पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको ‘ज्ञान मिसेज नेपालगन्ज’को ताज सृष्टि शाहीले पहिरिन सफल भएकी छन् । शनिबार नेपालगन्जमा भएको ‘ग्राण्ड फिनाले’मा प्रतिस्पर्धीहरुलाई विभिन्न चरणमा पछि पार्दै सृष्टिले ताज पहिरिएकी हुन् ।

सृष्टिलाई कार्यक्रममा अतिथि निर्णायकको भूमिका निर्वाह गरेकी नेपाली चलचित्रकी वरिष्ठ नायिका करिश्मा मानन्धरले मिसेज नेपालगन्जको ताज पहिराएकी हुन् ।
सृष्टिले ५१ हजार नगद सहित ताज र विभिन्न गिफ्ट ह्याप्रहरु हासिल गरिन् । जी नेपाल टेलिभिजनले पहिलो पटक नेपालगन्जमा मिसेज नेपालगन्जको आयोजना गरेको हो । तिज विशेष सांस्कृतिक पहिरन प्रदर्शनीसँगै गरिएको मिसेज नेपालगन्जमा विभिन्न चरणका प्रतिस्पर्धाबाट छानिएका ११ जना प्रतियोगी आन्तरिक प्रशिक्षण पछि शनिबार आयोजित ग्राण्ड फिनालेमा सहभागी भएका थिए ।

नेपालगन्जका वरिष्ठ कलाकार सुन्दर गुरुङ्गको संयोजकत्वमा रहेको टोलीले प्रशिक्षित गरेको टोलीका सदस्य कलाकार वीरेन्द्र यादवले जानकारी दिए । प्रतियोगितामा सुजाता खरेल र प्रतिभा सिन्धी दोस्रो र निलम दहित तेस्रो स्थान प्राप्त गरे ।
वरिष्ठ कलाकार करिश्मा मानन्धर, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, मिस नेपालगन्ज सुमन थापा र खगेन्द्र नेपाल सहितको निर्णायक मण्डलले ११ प्रतिस्पर्धीबाट विजेताहरु घोषित गरेको आयोजक जी नेपाल एचडीका सञ्चालक आशिष गुप्ताले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै केएल दुगड समूहका महाप्रबन्धक प्रदिप छाजेड, भीएमआइ गु्रपका अध्यक्ष कन्हैयालाल वैद्य, वरिष्ठ चिकित्सक एम किदवाई, अञ्जलीमाता रसोई लगायतलाई सम्मान पनि गरिएको थियो ।