नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आज बुधबार सकिंदैछ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाके शाखाले गत मंसिर २८ गतेदेखि नेपालगन्जमा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजना गरेको हो ।
‘यस खालको महोत्सव अब आयोजना हुन १० बर्ष लाग्न सक्छ’, आयोजनाको संरक्षक संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव नवनिधि पन्तले दैनिक नेपालगन्जसग भने, ‘बाकेको लागि यो ऐतिहासिक अवसर हो ।’ विश्वभरका महत्वपूर्ण पुस्तकहरु महोत्सव स्थलमा उपलब्ध भैरहेको जानकारी दिंदै पन्तले यस क्षेत्रका बासिन्दालाई अझैपनि फाइदा लिन आव्हान गर्दै भने, ‘बुधबार अन्तिम दिन पनि कयौं प्रकाशनहरुले सयौं पुस्तक विशेष सहुलियतका साथ उपलब्ध गराउदैछन् ।’ महोत्सवमा कम्तिमा ६ रुपैयादेखि ५ हजार बढी मूल्य सम्मका पुस्तकहरु १५ देखि ६० प्रतिशत छुटसम्ममा बिक्री भैरहेको जानकारी दिंदै प्रचार संयोजक बसन्त लामिछानेले यस बीच झण्डै ८० लाखको कारोबार भैसकेको जानकारी दिए ।
‘कति स्टेशनरी र कति पुस्तकमा कारोबार भयो भन्ने छुट्याउन बाकी छ’, प्रचार संयोजक लामिछानेले मंगलबार सा“झ
दैनिक नेपालगन्जसग भने, ‘एक लाख ६० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन् भने झण्डै ८० लाखको कारोबार स्टलहरु बाट भएको छ ।’ आयोजकले दुई लाख दर्शक महोत्सव स्थलमा भित्र्याउने र एक करोडको कारोबार लक्ष्यका साथ आयोजनाको घोषणा गरेको थियो ।
‘व्यवसायीहरु पछिल्ला दुई दिनबाट कारोबार प्रति सन्तुष्ट देखिनुभएको छ’, स्टल व्यवस्थापन संयोजक हेमराज पौडेलले तुलनात्मक रुपमा पछिल्ला दुई दिन पुस्तक बिक्री ह्वात्तै बढेको जानकारी दिंदै भने । ‘लक्ष्य प्राप्तिमा आयोजना उत्साहजनक ढंगले उपलब्धी नजिक छ’, महासंघका पूर्व अध्यक्ष नारायण ज्ञवालीले सबैको साथ, सहयोग र ऐक्यबद्धताले आयोजना सफल भएको प्रतिक्रिया दिए । ‘यो टिम स्प्रिटकै उपलब्धी हो’, पूर्व अध्यक्ष समेत रहेका पौडेलले भने ।
आयोजक मूल समितिका संयोजक, महासंघ शाखाका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले सबै दृष्टिले आयोजना सफल भएको बताए । ‘अब समापन समारोहलाई भव्य ढंगले आयोजना गरिदैछ’, आज बुधबार मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति उपेन्द्र कोइरालाको प्रमुख आतिथ्यतामा समापन समारोह गरिने जानकारी दिंदै अध्यक्ष अधिकारीले भने ।
सांस्कृतिक समितिका संयोजक मुकुट ढकालका अनुसार, आज समापन समारोहलाई पनि उत्तिकै भव्यता दिने आयोजकको योजना छ । त्यसका लागि हास्यव्यङ्ग्यको क्षेत्रमा कहलिएका पुर्खेबा (पुरुषोत्तम भण्डारी), गायिका प्रिया भण्डारी सहितको टोली नेपालगन्ज आइपुग्दैछ । ‘खुला एकल गायन प्रतियोगिता अन्तर्गतका प्रस्तुतिहरु पनि प्रस्तुत गरिंदैछ’, ढकालले दैनिक नेपालगन्जस“ग भने, ‘पुस्तक महोत्सव स्टार फाइनल प्रतिस्पर्धीहरुको हेर्न लायक प्रस्तुति रहनेछ ।’
गत मंसिर २८ गते उपराष्ट्रपति नन्द बहादुर पुनले महोत्सव शुभारम्भ गरे लगत्तै देखि दिनहु“जसो चर्चित राष्ट्रिय कलाकारहरुबाट महोत्सवमा सांगीतिक प्रस्तुतिहरु भैरहेका छन् । मंगलबार बहुचर्चित लोकगायक पशुपति शर्मा र बद्रि पंगेनीको प्रस्तुति दिनभरजसो रह्यो । ‘बद्रीले पुस्तक पढ्नुपर्ने कुरालाई फोकस गरेर सहभागीहरु लाई प्रेरित गरिरहे’, ढकालले सांस्कृतिक रुपमा पनि आयोजना उपलब्धीमूलक रहेको प्रतिक्रिया दिंदै भने, ‘हामी पूर्ण रुपमा सन्तुष्ट छौं ।’