फौजी किराले संकटमा किसान , क्षतिपूर्ति माग्दै ज्ञापन

(तस्वीर : बाँकेको खजुरामा काट्न तयार भएको धान ।)

नेपालगन्ज- फौजी किराका कारण मानो रोपेर मुरी पाउने बेला बाँकेका किसानहरु खाली हात हुनुपर्ने अवस्था आएको छ । मेहनत गरेर लगाएको धान काट्ने बेला हुँदै गर्दा फौजी किराले धानको बाला काटिदिएपछि किसानहरु मर्कामा परेका हुन् । बाँकेका किसानको ५ सय हेक्टर बढी धान फौजी किराले नष्ट गरिदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जानकारी दिएको छ । यस बर्ष बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानको खेती गरिएको छ ।

फौजी किराका कारण धान बाली नष्ट भएपछि किसानहरुका लागि क्षतिपूर्तिको माग गरिएको छ । शुक्रबार कृषि ज्ञान केन्द्र नेपालगन्ज पुगेका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विभिन्न कार्यालयहरुलाई बोधार्थ उल्लेख गरी क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञान केन्द्रमा ज्ञापन पत्र बुझाएका हुन् । खजुरा, डुडुवा र राप्ती सोनारी गाउँपालिकाका किसानहरुले गत आसोज १९ गतेदेखि फौजी किराको प्रकोप बढेको भन्दै धान नपाक्दै काट्न बाध्य हुनुपरेको बताएका छन् ।
‘डुडुवा गाउँपालिकाको बेतहनी, जाफरपूर्वा, बाबाकुट्टी, उचवा राम नगर झोरा सामुदायिक वन क्षेत्र निजक, हिरमिनिया, कालाबन्जर लगायतको क्षेत्रमा मात्रै ६ सय विगाहमा गरिएको धान खेती ८० प्रतिशत किराले नोक्सान गरेको छ’, तत्काल क्षतिको एकिन गरी क्षतिपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै कृषि ज्ञान केन्द्रमा ज्ञापन पत्र बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

किसानहरुले बालीमा लाग्ने यस्ता प्रकोप विरुद्ध कृषि सम्बन्धित कार्यालयहरु सधै सक्रिय रहनुपर्ने बताएका छन् । ‘बिदाका बेला पनि आपतकालीन सेवा दिन सकिने प्रविधि र कृषि विज्ञको व्यवस्था गरिदिनुपर्छ’, ज्ञापन पत्र बुझाउन ज्ञान केन्द्र पुगेका किसानहरुले भने, ‘आगामी दिनमा किसानले क्षति व्यहोर्नु नपरोस्, कुनै प्रकोप नोक्सान होस् भन्नेमा सरोकारवाला कार्यालयले पनि ध्यान दिनुपर्छ ।’ ‘फैजी किराका कारण खेत रित्त भएको छ’, किसानहरुले भन्छन्, ‘बर्षभरीको गर्जो टार्ने खेत खाली भएकाले हाम्रा बारेमा सरकारले सोचिदिनुपर्छ ।’


विभिन्न संघ, संस्थाहरुले फौजी किरा लागेको र लाग्न सक्ने खेतमा विषादीको व्यवस्थापन गर्न ज्ञान केन्द्रसँग माग समेत गरेका छन् । धानबालीमा लाग्न सक्ने अन्य रोगको पहिचान गरी अविलम्वन रोकथामको व्यवस्थापन आवश्यक रहेको भन्दै ज्ञापनपत्रमा धान बाहेकका बालीमा लाग्ने रोगबाट बच्नका लागि पूर्व अभ्यास र पूर्वतयारीको आवश्यकता रहेको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, प्रकोप व्यवस्थापन बाँके, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जलाई बोधार्थ दिइएको छ ।


ज्ञापनपत्र बुझाउनेमा जन एकता समाज डुडुवाका धु्रवराज शर्मा, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेका विश्वजित तिवारी, पत्रकार राकेश कुमार मिश्र, खजुराका मंगल थापा, उपभोक्ता हकहित संरक्षण मञ्चका बसन्त गौतम लगायत रहेका छन् ।


कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले फौजी किराको प्रकोपपछि कार्यालयले प्राविधिक खटाएर अनुगमन गरेको बताएका छन् । उनले कार्यालय कार्यालयमा रहेको बजेट र अन्य कार्यालयबाट सहयोग लिएर एक लाख रुपैयाँ बरारको विषादी खरिद गरी किसानहरुलाई वितरण गरेको जानकारी दिएका छन् । उनले धानबालीमा लागेको किरा नियन्त्रणका लागि स्थानीय तहहरुसँग पनि समन्वय गरिरहेको जानकारी दिएका छन् ।


‘किराका कारण किसानहरुलाई क्षति पुगेको छ’, केन्द्र प्रमुख ढकालले भने, ‘किसानको नोक्सानीबारे संघ र प्रदेश कृषि मन्त्रालयमा जानकारी गराएको छु ।’ किरा लागेका बाहेकका ठाउँमा भने यसबर्ष धान खेती राम्रो भएको ढकालले बताएका छन् । ‘बाँकेमा यसबर्ष धान खेती राम्रो नै छ’, उनले भने ।


फौजी किरालाई बाला काट्ने किरा पनि भनिन्छ । धेरै किराको समूह हुने भएकाले यसलाई फौजी किरा पनि भनिएको हो । फौजी किरा पुतलीको लार्भा हो । पोथी पुतलीले पातको आधार र डाँठकोबीचमा लहरै फुल पार्दछ । एक हप्तामा फुलबाट लार्भा, चार हप्तामा लार्भाबाट प्युपा र त्यसपछि झण्डै तीन हप्तामा प्युपाबाट वयस्क पुतली बन्छ ।


दुई महिनामा फौजी कीराले आफ्नो जीवनचक्र पूरा गर्छ । आफ्नो जीवन अर्थात एक वर्षमा यसले तीनदेखि पाँच पूस्तासम्म तयार पार्ने गरेको नार्कको कीट विज्ञान महाशाखाले जनाएको छ । यो कीराले सबैभन्दा बढी क्षति लार्भा अवस्थामा गर्छ । वातावरणअनुसार हरियो, गुलावी–हरियो वा चम्किलो–खैरो रङको लार्भा हुने यो किराले पात, गुभो र पछि बाला काटेर खाने गर्छ ।


फौजी कीरा भदौदेखि मंसिरसम्म बढी सक्रिय रहन्छ । तर यो फैलिने बेला भने असोज कात्तिक महिनामा हो । धेरै सक्रिय रहने भएकाले यसले धान पाकेका बेला बढी क्षति गर्ने गरेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया