स्खलित नहोस् राष्ट्रवाद

जीवन शर्मा

अहिलेसम्म हामीले राष्ट्रवादको बहसलाई आफु अनुकुल ब्याख्या र विष्लेषण गर्दै आएका छौ । अझ र भारत र भारतीय शासकलाई विरोध गरेपछि राष्ट्रवादी भएको मान्छौ । शाहवंशको २ सय पचास वर्षमा विभिन्न शासकहरुलाई विभिन्न ढङ्गले व्याख्या गरे, गरियो । हामी भन्दा अघिल्लो पुस्ताले महेन्द्र र विपीलाई सबैभन्दा राष्ट्रवादी चरित्रको संज्ञा दिए । अर्को समूहले महेन्द्र लोकमार्गले मधेश र पहाड छुट्याएको भनेर अराष्ट्रवादी भन्न थाले, यो बहसको भिन्नै पाटो हुनसक्छ । २०४५ सालमा विरेन्द्रको पालामा भाारतले लगाएको पहिलो नाकाबन्दीलाई डटेर लागि परेको भनेर उनी नै हुन सच्चा राष्ट्रवादी भनियो । समयक्रम अनुसार इतिहासमा अनेक पात्र र शासक आए र तिनलाई अनेक पगरी गुथाइए । राजनीतिक आस्थाका आधारमा को राष्ट्रवादी हो वा को होइन ? बहसले गर्दा साँच्चै राष्ट्रवादको बारेमा बहस हुनसकेको छैन । नेपालका सबै शासकहरुलाई आ–आफ्ना समूह, दल र सहयोगीहरुले कसैले खरो राष्ट्रवादी बनाए त कसैले अराष्ट्रवादी चरित्र । २०४६ सालपछि विभिन्न राजनीतिक नेताहरुलाई पनि राष्ट्रवादी भनियो । यहाँ चर्चा गर्न खोजिएको विषय व्यक्तिको भन्दापनि हाम्रो प्रवृत्ति, संस्कार र अडानको हो ।

 

 
पछिल्लो समयमा हामीहरुले धेरै राष्ट्रवाद र राष्ट्रवादीको बहस गरेको मधेश आन्दोलन र भारतले गरेको राजनीतिक हस्तक्षेप अनि नाकाबन्दीका समयमा हो । आजसम्मपनि भारतले नाकाबन्दीलाई स्वीकारेको छैन भने तराई केन्द्रीत राजनीतिक दलहरुले पनि नाकाबन्दी मान्न तयार भएनन् । भूकम्पले थलिएको, चाडपर्वमा दुःख पाएका सर्वसाधरण र विशेष गरेर पहाडका सर्वसाधारण, विभिन्न राजनीतिक दल, नागरिक समाजले चाही चर्को विरोध गर्दै नाकाबन्दी नै हो भने । यसका विषयमा छलफल र बहसहरु भैरहँदा राष्ट्रवादी के हो भन्ने र को राष्ट्रवादी बन्ने होड नै चल्यो । विभिन्न समयमा भएका अन्तर्कृया, भाषण र लेखहरुमा आफु राष्ट्रवादी भएको प्रष्टयाउन आफु बाहेक अरुको उछितो काट्ने काम पनि भए । सामाजिक संजालहरुमा अनेक बहस र टिकाटिप्पणीहरु हेर्न देख्न र पढ्न पाइयो । नाकाबन्दी हटेपछि निर्वाचनमा समेत नाकाबन्दीमा लिएको अडान देखाउदै को राष्ट्रवादी ? को प्रतिकृयावादी ? को भारतपरस्त ? भाषणहरु गज्जबका कुराकानी सुन्न पाइयो । यही राष्ट्रवादी भाषणले गर्दा मतमा फरक पनि आयो ।

 

 
सामाजिक सन्जाल, विभिन्न अनलाइन, पत्रपत्रिका, रेडियो टिभीहरुमा मोदी भ्रमणका विषयमा टिप्पणी, विरोध भैरहेका छन् । सामाजिक संजाल ट्वीटरमा त  #BlockadewasCrimeMrModi अभियान नै सन्चालन गरेका छन् भने विरोध स्वरुप स्वत स्र्फुत रुपमा व्ल्याक आउट, सिट्टी फुक्ने जस्ता विरोध गर्न अनुरोध गर्दैछन् । किन एक्कासी यी सब भएर आए त ? किन ओलीलाई पहिला राष्ट्रवादी भनेर भनियो ? र अहिले आएर ओलीप्रति किन शंका उब्जियो ? नाकाबन्दीले कुढिँएको नेपाली मनले मोदीलाई स्वागत गर्न आतुर थिएनन् नै त्यसमा सरकारले गर्न लागेको नागरिक अभिनन्दन, मोदी आफ्नै सैन्य कमाण्डो लिएर आउनु अझ जनकपुरमा रेकी शुरु गर्नुले ओली सरकारप्रति शंका उपशंका उब्जिएका छन् ।

