Monday, May 11, 2026
घर ब्लग पृष्ठ 1100

खुल्यो बागेश्वरीको बाकस, हेर्नुस् के–के भेटियो (तस्वीर र भिडियो)

दशकौं पुरानो भनिएको मालपोत कार्यालय बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिएको छ । खोलिएका दुई बाकस मध्ये एउटा रसिदका ठेली मात्र भेटिएको छ । भने अर्को चाँदीका केही गहना र सुनको तिलहरी भेटिएको छ ।

 

दशकौं पुरानो बाकस भएको दाबी गरिएपनि पहिलो बाकस भित्र भेटिएको रिचार्ज कार्ड र दोस्रो बासकमा एक पेय पदार्थ कम्पनीको कार्टुन र भेटिएका गहना नयाँ (टल्केका)ले धेरै पुरानो मान्न सक्ने अवस्था नरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् . अहिले बाकसमा भेटिएका गहनाहरुको गणना गरिंदैछ । यसअघि बाकसमा के र कति सम्पत्ति छ भन्ने कसैले पनि बताउन सकेका थिएनन् ।

के खजुरा सानो छ ?

हाम्रो खजुरा हाम्रो गौरव

खजुरा बाँके जिल्लाको निश्चित भौगोलिक क्षेत्र हो । जुन नेपालगन्जबाट पश्चिम र बर्दियाबाट पूर्व बाँके जिल्लाको दक्षिण पश्चिमी क्षेत्रमा पर्दछ । साविकको राधापुर, सीतापुर, वागेश्वरी, उढरापुर, रनियापुर र सोनपुर गाउँ विकास समिति नै ‘कोर खजुरा क्षेत्र’ हो । जुन अहिले खजुरा गाउँपालिकाभित्र समेटिएको छ । तर ‘कोर खजुरा क्षेत्र’ मात्रै खजुरा होइन । खजुरा क्षेत्र विशाल छ । हाल बाँकेको संसदीय क्षेत्र नम्बर ४, २ वटा प्रदेश क्षेत्र र जानकी, खजुरा र वैजनाथ गाउँपालिका क्षेत्र बृहत् खजुरा क्षेत्र हो । नौवस्ता, चिसापानीदेखि सैनिकसम्मको क्षेत्र, खजुराखुर्ददेखि मानखोलासम्मको क्षेत्र खजुरा क्षेत्र हो ।

 

के यत्तिमात्र हो त खजुरा क्षेत्र । हुँदै होइन । खजुरा एक बृहत् अवधारणा हो । जहाँ ४ वर्ण ३६ जातको फूलवारी छ । सयौं थुंगा फूलमा उनिएको एउटै माला छ । पहाडी, मधेशी, हिन्दु, मुस्लिम, इसाई, शिख लगायत सबै धर्म, समुदाय, क्षेत्र, वर्ग, टोपी, धोती अनेकतामा एकता छ । खजुरा क्षेत्रमा शहरीकरण शुरु भएकै छ । मध्यपश्चिम क्षेत्रमै चर्चित विद्यालय यही छन् । निकै राम्रा शिक्षकहरु खजुरा क्षेत्रले उत्पादन गरेको छ । कृषि प्रधान मुलुकका कृषि अनुसन्धान, तालिमका निकाय यही छन् । अस्पताल यहीं छन् । प्रहरीका गुल्म यही छन् । होटलहरु धमाधम खुल्दै छन् । वारपार कैयौं सडक यहीँ छन् ।

 

बाँके र वर्दिया सदरमुकाम जोड्ने सडक खजुराकै बीचैबीच छ । खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ७ सय बढी परिवारलाई खानेपानी सेवा पुर्याएको छ । कैयौं बैंक तथा बित्तीय संस्था सञ्चालनमा छन् । शेरबहादुर देउवा सरकारले नगरपालिका घोषणा गरे पनि कार्यान्वयनमा आउन पाएन । तर खजुरा क्षेत्र नगरपालिका घोषणा नभए पनि नेपालका कैयौं नगरपालिकाहरु भन्दा माथि छ । त्यसैले नगरपालिका घोषणा होस् नहोस् खजुरा क्षेत्र सानो छैन ।

