Tuesday, May 12, 2026
घर ब्लग पृष्ठ 1101

स्प्रिङडेलमा अभिभावक भेला

दैनिक नेपालगन्ज

कारकाँदो स्थित श्री स्प्रिङ्गडेल एकेडेमीले शनिबार दोस्रो अभिभावक भेलाको आयोजना गरेको छ । विद्यालयका संचालक अध्यक्ष विनोद प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक कमल राज ढकालले गरेका थिए ।
कार्यक्रममा विद्यालय संग सम्वन्धित कार्यविधि, शिक्षण विधि मल्टिमिडियाको अवधारणा, वहुआयामिक र वहु भाषिक सिपमुलक र व्यवहारिक शिक्षण पद्धति तथा अभिभावकका विभिन्न जिज्ञासाहरुको बारेमा विद्यालयका प्राचार्य शरद चन्द्र रावलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा व्यवस्थापन समिति सदस्य ऋचा लुईटेल, अभिभावक नवराज भट्ट, वन्दना श्रेष्ठ, राजकुमारी श्रेष्ठ, वज्जीर सींह विष्ट, ईन्द्र बहादुर बडुवाल, सुनिता बोहोरा नन्दा खरेल, असोक कुमार वर्मा, मनकुमारी के.सी लगायतले बोलेका थिए । भेलाले शैक्षिक शुल्क यथावत रहने गरी अनुमोदन गरेको छ । नेपालका स्विमिङ कोच तथा यस विद्यालयका खेल प्रशिक्षक चन्द्रराम चौधरीलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन शिक्षक यसपाल पौडेलले गरेका थिए ।

मेरो थाइल्याण्ड यात्रा

सागर गैरे

भारत बाहेकका देशलाई विदेश मान्ने हो भने थाइल्याण्ड यात्रा मेरो निम्ति दोस्रो भ्रमण हुने क्रममा थियो । अघिल्लो वर्षको इण्डोनेशिया यात्रामा संगालेका दृश्य र अनुभूतिहरुले अझै सम्म पनि रोमान्चित बनाउन छाडेका थिएनन् । आहा ति धानका हरिया र पहेंलपुर खेतहरु अनि लोभलाग्दो विराट निलो समुन्द्र र मन्दिर प्रेमी बालीबासीहरु ।

 

तर यसपटक परिस्थिति पोहोर साल भन्दा धेरै अर्थमा भिन्न र प्रतिकुल थियो । अस्ति मात्र आमाको मुटुको अप्रेशन भएको अवस्था एकातिर थियो भने एकै पटक हामी पाँच मध्ये तीन भाई एकै पटक विदेश भ्रमणमा निस्कंदा त्यसले हाम्रो व्यवसायमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता पनि थियो । हिजो विहान मर्निङ्ग वाक गर्दै गर्दा साहिलो भाई जयरामले काठमाडौ बाट फोन गरेर अप्रेशनको १८ घन्टा बित्दा पनि आमाको होस् नआएको जानकारी दिंदा मलाई पाइतला मुनिको जमिन भाँसिए जस्तै भएको थियो । मलाई जसरी पनि थाइल्याण्ड लैजाने विकास जी को अडान र दबाबको अगाडि म निरुन्तर प्रतिक्रिया विहीन भइरहेको थिए । सधै विदेश नलगेको भनेर कचकच गरी रहने व्यक्ति म आफै पासपोर्टमा भीसा लागि सकेपछि भने अन्यौल र दोधारमा परेको थिएँ ।

 

अन्ततः मैले निर्णय लिए काठमाडौंसम्म जाने र आमाको स्वास्थ्य स्थिति बुझेर मात्र अघिल्लो कदम बारे सोच्ने । तीनवटा भाईहरु पहिलेदेखि नै आमासंग काठमाडौमा थिए । माघ १ गतेको दिनमा जहाज उडला नउडला भन्ने अन्यौल बीच यति एयर लायन्सको अन्तिम उडानमा विकासजी संगै म नेपालगन्जबाट काठमाडौं पुगें । एयरपोर्टबाट सिधै म बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्र पुगे । चुडामणिभाई मलाई हस्पिटलको गेटमै पर्खिएर बसेको थियो । मलाई देखेपछि भाईहरुको मुहारमा बेग्लै चमक देखियो । विगत १०/१२ दिन देखि घर छोडेर हस्पिटलको दौडधुप र बसाईले उनीहरुलाई पट्यार लाग्नु स्वभाविक थियो ।

