बाकेमा फोटो सहितको मतदाता नामावली विशेष दर्ता कार्यक्रमका क्रममा २० हजार बढी मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा २ लाख ४६ हजार १ सय ३ बालिग मतदाताको नामावली दर्ता रहेकोमा साउन १ गते यता बुधबार सम्म २० हजार ८ सय ७९ जना नया मतदाता थपिएका हुन् ।
‘मतदाताहरु थपिने क्रम उत्तिकै छ’, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्त राज अधिकारीले दैनिक नेपालगन्जसग भने, ‘बुधबार मात्रै २५औं दिन झण्डै १ हजार २ सय २६ जना मतदाता थपिएका छन् ।’
बुधबारसम्मको तथ्यांकमा १० हजार ५ सय ७ पुरुष र १० हजार ३ सय ६९ महिला मतदाता थपिएका छन् । थपिनेमा ३ जना तेस्रो लिङ्गी पनि रहेको क्षेत्रीय निर्वाचन अधिकारीले जानकारी दिए । यसअघि तेस्रो लिङ्गी १ जना मात्रै थिए भने १ लाख २६ हजार ५ पुरुष र १ लाख २० हजार ९७ महिला मतदाता थिए ।
बुधबार मात्रै कोहलपुरमा ३ सय ६९ र नेपालगन्जमा २ सय ७५ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । यस्तै, राप्तीसोनारीमा १ सय ३८, डुडुवा १ सय ३६, बैजनाथमा १ सय ३३ खजुरामा १ सय १६, नरैनापुरमा ३९ र जानकीमा २१ जनाले नाम दर्ता गराएको अधिकारीले जानकारी दिए । ‘पर्याप्त साधन, स्रोत र जनशक्ति परिचालन गरेका छौं’, अधिकारीले २५ दिनसम्मको परिणाम उत्साहजनक आएको जानकारी दिंदै भने ।