भूमि सुधार कर्मचारीको चलखेल, महंगो जग्गामा थाहै नदिई मोही

दैनिक नेपालगन्ज/समाचारदाता

भूमि सुधार कार्यालय बाँकेका कर्मचारीले मिलोमतोमा मोही संग विचौलियाको भूमि निर्वाह गरेको तथ्य विच, मोही नभएको महंगो जग्गामा कर्मचारी र जग्गा माफियाले थाहै नदिई मोही कायम गरेको खुलेको छ । नेपालगन्ज १८ बस्ने नाबालक शिव कुमार कुर्मी, सुरज कुमार बर्मा र ३५ वर्षिया विन्दु कुर्मीको नाममा संयुक्त दर्ता रहेको मनिकापुर ८ क साविक कित्ता नं. ९० बाट कायम कित्ता नं.३८६ र हाल कायम कित्ता नं.३९० को क्षेत्रफल २५६.२५ जग्गामा कर्मचारीले भवनियापुर ८ हाल नेपालगन्ज २४ बस्ने नारायण कुर्मीको नाममा मोही कायम गरेका छन् ।

 

मोही नै नभएको जग्गामा अचानक जोतभोग गरी बाली बुझाएको विषयमा नारायण कुर्मीले जग्गा बाँडफाँड गरी पाउँ भन्दै भूमि सुधार कार्यालयमा मुद्दा दायर भएपछि जग्गा विन्दु कुर्मी न्याय खोज्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशमा उत्प्रेषणयुक्त परमादेशको रिट दायर गरेकी हुन् । विन्दु कुर्मीले नक्कली मोही भनिएका नारायण कुर्मी, भूमि सुधार कार्यालय बाँके, कार्यालय प्रमुख, मालपोत कार्यालय बाँके, कार्यालय प्रमुख, नापी कार्यालय बाँके र कार्यालय प्रमुखलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।

 

राम नारायण कुर्मीले उल्लेखित कित्ता जग्गा मध्ये पुर्व तर्फबाट १२८.१२ वर्गमीटर जग्गा बाँडफाँड गरी पाउँ भनि भूमि सुधार कार्यालय बाँकेमा मुद्दा दायर गरेका थिए । राम नारायणले जोतगोड नै नगरेको र श्रेस्तामा मोहीको महलमा पनि राम नाराण कुर्मी वा निजको तीन पुस्ता भित्रको कुनै ब्यक्तिको नाम नभएको अवस्थामा पनि कर्मचारीले जग्गामा मोही कायम गरेका हुन् ।

 

मुद्दा हेर्दै आएका अधिवक्ता रामनाथ साहु भन्छन्, ‘जग्गा महंगो क्षेत्रमा रहेकोले मोहीको नाममा जग्गा कब्जा गर्ने र फाइदा लिने कार्यमा ठूलो संजाल सक्रिय छ ।’ मुद्दामा गाउँ सर्जमिन बुझ्ने आदेश भइ बाली बुझाएको नबुझाएको सम्बन्धमा समेत कुनै विवरण पेश नभएको जग्गाधनी विन्दु कुर्मीले बताइन् । ‘बाटो कुलोले छोएको छैन, खेती योग्य जग्गा हो’, विन्दुले दैनिक नेपालगन्ज संग भनिन्, ‘मोही र जग्गाधनी बीच जग्गा बाँडफाँड गर्दा माँग बमोजिम छुट्टयाई दिएमा फरक पर्ने छैन भनि केही ब्यक्तिहरुले सर्जमीन समेत गरेका छन् ।’

 

 

सो सर्जमिनको आधारमा कित्ता नं.३९० को २५६.२५ वर्गमीटर जग्गा मध्ये पुर्व तर्फबाट १२८.१२ वर्गमीटर मोही हिस्सा छुट्याई भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(घ) बमोजिम बाँडफाँड समेत हुने ठहर्छ भनि अषाढ ३० गते भूमि सुधार कार्यालय बाँकेले निर्णय गरेपछि विवाद बल्झिएको हो । जग्गाको विस्तृत विवरणमा साविक फिल्डबुक हेर्दा उक्त जग्गा बाँके मनिकापुर ८क कित्ता नं.९० को १८ कठ्ठा १५ धुर रहेको छ । कित्ता नं.९० को जग्गा कित्ताकाट हुँदा कित्ता नं.३८५ १५ कठ्ठा ८ धुर जग्गा नयाँ विमानस्थल आयोजना नेपालगन्जको नाममा र कित्ता नं.३८६ को ३ कठ्ठा ७ धुर जग्गा ससुरा जुगनु कुर्मीको नामबाट बिन्दु कुर्मी लगायतको नाममा श्रेस्ता कायम भएको थियो ।

 

 

जग्गा सर्भे नापी बमोजिम साविक कित्ता नं.९०, नयाँ नापीबाट कायम भएको कित्ता नं.९२ र केही जग्गा कित्ता नं.७९ समावेश भइ नापी भएको जग्गा हो विन्दु कुर्मीले भनिन्, नयाँ नापी बमोजिम हाल साविक भिडाई हाल साविक भिडे बमोजिम उक्त जग्गा मेरो नाउँमा कित्ता नं.३९० को २५६.२५ जग्गा कायम भइ दाखा दर्ता भएको हो । विवादित जग्गाको साविकको फिल्डबुक महलमा किसानको व्यहोरामा राम कुमारी कलवारीनको नाम लेखिएको छ र जग्गाधनीको महलमा लालदेई कुर्मीनीको नाम लेखिएको आधारबाट राम नारायण कुर्मी दावी कित्ता जग्गाको मोही नभएको पुष्टि भएको रिट निवेदनमा दावी गरिएको छ ।

 

नापी कार्यालय बाँकेको फिल्डबुक प्रमाण समेतबाट राम नारायण कुर्मी दावी कित्ता जग्गाको मोही नरहेको कुरा पुष्टि हुँदा हुँदै भूमि सुधार कार्यालयका कर्मचारीले नक्कली मोही संग मिलोमतो गरी जबरजस्ती निर्णय गरेको विन्दु कुर्मीको भनाइ छ । ‘कार्यालयले नियम प्रक्रिया नपुगेका ब्यक्तिहरुलाई मोही हक दिने कुरो हुँदैन’, बाँकेका भूमि सुधार अधिकारी प्रेम बहादुर दौल्यालले भने, ‘मोही प्रमाणित गर्ने काम मोहीको आफै हो ।’ उनले भने, ‘कुनै कारणवश मोही प्रमाण हराएको खण्डमा मोही होइन भन्ने पनि हुँदैन, सुरु नापी फिल्डबुक, भूमि सुधारको १ नं. लगत, २ नं. र १६ नं.मोही दर्ता किताबबाट पनि कुन ब्यक्ति मोही हो होइन भन्ने प्रमाणित गर्न सकिन्छ ।’

 

 

मोहीले पालन गर्ने दायित्व कर्तब्य निर्वाह गरेपछि आधा जग्गा पाउने कानूनी ब्यवस्था अनुरुप भूमि सुधार कार्यालय काम गर्दै आएको छ । ‘भूमि सुधार कार्यालयको निर्णय र आदेशमा चित्त नबुझे अदालतमा न्याय खोज्न सक्ने प्रावधान सुरक्षित हुन्छ’, दौल्यालले भने, ‘मोही प्रमाणित नभएको ब्यक्तिले जग्गा प्राप्त गर्ने विषय हुँदैन ।

प्रतिक्रिया

प्रतिक्रिया