 

ठूलो हलमा थुप्रै बिरामीहरुको बिचमा मैले आमालाई परैबाट चिने । मलाई देखेपछि आमाको मुहारमा मधुर मुस्कान देखियो । आमाको स्वास्थ्य तिव्र गतिमा सामान्य अवस्था तर्फ फर्किइरहेकोे आफैले देखेपछि र डाक्टरहरुले समेत सकारात्मक र सफल शल्यक्रिया भएको भनेर मलाई आश्वस्त पारेपछि बल्ल थाइल्याण्ड जान म मानसिक रुपले तयार हुन पुगे । काठमाडौ पुगेको दोस्रो दिन हामीले प्रभु बैंकबाट अमेरीकी डलर सटही गर्यौ । विकास पौडेलजीको नेतृत्वमा रहेको हाम्रो भ्रमण टोलीमा विभिन्न उमेर, स्वभाव र अनुहारका ३५ सदस्यहरु थियौं । कतिपय सदस्यहरुले त पहिलो पटक एक अर्कालाई देखेका थिए । थाइल्याण्ड भ्रमण मेरो लागि पहिलो भएपनि धेरैको निम्ती भने नौलो थिएन ।
झण्डै साढे चार सय जना यात्रु बोक्ने बडेमानको हवाई जहाजमा चढ्दै गर्दा मेरो सिट झ्यालमा त्यो पनि उत्तरका हिमालहरु देख्न मिल्ने गरी परे हुन्थ्यो भन्ने कामना र चाहनाले सुरुमै हावा खान पुग्यो । जहाज उडेको केही बेरपछि भने मैले साथीहरुसंग तारतम्य मिलाएर आफुलाई हिमाल हेर्न मिल्ने गरी उत्तरको भ्mयाल तिर सीट मिलाउन सफल भए ।

 

 

थाइल्याण्ड जानु पूर्व यस देश प्रतिका मेरा आफ्नै खाले आग्रह र धारणाहरु थिए । राजतन्त्रले बेला बेलामा हस्तक्षेप गरिरहने अस्थिर राजनीति र प्रजातन्त्र रहेको देश थाइल्याण्डको अर्थतन्त्रको मूल आधार भनेको राज्यकै प्रोत्साहन र संरक्षणमा हुने त्यहाँको खुल्ला यौन व्यवसाय नै हो भन्ने मेरो सामान्य बुझाई थियो । केही समय पहिले अदालतको कारवाहीबाट बच्न त्यहाँकी पूर्व प्रधानमन्त्री भागेर दुबइको शरणमा पुगेको समाचार नेपालको पत्र पत्रिकामा महत्वका साथ छापिएका पनि थिए । मेरो अनुमान र कल्पनामा जे जस्तो तस्विर भएपनि केही घन्टामा म थाइल्याण्डको अन्तराष्ट्रिय विमान स्थलमा उत्रिदै थिए जसको नाम थियो ‘स्वर्ण भूमी’ । ९५% भन्दा धेरै बुद्ध धर्मावलम्बीहरुको देश जहाँका मानिसहरुको शरीर र मुहारको बनावट पुरै मंगोलियन थियो त्यो देशको विमानस्थलको नाम शुद्ध संस्कृतमा हुनु म आफैलाई अचम्म लागी रहेको थियो । अघिल्लो वर्ष इण्डोनेशिया भ्रमणमा बाली टापुमा देखेका मन्दिर मूर्तिहरुले पनि मलाई यसरी नै आश्चर्य चकित बनाएका थिए । जबकी मैले पढे अनुसार सबै भन्दा बढी धेरै इस्लाम धर्मावलम्बी भएको देश थियो इण्डोनेशिया ।

 

 

थाई अन्तर्राष्ट्रिय एयरपोर्टबाट हामीलाई एसी बसमा राखेर दुई घण्टाको यात्रा पछि सिधै पटाया सहर पुगाइयो । हाम्री गाइड रहिछन थाई महिला जीजी । उनले हामीलाई सडकमा कुनै पनि चिज विज नफ्यान, सडक पार गर्दा सचेत हुन्, आफ्नो सामानको सुरक्षा आफै गर्न कडा व्हिप जारी गरिन् । हामी आज्ञाकारी विद्यार्थीले झै उनको पछिपछि होमा हो मिलाउँदै र टाउको हल्लाउँदै लुरुलुरु हिड्न सुरु गर्यौं ।

 

 

पटायाको होटल विभर्ली प्लाजा पुग्दा रात छिप्पी सकेको थियो । यो होटलको भवन मलाई खासै ठूलो लागेन सायद बाटोमा यस भन्दा ठुला अरु भवनहरु देखेको कारणले पनि हुन सक्छ । साझँको खाना खाएपछि हामी आ–आफ्नो कोठा तर्फ लाग्यौ । हाम्रो समुहमा हामी एकाघरका तीन भाई (म, जयराम र कृष्ण) बाहेक तिन घरुवाका विकास पौडेल, कोहलपुर कै जीवन धिताल, मदनचौकका चन्द्र भण्डारी र सम्झना चोकका आचार्य दम्पत्ती हुनुहुन्थ्यो । नेपालमा खासगरी बाँके बर्दिया लगायतका तराइका जिल्लाहरु हुस्सुको सिरक भित्र छोपिएको पुसको महिनामा पटायाको तापक्रम ३४ डिग्री सेल्सीयस मात्र थिएन यहाँ टन्टलापुरे घाम समेत लागिरहेको थियो । निलो समुन्द्रमा अनगीन्ती डुगां, बोट र स्टीमरहरु कुदिरहेका थिए । अघिल्लो वर्षमा बालीमा पहिलो पटक समुन्द्र देख्दा म जति उमङ्गले छचल्किएको थिए यसपटक समुन्द्रले त्यो अनुभूति गराएन । यो वर्षको भ्रमणमा स्वंयमलाई ढाढस दिंदै जीवनमा पहिलो पटक प्यारासेलीङ गरीयो । अथवा बेलुनमा तुर्लुङ्ग झुन्डिएर निलो समुन्द्र माथिको आकाशमा उडियो । जुन मेरो निम्ती जीवनको पहिलो र फरक रोमान्चक अनुभूति थियो ।

 

 

कोरल आइल्याण्डमा मानिसहरुको ठुलो भिंड थियो । काला, गोरा र गहँुगोरा वर्णका मान्छेहरु त्यहाँ देखिन्थे । यस्तो लाग्थ्यो विश्व भरका सबै जाति र प्रजाति का मानिसहरु त्यहि थिए । युरोपियन तथा अमेरीकन महिलाहरु भित्री वस्त्रहरुमा निर्धक्क समुन्द्रमा नुहाँउदै र तातो बालुवामा उत्तानो पल्टिएर घामको मज्जा लिइरहेका देखिन्थे । युरोपियन र अमेरीकी नारी जति खुल्न नसकेपनि चिनियाँ नारीहरु भारतीय महिलाहरुले झै आफ्नो कुर्ता र जीन्स पाइन्ट मै नुहाई रहेका भने देखिदैनथे । भुगोल र संस्कृतिले पनि कति फरक पार्दो रहेछ मानिसको सोचलाई भन्ने ज्वलन्त नमुना यहाँ आएर नजिक बाट बुझ्दै थिएं । समुन्द्रमा नुहाउने क्रममा मैले आफ्नो मोबाइल कहाँ खसाले पत्तै भएन । तस्बिर खिच्न भनेपछि हुरुक्कै हुने म परदेशमा आएर आफ्नो मोबाइल गुमाउन पुगेको थिए । मोबाइल संगै कैयौं वर्षदेखि संगालेका टेलिफोन नम्बरहरु र तस्वीरहरु पनि गुम्न पुगेका थिए । समुन्द्रबाट फर्किइरहँदा नचाहेरै पनि पनि मोबाइलको धेरै याद आइरहेको थियो ।

