अपुरो डाइभर्सन, सडकमा सास्ती

पुल र कल्र्भट निर्माण वर्षायाम अघि पूरा नभएका कारण आवतजावतमा समस्या

 

नेपालगन्जदेखि बाँके राप्तीपारि सुईयासम्म निर्माणाधीन रहेको हुलाकी राजमार्गका पुल र कल्भर्ट निर्माण वर्षायाम अघि पूरा नभएका कारण आवतजावतमा समस्या उत्पन्न भएको यात्रीको गुनासो छ । राप्तीपारिबाट नेपालगन्ज आवतजावत गर्नका लागि मुख्य र एकमात्र सडक हुलाकी राजमार्ग रहेको छ । यसअघि संचालनमा रहेको बस सेवापनि पानी परेका कारण सोनपुर र मेहमानपुर सम्म मात्र पुग्ने गरेको स्थानीयले बताएका छन् ।

 
अत्यावश्यक कार्य वा औषधी उपचारको विकल्प नेपालगन्ज आउनका लागि राप्तीपारिका जनताको लागि हुलाकी राजमार्ग नै अन्तिम विकल्प हो । यद्यपि बाढीजन्य अवस्था उत्पन्न भएका बेला राप्ती सोनारी गाउँपालिकाका बासिन्दा अगैया भएर तथा नरैनापुरका बासिन्दा भारतीय बाटो प्रयोग गरेर नेपालगन्ज आउँछन् ।

 
सरकारी प्रयासमा करिब २५ वर्ष पछि निर्माण प्रारम्भ भएको सडकको अधिकाँश भाग ग्राभेल भइसकेको र पुल समेत निर्माण भइसकेको अवस्था छ । निर्माण जिम्मा लिएको गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिका साइट इन्चार्ज इन्द्र केसीले भने, ‘डाइभर्सन निर्माण गरि पुलको काम भइरहेकै बेलामा पानी परेकोले ब्यवस्थित गर्न नसकिएको हो ।’
राप्तीपारिबाट तीन दिन अघि विरामी बोकेर आउँदै गरेको एम्बुलेन्स लालपुर स्थित डाइभर्सनमा फस्यो । कुनै प्रकारले स्थानीय बासिन्दाको सहयोगमा हिलोबाट निस्कन सफल भएको एम्बुलेन्स झण्डै २ घण्टा ढिला गरि नेपालगन्ज पुग्यो ।
स्थानीय बासिन्दा देव बहादुर खाँडले एम्बुलेन्समा रहेका विरामीहरुको अवस्था गम्भीर देखिएपछि तत्काल निकाल्ने प्रयास गरिएको बताए । सडकमा निर्माण कम्पनीको लापरवाही यत्रतत्र देखिन्छ ।

 
वर्षायाम अघि निर्माण पूरा हुनु पर्ने वा निर्माण सुरु नगर्नु पर्ने स्थानीय बासिन्दा तिलक राम यादवले बताए । ‘हामीले आवतजावत गर्न मिल्ने खालको सडक भए सुविधा हुन्थ्यो’, उनले भने, ‘थोरै पानी परेपनि यातायातको साधन लैजान मिल्दैन ।’ नेपालगन्जको पुष्पलाल चोक देखि सुईया सम्म ४४.६ किलोमिटर सडक अहिले निर्माण कार्य जारी रहेको छ । अधिकाँश भागमा ग्राभेलको काम भइसकेको सडकमा वर्षायाम लगत्तै कालो पत्रे गर्ने योजना रहेको साइट इन्चार्ज केसीले बताए ।

 
‘कतिपय स्थानमा बाढीका कारण डाइभर्सन भत्किएकोले गार्हो हुन गएको हो, हामी मर्मत सम्भारको क्रममा नै छांै’, केसीले भने, ‘जनतालाई असुविधा हुने हिसाबको विकास निर्माण गर्ने योजना छैन ।’ सडक जनताको सुविधाका लागि हो त्यसमा हरेक कोणबाट सुविधा बनाउने प्रयास जारी रहेको केसीले बताए । ‘गुनासो आएको वा समस्या भएको स्थानमा हामी स्वस्फूर्त रुपमा काम गरिरहेका छौं,’ उनले भने, ‘पानी परेर माटो बगेपछि चुनौती देखा परेको हो ।’

प्रतिक्रिया

प्रतिक्रिया