कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले जबरजस्ती करणी, यौनजन्य हिंसा तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधमा संलग्न दोषीलाई कडा दण्ड–सजाय सुनिश्चित गर्न कानुनी संशोधन प्रक्रिया अघि बढाइएको बताएकी छन्।

मन्त्री गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कार तथा बलात्कारपछि हुने हत्या जस्ता गम्भीर अपराधमा पीडितलाई छिटो र प्रभावकारी न्याय दिलाउन विद्यमान कानुनमा रहेका अवरोधहरूको पहिचान गरिएको जानकारी दिएकी हुन्।
उनका अनुसार अपराध संहिता लगायतका कानुनमा आवश्यक सुधारका लागि गठन गरिएको अध्ययन कार्यदलले विस्तृत अध्ययनपछि आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। उक्त प्रतिवेदनका आधारमा कानुनमा रहेका कमजोरी र छिद्रहरू हटाई दोषीलाई कानुनी दायरामा ल्याउने तथा दण्ड सुनिश्चित गर्ने दिशामा सरकारले गृहकार्य गरिरहेको छ।
‘कार्यदलको प्रतिवेदनलाई आधार बनाएर संसद्को आगामी अधिवेशनमा संशोधन विधेयक पेस गरिनेछ,’ मन्त्री गौतमले उल्लेख गरेकी छन्।