 

 

पटायाको मीनी सोयाम निकै सुन्दर ठाउँ थियो । लण्डन व्रीज, सीडनीको ओपेरा हाउस, न्यूर्कका स्ट्याचु अफ लिबर्टी, इजीप्टका पिरामिड, ब्राजीलको जीससको मुर्ती, ग्रीसको लिनिङ्ग टावर जस्ता विश्व चर्चित संरचनाका प्रतिरुपहरु हेर्न पाउदा तिनै ठाउँहरुमा पुगेको जस्तो अनुभूति भयो । एउटै पार्कमा एउटै कलाकृतिहरु एकै पटक देख्न पाउनु ऐतिहासिक अवसर थियो । आफ्नो मनले चाहे जस्ता तस्विर खिच्न मैले कुनै कसर बाँकी छाडिन । आफ्नो मोबाइल हराएता पनि वाइफाई टिप्ने ठाउँहरुबाट आफुलाई मन परेका तस्विरहरु सप्रसंग फेसबुकमा बेलाबेलामा अपडेट गरिरहे । साथीहरुले अघिल्लो वर्ष इण्डोनेशिया घुम्दा मैले लेखेका स्टाटसहरु पढेर आफुहरु स्वयंले पनि यात्रा गरे जस्तै अनुभूति गरेको कुरा मैले बिर्सिएको थिइन । त्यसैले आइसपार्कमा माइनस १४ डिग्रीको तापक्रममा घुम्दाका क्षण हुन वा पटायाका अग्ला घरहरुको दृष्य हुन मैले फेसबुक बाटै आफ्ना दौतरीहरुलाई म संग संगै यात्रा गराइरहे ।

 

 

पटायाको वाकिङ्ग स्ट्रीटलाई म सायदै कहिल्यै बिर्सुला । त्यो निलो समुन्द्र, फराकिलो फुटपाथ, किनारामा लहरै हुर्किएका नरिवलका एकनासका वृक्षहरु, सडक पारीका होटेल र रेष्टुरेन्टहरु, बार र पब सेन्टरहरु । वार्किङ्ग स्ट्रीटमा यातायात साधन प्रवेश वर्जीत रहेछ । साँझ नपर्दै हजारौं युवतीहरु रेलिङ्ग, नरिवल वृक्ष वा बिजुलीका पोलमा अडेस लागेर अनेक हाउभाउ र श्रृंगार सहित ग्राहकहरुको पर्खाइमा बसेको कुरा पत्याउने गाह्रो लाग्थ्यो । पब र बारहरु ग्राहक ले खचाखच भरिएका थिएँ । गायक गायिकहरु गीत गाउनमा मस्त देखिन्थे । सडकमा, घुम्ती र ठेलामा माछा, भ्यागुता, संखे किरा जस्ता समुंद्री जीव देखि फलफूल बेच्नेहरुको त्यहाँ भिड देखिन्थ्यो ।

 