खजुरा क्षेत्र बाँके जिल्लाकै प्रमुख अन्न भण्डार हो । यस क्षेत्र खेतीपातीका लागिमात्र होइन व्यापारिक दृष्टिको अन्न भण्डार पनि हो । निकै पूरानो कुरा गर्ने हो भने वर्दियाको राजापुर पछिको यस क्षेत्रको ठूलो गल्लामण्डी खजुरा नै हो । पूरानो गणेश हिमालदेखि हालका विभिन्न ठूला चामल मिल, दाल मिल र तोरी मिल पनि खजुरा क्षेत्रका परिचय हुन । गल्ला व्यापारी नै यस क्षेत्रको ठूलाठालु रहँदै आएका छन् । अहिले यसको हिंगमा केही कमी आएको छ तै पनि हिंग बाँधेको टालो खजुरासंगै छ । केही सुस्तता आँदैमा यस क्षेत्रमा खजुरा क्षेत्र सानो भयो । अहँ म मान्नै सक्दिन । खजुरा सानो छँदैछैन ।

 

कृषि उत्पादनमा पनि खजुरा क्षेत्र उर्बर छ । तरकारी फलाउनेदेखि अन्न उब्जाउने, पशुपालन गर्ने मेहनतीहरुका कारण बाँके जिल्लामा निकै ठूलो योगदान पुगेको छ । पदम राना, गेहेन्द्रप्रसाद धिताल, मोहन रिजाल, रक्षाराम कुर्मी लगायतका कैयौं परिश्रमी किसानहरुकै कारण बाँके जिल्लाको कृषि उत्पादन वृद्धिमा मद्धत पुगेको छ ।
बाँकेको खेलकूद जग नै खजुरा क्षेत्र हो । कैयौं वर्षदेखि नेपालगञ्जको फूटबलका खेलाडी हुन वा प्रशिक्षक खजुरा क्षेत्रकै बोलवाला छ । भलिवलको अवस्था त्यस्तै छ । महिला क्रिकेटमा पनि खजुरा क्षेत्रको योगदान कम छैन । पुराना पुस्ताका अजितकुमार शर्मा, गोवर्धनसिंह सम्झनादेखि श्याम थापा (हुइया) लेखबहादुर क्षेत्री, दिपेन्द्रप्रताप सिंह र सुनिलसिंह हमाल यसबारे बढी जान्दछन् । तीनपाते यूवा क्लब, न्यू डाँफे स्पोर्टस् क्लव, सैनिक क्लबदेखि सीतापुर युनाइटेडसम्मले विभिन्न कालखण्डमा यसलाई जीवन्त राख्दै आएका छन् । त्यसैले म भन्छु खजुरा क्षेत्र सानो छैन ।

 

 

बाँके जिल्लाको गीत÷संगीत र कलाकारिताको क्षेत्रमा खजुरा क्षेत्रको योगदान सायदै कसैले भूल्न सक्छ । कम्युनिष्टका रक्तिम, जनसाँस्कृतिक होस्, काँग्रेसको साँस्कृतिक संघ वा व्यवसायिक गीत÷संगीत र कलाकारिता बाँके जिल्लाको मूल नै खजुरा क्षेत्र हो । नरेन्द्रजंग पिटर, कन्हैयाँ सिंह, अञ्जना गुरुङ्ग, अर्जुन बिसी, शंकर बिसी, मानबहादुर भण्डारी, सुन्दर गुरुङ्ग, स्वर्गीयहरु यसबारे धेरै भन्न सक्दछन् । स्वर्गीय रबि फूँयाललगायतका कैयौं कलाकर्मी सधैं हाम्रा सम्झनामा रहनेछन् ।

 

खजुरा क्षेत्र लाहुरेहरुको पनि क्षेत्र हो । भूपूहरु सीमा रक्षा गर्ने र वर्तमानहरु देश सेवामा लाग्ने खजुराको बस्ती विकासदेखिको परम्परा आज पर्यन्त जारी छ । यति ठूलो महत्व बोकेकाहरुको बासस्थल कसरी सानो हुन सक्छ । त्यसैले खजुरा सानो छैन ।

 

साहित्यमा पनि खजुरा क्षेत्र उर्बर भूमि हो । इन्द्रबहादुर भण्डारी, मणिरत्न अर्याल, इद्रिस सायल,लेक प्याकूरेललगायत कैयौं खजुरा क्षेत्रका साहित्यिक नक्षत्रका रुपमा छन् । त्यसैले म भन्छु खजुरा क्षेत्र सानो छैन । आजको नेपालगञ्जको पत्रकारितामा खजुरा क्षेत्रका कैयौं हस्ताक्षरहरु संलग्न छन् ।

 

कैयौं डाक्टर, इन्जीनियर खजुरा क्षेत्रले उत्पादन गरेको छ । राजनीतिमा खजुरा क्षेत्रको योगदानको विषयमा गत साता हामीले यही स्तमभमा चर्चा गरेकै हौं । त्यसैले खजुरा विस्तृत र ब्यापक छ । के खजुरा सानो छ ?

मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा भने, प्रदेश ५ लाई भौतिक पूर्वाधार अभाव

दैनिक नेपालगन्ज

भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र कर्मचारी समायोजनमा पनि ढिलाइले प्रदेश सरकारको काम प्रभावित भएको हो ।

 

प्रदेशसभाबाट विश्वासको मत लिएको भोलिपल्ट सोमबार मुख्यमन्त्री शंकर पोखरेलले पत्रकार सम्मेलन गरी बुटवलमा प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार अभाव रहेको स्पष्ट पारे । उनले जिल्ला सदरमुकाम र क्षेत्रीय सदरमुकाम रहेका स्थानमा अस्थायी केन्द्र तोकिएका ठाउँमा भौतिक पूर्वाधारको समस्या नरहेको तर बुटवलमा दुवै नभएकाले यहाँ सरकारी भवनको पूर्वाधारको अभाव देखिएको बताए ।

 

 

मुख्यमन्त्री पोखरेलले बुटवलको बसपार्कमा राखिएको सामाजिक विकास मन्त्रालय, हाटबजार नजिकै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यातायात व्यवस्था कार्यालय परिसरमा रहेको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि अझै पनि उपयुक्त नभएकाले विकल्पको खोजी गरी सार्न ठाउँ खोजी भइरहेको छ । उनले प्रदेश सरकारले सकेसम्म बुटवल क्षेत्रभित्रै सरकारी भवनको खोजीमा रहेको बताउँदै विकल्पमा मणिग्राममा रहेको राममणि क्याम्पसको भवनलगायतलाई राखिएको बताए ।

 

प्रदेशको स्थायी राजधानीका विषयमा मुख्यमन्त्री पोखरेलले स्थायी राजधानीबारे चर्चा हुनु स्वभाविक भए पनि यसको अन्तिम निर्णय प्रदेशसभाले गर्ने भएकाले उचित समयमा सबैको सहमतिका आधारमा विधि र प्रक्रियाबाटै हल गरिने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विकास र समृद्धिको मुख्य आधार कृषिका साथै दीर्घकालीन आधार पर्यटन भएको बताए । उनले यिनै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट बनाउने बताए । मुख्यमन्त्री पोखरेलले विकासमा सत्ता पक्ष र प्रतिपक्षमा विभाजित नहुन सबैसँग आग्रह समेत गरे ।

कोहलपुर पस्दै भारतीय रेल !


गोण्डा देखि रुपईडिहा सम्म विद्युतीय रेल विस्तार हुँदै


दैनिक नेपालगन्ज
पछिल्लो ५ वर्ष देखि आन्तरिक चर्चामा रहँदै आएको रुपईडिहा कोहलपुर रेल्वे विस्तार योजना अहिले विस्तारै उत्कर्षमा पुग्न थालेको छ । सरकारले सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि फाइनल लोकेसन सर्भे टोली गठन गरी छलफल अघि बढाएको छ । २० जुलाई २०१७ मा सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरिएको छ ।

 

गत साता मंगलवार मात्र छलफलमा बसेका दुबै देशका सरकारी अधिकारी पुनः बैठक बसी रेल विस्तार योजना बारे छलफल अघि बढाउने तयारी गरिरहेका छन् । ‘सोमवार बैठक बस्ने भनिएपनि भारतीय अधिकारीहरु आइनपुगेका कारण बैठक भएन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने, ‘रुपईडिहा देखि नेपालगन्ज हुँदै कोहलपुर लगेर पूर्व पश्चिम रेल्वै लाइनमा जोड्ने भारतीय योजना रहेको छ ।’

 

जिल्ला प्रशासनको तर्फबाट प्रशासकीय अधिकृत गणेश बहादुर शाहीले भारतीय अधिकारीहरु संग छलफल र योजना विस्तारमा सहयोगी भूमिका निर्वाह गर्न खटिएका छन् । भारतीय पक्षले उत्तर प्रदेशको गोण्डा जक्सन देखि रुपईडिहा सम्म इलेक्ट्रिक रेल लाइन विस्तार गरिरहेको छ ।

 