 

 

समय र परिस्थिति अनि समय अनुसार फेरिने हाम्रा शासकहरुको बोली र व्यवहारले राष्ट्रवादलाई गिज्याएको भान हुन्छ । राजनीतिक दल अनुसार, नागरिक समाजका अगुवा अनुसार र आफु अनुकुल राष्ट्रवाद र राष्ट्रवादी बनाइरहेका छन् । राजनीतिशास्त्रका विद्यार्थी रमेश ढकाल नेपालको राजनीतिलाई हेर्ने हो भने राष्ट्रवाद भनेको ‘भ्रमको खेती’ भएको बताउँछन् । एउटा सार्वभौममूलकका हाम्रो शासन व्यवस्थामा जानी नजानी हस्तक्षेप भइरहेको छ । शासकहरुको भाषामा भन्ने हो भने अदृष्य शक्तिले खेलिरहेको छ, त्यो अदृश्य शक्ति भारत लक्षित रहेको छ । नाकावन्दीले सबैभन्दा बढि असर भावनात्मक रुपमा मधेश र पहाड भन्ने बनायो । अन्य दुःख त छँदैछ आर्थिक रुपमा वर्षौ धकेलियो । तस्करहरु मौलाउने मौका पाए । यही मुद्दालाई लिएर विशेष गरि एमालेले दह्रो अडान लियो अन्य दलले पनि विरोध त जनाए तर मलिन थिए । युवा राजनीतिक नेता सन्तोष चौलागाई राष्ट्रवादलाई शाषकको चरित्रसँग जोड्नुहुन्छ । आधाारभुत रुपमा, कुनै पनि कर्म जसले व्यक्तिगत स्वार्थको तहबाट माथि उठेर राष्ट्रको उत्थान, समृद्धि र प्रगतितिर धकेल्छ, त्यही राष्ट्रवाद हो । जसले त्यस्तो कर्म गर्छ, ऊ असली राष्ट्रवादी हो । विज्ञान र गणितलाई जस्तो समाजलाई हेर्न सक्दैनौ । ठयाक्कै राष्ट्रवाद भनेको चाही यो हो र यसो नभए राष्ट्रवादी भइँदैन भन्ने नभएपनि बाह्य हस्तक्षेप विना राज्यलाई अगाडि बढाउन सक्नु नै राष्ट्रवाद हो ।

 

 

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण आउनु अगाडि राष्ट्रवादको बहस पुन शुरु भएको छ । सरकारमा हुँदा र सरकार बाहिर रहँदा दलहरुको चरित्र फरक फरक देखिन्छ । सत्तामा हुँदा गरको व्यवहार र सत्ता बाहिर रहँदा शाषकहरुको बोली विपरित देखिन्छ । अहिले त्यस्तै देखिएको छ । शासकहरुले लिने अडानमा परिवर्तन भैरहँदा एउटै व्यक्ति जस्लाई कहिले राष्ट्रवादी त कहिले लम्पसारवादीको पगरी गुथाउँछन् । अहिलेको सरकारसँगको नागरिकको अपेक्षा भनेको उस्ले जुन अघोषित रुपमा लामो नाकावन्दी गयो त्यस कार्यलाई गल्ती हो भन्ने महसुश गराउनु सक्नु हो । किनभने ओली सरकार नै हो नाकावन्दीमा डटेर लागिपरेको । अहिलेपनि ओली सरकार नै छ अझ दुईतिहाई समर्थन पाएको बलियो सरकार छ । त्यसैले एउटा सार्वभौम मूलुकको आन्तरिक राजनीतिमा हस्तक्षेप सह्य छैन भन्न सक्नु नै सबैभन्दा महत्वपूर्ण विषय हो ।

 

 
अहिले मोदीलाई नाकावन्दी गलत थियो र राजनीतिक हस्तक्षेप नगर्नु, हामी हाम्रा समस्या सुल्झाउन सक्छौ, समान राष्ट्र हौ भन्ने कुरालाई अनुभुत नगराउने हो भने नाकावन्दी थिएन, मधेश आन्दोलन सहि थियो भन्न सक्नुपयो अन्यथा सत्तामा रहँदा शासकहरुको सधै फेरिने बोली र व्यवहारले राष्ट्रवाद मौका, समय र परिस्थिति अनुसार स्खलित नहोस् । (हेटौडाका स्थायी बासिन्दा जीवन सामाजिक अभियन्ता हुन् )

प्रतिक्रिया

प्रतिक्रिया