पर्छ । त्यसका लागि मेरो तर्फबाट एसईई पूरा गरेका सबै साथीहरुलाई हार्दिक शुभकामना ! बधाई छ, नयाँ चुनौतीसहित हामीहरुको नयाँ जीवनको शुरुवात हुँदैछ, त्यसैले हामीले नकारात्मक प्रभावबाट बच्दै अघि बढ्नुपर्छ ।
अभिभावकले पनि आफ्ना सन्तानलाई बुझाउन जरुरी छ कि जीवनका महत्वपूर्ण परीक्षा त बन्द कोठामा दिईंदैन । ठूला डिग्री खोक्रो र बेकार हुन्छन् यदि ती असल मानिस बन्न सकेनन् भने । अहिले राम्रो आयो भन्दैमा सधै भरि नै राम्रो हुँदैन । त्यसैले मेहेनत गर्नु अवस्य सफलता प्राप्त गर्न सकिन्छ । अन्तमा म आफ्नो विद्यालयलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु, मलाई मेरो मेहेनत अनुसार नै अंकको आधार प्रदान गर्नुभएकोमा ।
(यसैवर्ष एसईई पूरा गरेकी गैरे होप इन्टरनेशनलकी विद्यार्थी हुन् )