गोण्डा देखि बहराईच सम्मको लाइन विस्तार कार्य अन्तिम चरणमा रहेको र आगामी एक वर्ष भित्र रुपईडिहाबाट विद्युतीय लाइन (ब्रोड गेज) विस्तार भइ सेवा सुरुवात हुने भारतीय अधिकारीहरुले बताएका छन् ।
नेपालको लाइन विस्तार योजना अर्थात पूर्व पश्चिम रेल्वे संग भारतले सम्पर्क जोड्न चाहेको बुझिएको प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘कोहलपुर लगेर पूर्व मेची देखि पश्चिम महाकाली सम्मको रेललाइनमा रुपईडिहाको कनेक्सन राख्न खोजिएको हो ।’

 

 

मंसिर महिनामा पूर्व पश्चिम रेल्वे विस्तारका लागि सर्भेको काम भइसकेको बताउँदै प्रजिअ केसीले भने, ‘उक्त लाइनमा नै भारतीय रुचि रहेको देखियो ।’ सोमवार आउने भनिएका भारतीय रेल्वे अधिकारीहरु नआएका कारण थप छलफल हुन सकेको छैन । महेन्द्र राजमार्गको ४।५ किलोमिटर छेउमै पर्ने गरि दक्षिण तर्फ रेल्वे लाइन विस्तारको लागि सर्भे भएको छ । नेपाल रेल्वे विभागका कर्मचारी र इन्जिनियर सम्मिलित एउटा टोलीले पूर्व पश्चिम क्षेत्रमा विस्तार गरिने रेल्वे लाइनको पूरै सर्भे गरेको छ ।

 

‘यद्यपि ठेक्का र निर्माण भारतीय लगानीमा हुने भनिएको छ’, नेपाली अधिकारीहरु भन्छन्, ‘हुलाकी राजमार्गको टुंगो नलागेको स्थितिमा रेल्वे भारतीय पक्षले निर्माण गर्ने विषय त्यति प्रभावकारी मान्न सकिँदैन ।’ उत्तर प्रदेश भारतीय रेल विभागका प्रमुख सिनियर इन्जिनियर बीके सिंह सहितको टोलीले नेपालका तर्फबाट सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्याय संग छलफल गरी कोहलपुर सम्म रेल्वे लाइन विस्तार गर्ने तयारी बारे सुनाएको थियो ।

 

रुपईडिहा देखि गोण्डा सम्म ११० किलोमिटर सुचारु रहेको रेल्वे लाइन कोहलपुर संग जोडिएपछि १८ किलोमिटर थप हुनेछ । सिमावर्ती क्षेत्रबाट भारतको ठूला रेल्वे लाइन संग जोड्ने सम्पर्क लाइनको रुपमा पनि रुपईडिहा गोण्डा लाइनलाई लिइएको छ ।

कालिकाले थाल्यो काम, सम्झौता म्याद अगावै सडक हस्तान्तरणको लक्ष्य

दैनिक नेपालगन्ज

नेपालगन्ज उपमहानरपालिका संग सम्झौता गरि निर्माण सुरु भएको नेपालगन्जको भित्री सडक र नाली सम्झौता समयावधि भन्दा अगावै पूरा गर्ने कालिका कन्स्ट्रक्सन प्रालिका महानिर्देशक युवराज क्षेत्रीले बताएका छन् ।
३० महिना भित्र निर्माण कार्य पूरा गरि हस्तान्तरण गर्नु पर्ने सम्झौतामा काम सुरु गरेको निर्माण कम्पनीले कुनै प्राविधिक कारण, बन्द हड्ताल लगायत नभए सम्झौताको म्याद भन्दा अगावै पूरा गर्ने जनाएको हो ।

 

‘हामी समयावधि भित्र मात्रै हैन, अलिक पहिलै पूरा गर्ने लक्ष्यका साथ अघि बढेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै महानिर्देशक क्षेत्रीले भने, ‘उपमहानगरपालिकाले विकास निर्माणमा निरन्तर सकारात्मक चासो राख्दै आएको बताए ।’ एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले सहरी विकास आयोजना, परियोजना कार्यान्वयन इकाइ अन्तर्गत सडक तथा नाला निर्माणको काम सुरु भएको हो ।

 

एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ लागतमा ३० महिना भित्र निर्माण पूरा गरिसक्नु पर्ने गरी सम्झौता भएको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले बताएका छन् । ‘७ सय मिटरदेखि ३ हजार मिटरसम्मका ४१ वटा सडकहरु निर्माण हुँदैछ’, इन्जिनियर महर्जनले दैनिक नेपालगन्ज संग भने, ‘कुल ३६ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको हो ।’

 

 

अब बन्ने सडकहरु ६ मिटर देखि १६ मिटर सम्मको चौडा हुने महर्जनले जानकारी दिए । सडकका दुवैतर्फ ढल तथा नाला समेत निर्माण हुनेछन् । सडकको चौडाई अनुसार नाला बनाउने उपमहानगरपालिकाले जनाएको छ ।
‘उपमहानगरपालिका भित्र ४० किलोमिटर नाला बनाउने गरि काम भइरहेको इन्जिनियर महर्जनले बताए ।

 

 

उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिका कन्सट्रक्सन प्रालिको तर्फवाट महानिर्देशक युवराज क्षेत्रीबीच सडक तथा नाला निर्माणका लागि गत शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
यसअघि राँझा–कोहलपुर सडक खण्ड निर्माण गरेको कालिकाले निर्धारित समय अगावै काम सकेकाले अब पनि समयमै काम हुनेमा उपमहानगरपालिका विश्वस्त देखिन्छ । अहिले एमपी स्कूल रोडमा कालो पत्रे काम सुरु भएको छ ।
मालपोत कार्यालय देखि बुलबुलिया सम्म, अशोक मार्ग, समशानघाट रोडमा बाटो सम्याउने काम सुरु भैसकेको छ । परियोजनामा अन्तर्गत सदरलाइनको बाटो पनि रहेको छ ।

 

 

परियोजना अन्तर्गत तत्कालीन वडा नं. १६ को विपीचोक पथ ९ मिटर, चारवाहिनीदेखि नगरभवन सम्म १५ मिटर, रंगशालादेखि अस्पतालसम्मको रोड १५ मिटर, अशोक मार्ग १० मिटर, रानीतलाउ देखि त्रिभुवनचोकसम्म १० देखि १६ मिटरसम्म, शितल नगर रोड ८ मिटर, श्रृष्टि सिनेमा हल रोड ६ मिटर, कस्तुरीमार्गदेखि भेरी प्राविधिक शिक्षालयसम्मको रोड ८ मिटरको निर्माण योजना छ ।

 

 

आइएनएफ मार्ग १० मिटर, समशानघाटदेखि रानीतलाउसम्म १० मिटर, भेरी अञ्चल अस्पतालदेखि रामलिला मैदानसम्मको बाटो १० मिटर, तत्कालीन वडा नं. १ को वाटर पार्क रोड ८ मिटर, घरबारीटोल देखि नागरिक चोकसम्म ८ मिटर, तत्कालीन वडा नं. २ र ३ घरबारीटोलदेखि त्रिवेणीमोडसम्मको बाटो १० मिटर बन्न लागेको हो ।

नगर प्रमुख माथि गोली प्रहार, अवस्था गम्भीर, ३ जनालाई पक्राउ

कैलाली घोडाघोडी नगरपालिकाका प्रमुखमाथि गोली प्रहार भएको हो

दैनिक नेपालगन्ज

कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले खुकुरीले आक्रमण गरी गोली गरेको प्रहरीले जनाएको छ । ‘गम्भीर अवस्थाका चौधरीलाई कैलाली प्रहरीले उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पठाएको छ’, घाइतेलाई भेट्न अस्पताल पुगेका संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जका प्रमुख एसएसपी महेश विक्रम शाहले भने ।

 

नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले सोमबार साँझ खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि कोहलपुर ल्याइएको हो । चौधरीको खुट्टा र कम्मरमा गोली लागेको छ । टाउकोमा खुकुरी प्रहार गरिएको चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन प्रहरीलाई दबाब दिएको आरोप उनीमाथि थियो । नगर प्रमुख चौधरीले उक्त आरोपको प्रतिवाद गर्दै आएका थिए । गोली प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बाँके भूमिसुधार अधिकारीलाई कारवाही गर्ने अदालतको चेतावनी

दैनिक नेपालगन्ज

जग्गामाफिया संगको मिलोमतोमा भूमिसुधार कर्मचारीले नक्कली मोही सम्म बनाउन थालेपछि अदालत र भमिसुधार कार्यालय बीच खिचातानी बढेको छ । एउटा मुद्दा संग सम्बन्धित मिसिल नपठाएर न्याय सम्पादन प्रक्रियामा दखल दिएको अभियोग लागेको भूमि सुधार कार्यालय बाँकेलाई उच्च अदालत तुल्सीपुर नेपागन्ज इजलास सात दिनको म्याद दिएको छ ।

