आगलागीपीडित परिवारलाई गाउँपालिकाको राहत

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाले अग्निपीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो ।

गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति राजेशकुमार झाका अनुसार प्रत्येक पीडित परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा किलो भुजिया, १ किलो चिनी, ५ किलो भुजा, १ लिटर खाने तेल, एक थान त्रिपाल, झुल, साडी, लुंगी, बेडसिट, बाल्टिन, मग तथा तरकारी मसाला वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल तथा सबल नेपालका कार्यकारी निर्देशक दीपक झाको सहभागिता रहेको थियो ।

शनिबार राति विद्युत् सर्ट सर्किटका कारण भएको आगलागीमा १० परिवारका १२ वटा घर जलेर नष्ट भएका थिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर, विद्युतीय सामग्री तथा नगदसमेत गरी करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीमा जागेश्वर यादव, विद्यानन्द यादव, सदानन्द यादव, रामअवतार यादव, जहरी देवी, राजकुमार यादव, जोगेन्द्र यादव, अनिल यादव, रनिया यादव र रमन यादवको घर तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया