महेन्द्र बहुमुखी क्याम्पसमा व्याप्त समस्या समाधानका लागि गठन गरिएको टोलीसँग वार्तामैं बसेनन् विद्यार्थी
मन भण्डारी / नेपालगन्ज – नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस पश्चिम नेपालकै प्रतिष्ठित र पुरानो शैक्षिक संस्था हो । कुनै बेलाको पश्चिम क्षेत्रमै राम्रो चर्चा कमाएको र उच्च शिक्षाका लागि नेपालमंै उत्कृष्ठ शैक्षिक गन्तव्यको सूचिमा पर्ने यो क्याम्पस बिभिन्न कारणले धराशयी बन्दै गएको छ ।
पछिल्लो केहि वर्षयता क्याम्पस विभिन्न विषयमा विवादित हँुदै आएको छ । कहिल्यै क्याम्पस ब्यवस्थापन, कहिल्यै अवैधानिक कर्मचारी नियुक्ती, कहिल्यै बढी शुल्क लिएको विषय, कहिल्यै प्राध्यापकको मनपरि लगायतको विषयलाई लिएर विभिन्न मागहरु राखेर बेलामा बेलामा विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । यी यस्तै कारणले पछिल्लो समय क्यापस राजनीतिक अखडाको रुपमा परिचित हुँदै गएको छ । पटक पटक विद्यार्थीको आन्दोलन, तालाबन्दी र तोडफोडको शिकार हुँदै आएको महेन्द्र बहुमुखी क्याम्पसले आफ्नो साख गुमाएर जहिले किचलोमा फँस्ने गरेको हो ।
सम्बद्ध शिक्षकहरुका अनुसार, हजारौंको संख्याका विद्यार्थीबीच अध्यापन हुने क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या घट्दो क्रममा छ । विद्यार्थी भर्ना भए पनि नियमित क्याम्पस जानेको संख्या एकदमै कम छ । कुनै बेला विहान देखि बेलुकी सम्म विद्यार्थीको भिड लाग्ने क्याम्पस अहिले सुनसान प्रायः हुने गरेको छ । ‘परीक्षाको समयमा भिड लाग्ने गरे पनि अघि पछि भने सुनसानै हुन्छ,’ शिक्षकहरु भन्छन् । शिक्षकहरुको नियमितता अभाव, निजी शैक्षिक संस्था सञ्चालनमा सरकारी शिक्षकको संलग्नता, क्याम्पस व्यवस्थापन फितलो हुनु पढाई नियमित नहुनु लगायतका कारणले यस्तो अवस्था सिर्जना भएको बिद्यार्थी संगठनहरुको आरोप छ ।
क्याम्पस अहिले पनि आन्दोलनको रापमै छ । समय समयमा विभिन्न विषयलाई लिएर आन्दोलित हुँदै आएका विद्यार्थी संगठनहरुले भाद्र ५ गते विभिन्न माग सहितको ज्ञापन पत्र क्याम्पस प्रशासनलाई बुझाए । आफुले राखेका मागहरु पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी सहित ज्ञापन पत्र बुझाएका बिद्यार्थी संगठनहरुको मागलाई क्याम्पस प्रशासनले चासो दिएन । वार्ता समितिले काम गरिरहेको भन्दै आन्दोलन शान्त पारियो ।
विद्यार्थी संगठनहरुले सामूहिक रुपमा राखिएका मागको सम्बोधनमा छलफल गर्नका लागि प्राध्यापक कृष्ण लम्सालको संयोजकत्वमा हरी तिमिल्सिना, प्रकाश लामिछाने, नारायण आचार्य र अर्जुन पोख्रेल सहितको वार्ता टोली गठन गरेको छ । विद्यार्थी संगठनबाट अनेरास्ववियुका प्रकाश विक, नेविसंघका चन्द्र प्रकाश देवकोटा, अखिल क्रान्तिकारीका ध्रुव जोशी र समाजवादी विद्यार्थी युनियनका संगम पोख्रेल छन् । वार्ता टोली बनेर दुई, तीन पटक वार्ता भइसक्दा समेत सहमति भने हुन सकेको छैन ।
क्याम्पसमा पठन पाठन प्रभावित हुनेगरि प्राध्यापकले अन्यत्र कार्य गर्दै आएको, विभिन्न संकाय अन्तर्गतका कार्यक्रमहरुमा मनोमानी शुल्क लिने गरेको, क्याम्पसको सबै आर्थिक हिसाबमा अपारदर्शी भएको, स्ववियु कोषमा रहेको रकमको उपयोग नभएको लगायतका आरोप विद्यार्थी संगठनहरुको छ ।
विद्यार्थीहरुले राखेका मागहरु मध्ये केही मागहरु सम्बोधन गर्ने सहमति भएपनि क्याम्पसले विभिन्न संकाय अन्र्तगतका कार्यक्रमहरुमा लिने शुल्कमा २० प्रतिशत घटाउनुपर्ने र स्ववियु कोषको विषयमा सहमति हुन नसकेको अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका सचिब प्रकाश बि.क. ले बताए । क्याम्पसले विद्यार्थीहरुबाट मनोमानी तरिकाले लिंदै आएको शुल्कमा २० प्रतिशत घटाउनुपर्ने र स्ववियुको कोषमा भएको रकमको सम्बन्धित विद्यार्थीहरुले उपभोग गर्न पाउनुपर्ने र क्याम्पसको सबै आम्दानी र खर्च सार्वजनिक गर्नुपर्ने माग विद्यार्थीहरुको थियो ।
हाल सबै संकायमा अध्यापनका लागि क्याम्पसमा ८० जना भन्दा बढी पूर्णकालिन प्राध्यापक नियुक्त छन् । ‘तर ती सबै प्राध्यापक क्याम्पस छन् वा छैनन् क्याम्पस प्रशासनलाई नै थाहा हुँदैन,’ विद्यार्थी नेता भन्छन्, ‘कतिपय शिक्षकहरु हेल्मेट नै नखोली हाजिर लगाएर फर्किन्छन्, कतिपय महिनाभरीको हाजिर एकै दिन लगाएर तलब खान्छन् ।’
वार्ता टोलीका सदस्य हरी तिमिल्सिनाले विद्यार्थीहरुले राखेका अधिकाँस मागहरु पुरा भइसकेको र केहि मागहरु प्राविधिक कारणले पुरा गर्न नसकिने भएकाले सहमति जुट्न नसकेको बताए । एक दुइ पटकको वार्ताको क्रममा धेरै विषमा कुरा मिली सकेको बताउँदै तिमिल्सिनाले भने ‘सहमतिका लागि शुक्रवार ११ बजे बस्ने कुरा भएको थियो विद्यार्थी नेताहरु नआएपछि वार्ता हुन सकेन, अर्को दिन बसेर छलफल गर्ने सल्लाह भएको छ ।’
विद्यार्थीहरुबाट लिने शुल्क खासै बढी नभएको र अन्य क्याम्पसहरुको तुलनामा सुहाउदो किसिमको भएको बताउँदै शुल्क घटाउने विषयमा क्याम्पस प्रशासन सहमत हुन नसक्ने तिमिल्सिनाको भनाइ छ । लामो समय सम्म स्ववियुको निवार्चन हुन नसक्दा स्ववियु कोषको रकम खर्च गर्न नसकिएको बताउँदै तिमिल्सिनाले दैनिक नेपालगन्जसँग भने, ‘निर्वाचित स्ववियु नभए सम्म कोषको रकम खर्च गर्न नसकिने गरि सर्वोच्च अदालतले आदेश गरेको छ, माथिबाट स्विकृत नआए सम्म क्याम्पसले खर्च गर्न मिल्दैन ।’
सहायक क्याम्पस प्रमुखहरुको समयावधि सकिएको र नयाँ सहायक क्याम्पस प्रमुख चयन नभइसकेको कारण अध्यापनको रुटिङ्ग बन्न नसकेको क्याम्पस प्रशासनको भनाइ छ । सहायक क्याम्पस प्रमुखको चयन भएपछि नयाँ रुटिङ्ग बनाएर पढाइलाई नियमितता दिने र नियमित नआउने प्राध्यापकहरुलाई कारवाही गर्ने विषयमा क्याम्पस प्रशासन र विद्यार्थी संगठन विच सहमति भएको तिमिल्सिनाको भनाइ छ । ‘त्यसपछि सुधार हुने निश्चित छ,’ उनले भने ।