 
७ दिन भित्र मिसिल नपठाए कानून बमोजिम भूमि सुधार अधिकारी समेतलाई कारवाही हुने अदालतले भनेको छ । न्याय सम्पादनमा आवश्यक परेको एउटा मुद्दाको सक्कल मिसिल पठाउन आदेश गरेको दश महिना सम्म पनि मिसिल फेला नपरेको र फेला परेका बखत पठाई दिने भनी गैरजिम्मेवारी पूर्ण जवाफ पठाएपछि अदालत आक्रोशित भएको हो ।

 
एउटा पत्राचार गरि अदालतले भूमि सुधार कार्यालयको व्यवहारले न्याय सम्पादन प्रक्रियामा हस्तक्षेप गरेको बारे ध्यानाकर्षण गराएको छ । न्यायाधीश शारङ्गा सुवेदी र गणेश प्रसाद बरालको संयुक्त इजालासले आफनै अड्डामा सुरक्षित रहनु पर्ने मिसिल प्रमाण सम्बन्धमा अनुत्तरदायी जवाफ प्राप्त हुन आएको भन्दै कारवाही हुन सक्ने आदेश गरेको हो ।
अदालत समक्ष कारवाहीयुक्त अवस्थामा रहेको मुद्दामा सो प्रमाण मिसिल प्राप्त नहुदा न्याय सम्पादनमा अवरोध पुग्न गएको र त्यस्तो अनिश्चित गैर जिम्मेवारीपूर्ण जवाफ पठाउनु अत्यन्त्र अशोभनिय समेत भई न्यायिक कार्यमा बाधा पुग्न गएकोले मिसिल जिम्मा लिने सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाही गरि अदालतलाई जानकारी दिन मालपोत कार्यालय बाँकेको नाममा अदालतले आदेश गरेको हो ।

 
अदालतको आदेशमा अगाडी भनिएको छ, उपरोक्त मिसिल वा निर्णय पुस्तिका जुन अवस्थामा छ सात दिन भित्र यस अदालतमा प्राप्त हुने गरि पठाउनु अन्यथा मुलुकि ऐन अदालती बस्दोवस्तको २१९ नं क तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही हुने भनिएको छ ।

 
मेहन्दी हसन जोलाहा पुनरावेदक र मोहम्मद मोहसिम भन्ने सद्धिक हलवाई बिपक्षी भएको मोही नामसारी मुद्धामा उच्च अदालतले मिति २०७४ साल जेष्ठ २३ गते भुमि सुधार कार्यालयका नाममा मुद्दासंग सम्बन्धित मिसिल कागजात झिकाउने आदेश गरेको थियो ।

 
आदेश भएको लामो समय सम्म भुमिसुधार कार्यालयले अदालतको आदेशको अटेरी गरि बसे पछि अदालतले पुनः २०७४ पौष २० गते ताकेता पत्र लेख्दै पत्र प्राप्त भएको मितिले ७ दिन भित्र भुमि सुधार कार्यालयमा रहेको मुद्दाको सक्कल मिसिल अदालतमा पठाउन पत्राचार गरेको थियो ।

 
अदालतको पत्र पछि पनि २०७३ माघ ३ गते भुमिसुधार कार्यालयले मिसिल खोज तलास गर्दा हालसम्म फेला नपरेको खोजी कार्य जारी रहेको हुँदा फेला परेका बखत मिसिल पठाइने भनी अदालतलाई जवाफ फर्काएको थियो ।
पटक पटक पत्राचारमा भूमिसुधार कार्यालयले विपक्षी संग मिलोमतो गरि फाइल अदालतमा नपठाएपछि अदालतले भूमिसुधार अधिकारी र सम्बन्धित कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन आदेश दिएको हो ।

खुल्दै बागेश्वरी मन्दिरको बाकसको ‘राज’

देबेन्द्र राज पौडेल/दैनिक नेपालगन्ज

बागेश्वरी मन्दिरको जिन्सी राखिएको भनिएको बाकसको रहस्य बुधवार बाहिर आउने भएको छ ।
बागेश्वरी मन्दिरमा स्थापित रहेको मूर्तिको सुनचाँदीका गहना एकत्र गरी राखिएको भनिएको बाकस भित्र के छ, यो निकै रहस्यको विषय बन्दै गएको थियो । बाँकेको मालपोत कार्यालय राखिएको बाकसमा भएको सम्पत्ती सार्वजनिक गर्न विभिन्न पक्षबाट पहल थालिएपछि पर्सि बुधवार उक्त बाकस खुल्ने तय भएको हो ।

 