स्ट्रीट लाइट र रङ्गगी बिरङ्गगी बत्तिमा नुहाएको सडक मा हिडीरहेका देश देशावर का मानिसहरुको भीड देख्दा विश्व भरको जात्रा लागि रहेको छ कि जस्तो भान हुन्थ्यो । युवतीहरुका शरीरमा नाम मात्रका वस्त्र थिए । हिड्दा एक अर्का संग ठोक्किइने भिड । अनेक खाले म्याजिक शोहरु, पसल अगाडि सोकेसमा सजाइएका जीवित युवतीहरु, अनेक हाउभाउमा ठाँटिएर आफ्नो पसल तर्फ ध्यानाकृष्ट गर्नमा तल्लीन थिए । आखाँ झिमिक्क सम्म नगरी विचित्र का दृष्यहरु हेर्दा मैले मोतीराम भट्टले लेखेको कान्तीपुरी नगरी गजललाई सम्झिए । पाँच मिनेटमा हुबहु अनुहार पेन्टिङ्गमा उतार्ने चित्रकार, भ्वाइलिन बजाउँदै सडकमा गीत गाइरहेका युवा गायक, चटक देखाइ रहेका चटकेहरु, टर्किश आइसक्रीम वाला, शिशाको पहिरन लगाएको त्यो रोबोट म्यान मेरो निम्ती जीवनभर नर्बिसने स्मृतिको रुपमा रहिरहनेछन् । संकोच मान्दै रसीयन कलाकारहरुको शो हेरे पनि नेपालमा थाइल्याण्डको बारेमा सुनेका अरु धेरै शो हेर्ने जाँगर मैले जुटाउन सकिन । थाइल्याण्डका हरेक सडक किनारमा छयापछयाप्ती मसाज सेन्टर भेटिन्छन् । स्वास्थ्यको दृष्टिकोणबाट पनि परम्परागत थाई मसाज विश्वभरी चर्चित मानिंदो रहेछ । हजारौँ थाई महिलाहरुले मसाज पार्लर मा रोजगारी पाउनुले पनि यसको लोकप्रियता स्पष्ट हुन्थ्यो ।

 

अम्बा, भुईकटहर, लिची, आँप लगायत मैले नदेखेका र नाम नसुनेका फलफूलहरु पनि यसपटक सेवन गर्ने अवसर पाइयो । बालीमा झै धान रोप्दै र काट्दै गरेका, आँप फुल्दै र पाक्दै गरेका दृष्यले हामी सबैलाई लोभ्यायो । सडकहरु सफा र फराकिला देखिन्थे । उद्योग कलकारखानाहरु, सवारी साधन हरुको भिड, गगनचुम्बी भवनहरुले थाइल्याण्डको समृद्धिको बर्णन गरिरहेका थिए । यो त्यही थाइल्याण्ड थियो जतिबेला नेपालले सजिलै हवाइ सेवाको अन्तराष्ट्रिय अनुमती पाउँदा यसले भने अनेक झमेलाहरु बेहोरेको थियो भनिन्छ । आज हामीसंग दुईवटा विमान नहुँदा थाई एयरवेजका १०० बढी विमानहरु छन् भन्ने कुरा सुन्दा कुन नेपालीको चित्त नकुंडिएला र ?

 

 

विश्वभरका मानिसहरु यौन पर्यटन कै सील सीलामा थाइल्याण्ड जाँदा रहेछन र हिजो आज त पटाया उत्रने नेपालीहरुको संख्याको ग्राफ पनि निरन्तर उकालीदो क्रममा रहेको छ । तिन दिनको पटाया बसाई पछि हामी बैँकक फर्केर थप दुई रात बस्यौ । बैंककको चकाचौध पटायाको भन्दा कता हो कता बढी छ । हरेक घरहरु बीच आकाश छुने प्रतिस्पर्धा छ । सहरैभरी हरीयाली, सफा सडकहरु र चिल्ला गाडीहरु गुडिरहेका छन् । त्यसको ठिक माथिको फुटपाथमा यात्रुहरु पैदल हिडेका छन र त्यो भन्दा माथि विद्युतीय रेल कुदेको छ । प्रमुख सरकारी कार्यालय, व्यापारीक भवनमा राजाका ठूला ठूला तस्बिरहरु राखीएका छन । जनतामा राजा प्रति अगाध स्नेह भएको देखिन्थ्यो । मसाज सेन्टर र यौन व्यवसाय पटायाको भन्दा बैंककमा पनि कम थिएन । बैंककका मल, डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्टमा नेपाली भाषी युवा युवती देख्दा म सुरुमा अचम्मित भए । बुझदै जाँदा उनीहरु नेपाली मूलका वर्मेली नागरिक रहेछन् । फरासिला, हँसिला, मिहिनेती र इमान्दार भएकै कारण थाई विजनेस म्यानहरुले यीनलाई काममा राख्दा रहेछन् । थाइल्याण्डमा यीनीहरुको संख्या सयमा होइन, हजारमा पनि होइन, लाखौंको संख्यामा छ भन्ने जानकारी पाउँदा म तिन छक्क परे । नेपालीहरु नपुगेको ठाउँ विश्वको कुनै पनि ठाउँमा छैन रहेछ भन्ने कुराको कल्पना मात्रैले पनि म निकै रोमान्चित भए ।

