औषधी र उपचार सामग्रीको संकटले कर्णाली स्वास्थ्य सेवा प्रभावित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा औषधी तथा उपचारका लागि आवश्यक सामग्रीको अभाव भएपछि उपचारका लागि आएका बिरामीले थप सास्ती भोग्नुपरेको छ । अस्पतालमा आवश्यक औषधी तथा शल्यक्रियामा प्रयोग हुने सामग्रीको कमी भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

अस्पताल परिसर नजिक रहेका दुईवटा मेडिकलमा समेत चिकित्सकले सिफारिस गरेका औषधी उपलब्ध नभएपछि बिरामीहरू महँगो खर्च बेहोर्दै अन्य जिल्लाका अस्पताल धाउन बाध्य भएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीका लागि प्रतिष्ठान मुख्य स्वास्थ्य केन्द्रका रूपमा रहेको छ ।

आवश्यक शल्यक्रिया सामग्री अभाव भएपछि गुठीचौर गाउँपालिका–५ देपालागाउँकी माया नेपालीले एपेन्डिसाइटको शल्यक्रिया गराउन नेपालगन्जस्थित भेरी अस्पताल पुग्नुपरेको थियो । प्रतिष्ठानले अपरेसनका लागि आवश्यक सामग्री उपलब्ध नभएको जानकारी गराएपछि उनी उपचारका लागि बाहिर जान बाध्य भएकी हुन् ।

प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्वबहादुर शाहीका अनुसार अघिल्लो वर्ष खरिद गरिएका औषधी सकिनुका साथै चालु आर्थिक वर्षका लागि ठेक्का प्रक्रिया समयमै अघि बढ्न नसक्दा औषधी तथा अन्य स्वास्थ्य सामग्रीको अभाव सिर्जना भएको हो । उनका अनुसार झन्डै १६ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियाअन्तर्गत गरिएको कोटेसन रद्द भएपछि अस्पतालमा समस्या थप जटिल बनेको छ ।

प्रतिष्ठानले औषधी तथा स्वास्थ्य सामग्री खरिद गर्न मात्र होइन, अस्पतालमा कार्यरत कर्मचारीलाई नियमित पारिश्रमिक उपलब्ध गराउनसमेत कठिनाइ भइरहेको जनाएको छ । आवश्यक स्रोतसाधनको अभावले स्वास्थ्य सेवा प्रभावित बनेपछि दुर्गम क्षेत्रका बिरामी प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया