भदौ २६, नेपालगन्ज
स्थानीय सरकारको योजनामा सामुदायिक विद्यालयको सृदृढिकरणलाई प्राथमिकता दिईने शिक्षा तथा स्थानीय निकायका प्रतिनिधिहरुले बताएका छन् । सोमबार नेपालगन्जमा आयोजना गरिएको स्थानीय निकाय र शिक्षा विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले शिक्षा स्थानीय निकायको प्रमुख प्राथमिकताको विषय रहेको पनि बताए ।
एक्सनएड नेपालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सार्वजनिक शिक्षालाई मजबुत पार्न गाउँपालिका अन्र्तगतको बजेटमा शिक्षाको बजेटमा विशेष ध्यान दिइएको बताए । ‘हामीले बनाएका बजेटमा शिक्षामा २० प्रतिशत सम्म बजेट तथा कार्यक्रमको योजना गरेका छौं ।’ अध्यक्ष कक्षपतिले भन्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नगर सभाको तयारीमा रहेको जानकारी दिँदै शिक्षालाई आगामी नगर योजनामा प्राथमिकता दिईने बताउनुभयो । ‘हामीले सबै वडाहरुसँग गरेको छलफलमा पनि शिक्षाको विषय प्राथमिकताको साथ उठेको छ’, उपप्रमुख थापामगरले भन्नुभयो, ‘हाम्रो जोड व्यवसायिक शिक्षाको प्रर्वद्धनमा रहेको छ ।’
बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर सावदले परिवतर्तित राज्यको संरचनामा शिक्षासम्बन्धि निकाय र स्थानीय सरकारबीचको तालमेल अझ महत्वपूर्ण रहेको बताउनुभयो ।
कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले नगर योजनाले पनि सार्वजनिक विद्यालयको सुदृढिकरणको लागि आवश्यक योजना बनाएको जानकारी दिनुभयो ।
सार्वजनिक विद्यालयका शिक्षकहरुले उचित सेवा सुविधाका बावजुत पनि शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पार्न नसकेको तर्फ लक्षित गर्दै पत्रकार कृष्ण अधिकारीले सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो बनाउन शिक्षक तथा शिक्षा कार्यालय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सोमबारदेखि सुरु भएको सामुदायिक विद्यालयमा शिक्षाको अधिकार प्रवद्र्धनका लागि गरिएका असल अभ्यासहरुको सिकाई आदान प्रदान कार्यशालाका अवसरमा आयोजना गरिएको अन्र्तक्रियाको सन्चालन पत्रकार झलक गैरेले सन्चालन गर्नुभएको थियो ।
यसैगरी एक्सनएड नेपालका पश्चिमान्चल श्रोत केन्द्र संयोजक सरोज पोख्रेलले जनताले कर तिर्ने र मतदान गरी स्थानीय निकायका प्रतिनिधि चयन गर्ने भएकाले स्थानीय निकायले सार्वजनिक शिक्षाको प्रर्वद्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नोराडसँगको साझेदारीमा एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा शिक्षक, बालक्लवका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागीता रहेको छ ।
कार्यशालामा पश्चिम नेपालका नवलपरासी, पाल्पा, बाँके, बर्दिया, कैलाली, डोटी तथा बाजुराबाट ७० जना भन्दा बढिको सहभागीता रहेको सम्मेलन भोली मंगलबारसम्म चल्नेछ ।