बागेश्वरी मन्दिरको सम्पत्ति रहेको दावी गरिएको उक्त बाकसमा केहि छ वा छैन भन्ने विषयमा सरकारी अधिकारीहरु प्रष्ट छैनन् । ३० बर्ष अघि मन्दिरको सुनचाँदी र नगद लगायतका सम्पत्ति राखिएको फलामका २ वटा बाकसहरु मापपोत कार्यालयमा अलपत्र अवस्थामा रहेको छ ।

 

अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, बल बहादुर चन्द, बसन्त गौतम र कौशल कुमार बर्माले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई भेटेर वागेश्वरी मन्दिरको दुई वटा सन्दुक (तिजोरी) को संरक्षण गर्न माग गरेका थिए ।

 

पञ्चायत कालमा अञ्चलाधीशको कार्यालय हुन्थ्यो । त्यस बेला सबै सरकारी कार्यालयहरुको आर्थिक र जिन्सी क्रियाकलाप हेर्नका लागि माल अड्डा (अहिलेको मालपोत कार्यालय) थियो । त्यस बेला उच्च सुरक्षाको बीच संचालन हुने कार्यालय २०४८ पछि विस्तारै सेवाप्रदायक कार्यालयको रुपमा परिचित र विस्तारित हुँदै गयो । त्यसपछि पनि बाकस उक्त कार्यालय भित्रै असुरक्षित अवस्थामा रहेको छ ।

 

तीन वटा ताला रहेको ठूलो बाकस आशंका कै घेरामा छ, त्यसमा भएको सम्पत्ति नगदी जिन्सी छ वा गायब छ भन्ने विषयमा बाकस नखुल्दा सम्म भन्न सक्ने अवस्था छैन । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, मन्दिर ब्यवस्थापन समिति, गुठि संस्थान र पुरातत्व विभागका प्रतिनिधिको रोहबरमा बाकस खोलिने तय भएको छ ।
‘बुधवार विहान ९ बजे बाकस खोल्ने तय भएको छ’, आइतवार बसेको बैठकमा सहभागी अधिवक्ता बल बहादुर चन्दले भने, ‘बाकसबाट प्राप्त हुने सम्पत्तीलाई सरकारी स्वामित्व रहेको बैंकमा दाखिला गर्ने निर्णय समेत भएको छ ।’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल समशेर राणाको अध्यक्षतामा भएको बैठकले बाकस खोल्ने निर्णय गरेको अधिवक्ता चन्दले बताए ।

मुख्यमन्त्रीलाई दुई तिहाई


‘प्रदेशलाई पहिलो बनाउन चुनौति’


पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले संसदमा दुई तिहाई मत पाएका छन् । आइतबार प्रदेश सभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई सुविधाजनक दुई तिहाई पाएका हुन् ।

 

गत फागुन ३ गते शपथ लिएका मुख्यमन्त्री पोखरेलले २४ दिनपछि संसदमा विश्वासको मत मागेका हुन् । उनले संसद संख्याको तीन चौथाई मत पाएका छन् । संसदमा उपस्थित ८४ सांसदमध्ये उनलाई ६६ जना सांसदले मत विभाजनबाट पक्षमा मत दिएका थिए । काँग्रेसका १८ जना सांसदमात्रै उनको विपक्षमा मत दिएका छन् ।

 

मुख्यमन्त्रीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । माओवादी केन्द्रका सांसद तिलकराम शर्माले समर्थन गरेका थिए । मुख्यमन्त्रीको समर्थनमा एमालेका सरस्वती गौतम, माओवादीका सर्बजित थारु, संघीय समाजवादी फोरमका सहसराम यादव, राष्ट्रिय जनमोर्चाका तारा जिसीले समर्थन सहित शुभाकामना दिएका थिए । काँग्रेसका बैजनाथ जयसवालले जनअपेक्षा अनुरुप काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले मानव सुचकांकका दृष्टिले चौथो स्थानमा रहेको प्रदेशलाई पहिलो स्थानमा ल्याउने चुनौति रहेको बताएका छन् । पर्यटकीय क्षेत्रका प्रचुर सम्भावना रहेकाले त्यसको समुचित प्रयोग गरेर नमुना प्रदेश बनाइने उनले बताए । प्रदेशमा रहेको ३० प्रतिशत गरिबीलाई हटाउँदै सक्षम प्रदेश बनाउने जिम्मेवारी रहेको भन्दै समग्र क्षेत्रको समुचित विकास आवश्यक रहेको बताए ।

 

मानव सुचकांकमा पछि परेका रोल्पा, रुकुम, प्युठान लगायतका जिल्लाको आर्थिक अवस्था सुधार्नेदेखि साक्षर प्रदेश निर्माणको चुनौतिलाई सहज रुपमा अवतरण गर्ने दायित्व प्रदेश सरकारलाई रहेको उनले बताए । प्रदेशको समृद्धिको यात्रा सुरु भएको भन्दै लक्ष्य प्राप्ति नहँुदासम्म रफ्तार नरोकीने मुख्यमन्त्री पोखरेलले बताए । अस्थायी मुकाममा पूर्वाधार व्यवस्थापन नहुँदा सरकारले काम सुरु गर्न नसकेको भन्दै स्थायी पूर्वाधार निर्माण नहुञ्जेल वैकल्पिक व्यवस्थापनमा सघाउन सबै पक्षलाई उनले आग्रह गरे ।

गोरखालाई रनिङ्ग शिल्ड

दैनिक नेपालगन्ज

 

गोरखा यूनाइटेड पब्लिक स्कुलले प्रथम अन्तरमावि मेयर कप रनिङ्ग शिल्ड उपाधि हात पारेको छ । कोहलपुर नगरपालिकाको आयोजना भएको रनिङ्ग शिल्डमा धेरै प्रतियोगितामा उत्कृष्ट हुँदै गोरखाले उपाधि हात पारेको हो । विजेता गोरखाले ५१ हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्यो ।

 
त्यस्तै गरी ज्ञानज्योति मावि चप्परगौडी दोश्रो स्थानमा आएको छ । ज्ञानज्योतिले ट्रफी र ३१ हजार नगद पुरस्कार प्राप्त गरेको छ । तृतीय भएको जनज्योति पब्लिक माविले नगद २१ हजारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगिताको एथलेटिक्स छात्र तर्फ गोरखा यूनाइटेड पब्लिक स्कुलका हार्दिक राना र छात्रा तर्फ नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का उत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै भलिबल छात्र तर्फ ब्राइटलाइट एकेडेमीका दिपेन्द्र गिरी र छात्रा तर्फ ज्ञानज्योति मावि चप्परगौडिकी सामिना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै प्रतियोगितामा अनुसाशन तर्फ लक्ष्मी मावि बद्वहवा र मार्च पासमा कृष्ण मावि कौशिलानगर उत्कृष्ट भएका छन् ।

 
भलिबल छात्र तर्फ ब्राइटलाइट एकेडेमी प्रथम, कृष्ण मावि कौशिलानगर द्वितीय र जनज्योति पब्लिक मावि तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानज्योति मावि चप्परगौडी प्रथम, साईनिङ्ग स्टार मावि द्वितीयर डाइनामिक मावि तृतीय भएका छन् । साथै १५ सय मिटर दौडको छात्र तर्फ जनज्योति पब्लिक माविका सुवास बराल प्रथम, पञ्चमुखी माविका रबिन बम द्वितीय र ज्ञानज्योति मावि चप्परगौडिका अजय बुढाथोकी तृतीय भएका छन् भने छात्रा तर्फ गोरर्खा यूनाईटेड स्कुलकी बिर्सना कुमाल प्रथम, त्रिभुनव माविकी पार्वती खड्का द्वितीय र साईनिङ्ग स्टार माविकी रुपा थापा तृतीय भएकी छिन् ।

 
लङजम्प तर्फको खेलमा छात्र तर्फ ज्ञानज्योति मावि चप्परगौडीका सुरेन्द्र चौधरी प्रथम, जनज्योति पब्लिक माविका विनोद केसी द्वितीय र लक्ष्मी मावि बर्दहवाका सत्रुहन थारु तृतीय भएको छ । त्यस्तै छात्रा तर्फ साईनिङ्ग स्टारकी ज्योति थापा प्रथम, नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का द्वितीय र पञ्चमुखी ई.मि.की विजया कुँवर तृतीय भएकी छिन् ।

 
बिजेता तथा उप बिजेता विद्यालयका छात्रछात्राहरुलाई आयोजक कोहलुर नगरपालिकाका मेयर लुट बहादुर रावत, उपमेयर सञ्जु कुमारी चौधरी, बाँके प्रमुख जिल्ला अधिकारी रेशमक केसी लगायतले रनिङ्ग शिल्ड, ट्रफी, पदक प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

 

 

प्रतियोगितामा कोहलपुर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय गरी ३४ वटा विद्यालयहरुको सहभागिता जनाएका थिए । प्रतियोगिताको समापन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगितालाई प्राथमिकता दिने बताए ।