 

 

आखाँले हेरेरै नसकिने, पैदल हिडेर छिमल्न नसकिने डिपार्टमेन्टल स्टोरहरु जहाँका ८०% बढी सामानहरु चिनबाट आयातीत हुँदा रहेछन् । गोल्डेन टेम्पलको अलौकिक सौन्दर्यतामा निकै रमीयो । बालीमा झै साँझको डिनर खाने अवसर पाइयो बैंककमा तर यहाँको भिड भने ब्याख्या गरी नसक्नुको थियो । बालीमा क्रुज चढ्दा घाम ढल्किसकेको थिएन तर बैंककमा भने रात छिप्पिदै थियो । क्रुज जहाजहरु झिलीमिली बत्तिमा समुन्द्र माथि तैरिरहेका थिए । क्रुजमा डिनर गरिसकेपछि हामी सबै जना नेपाली गीतमा मज्जाले नाच्यौ । हाम्रो उत्साह र नृत्य देखेर कतिपय भारतीय नागरीकहरु अचम्म मान्दै हामीलाई नियाली रहेका थिए । रातको अध्याँरोमा गोल्डेन टेम्पल सुन खानीमा घाम टल्किए झै टल्किई रहेको थियो ।

 

 

बैँककको व्यस्त सडकमा रहेको ३५ तले ओमीनो टावर होटेलमा हामिलाई बस्ने प्रबन्ध मिलाइएको थियो । माथिल्लो तल्लाहरु सम्मै पार्किङ सुविधा, स्वीमीङ्ग पूल, ६,७ वटा लिफ्ट, अनि गार्डेनहरु, एउटा कोठा सिगैँ फ्ल्याट जस्तो । अन्तराष्ट्रिय स्तरको सेवा सुविधाहरु । थाइल्याण्डमा बिताएका पाँच दिनहरु पाँच पल जत्तिकै छोटा लागि रहेका थिए । हामीलाई विदेश यात्राको यो सुनौलो अवसर तिरुपति बालाजी पेन्टस् उद्योगले प्रदान गरेको थियो । जीवनकालमा दोस्रो विदेश यात्राको रुपमा थाइल्याण्ड घुम्ने मौका पाएको थिए । दक्षिण पूर्वी एशियाको प्रमुख व्यापारीक केन्द्र थाइल्याण्डलाई यी पाँच दिनमा नजिकबाट छुन, महसुस गर्न, चिन्न र अनुभूति गर्न पाउनु म स्वयंका लागि ऐतिहासिक अवसर थियो ।

 

 

थाई एयरपोर्टले मलाई जीवनमा पहिलो पटक पाठ सिकायो कि चेक जाँच भनेको कस्तो हुदो रहेछ र एउटा सामान्य गल्तीको मुल्य कति सम्म चुकाउनु पर्ने हुन सक्दो रहेछ । जुत्ता समेत खोलेर जाँच्ने त्यहाँको सुरक्षा व्यवस्था त्यसमाथि मैले डलर राखेको कम्मरमा भिर्ने झोला साटिन पुग्नु र मैले समातेको विकास जीको मोबाइल समेत केही क्षण गुमाउँदा पछिको मानसिक तनाव । थाई एयरपोर्टमा तैनाथ सुरक्षाकर्मीदेखि त्यहाँ प्रयोगमा ल्याइएका प्रविधिहरुको स्तर कुनै पनि कोणबाट हाम्रो देशको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलसंग तुलना गर्न लायक थिएन । कुनै बेला नेपाल र थाइल्याण्डले संग संगै अन्तराष्ट्रिय विमान उडानको अनुमति लिन सम्बन्धित निकायमा निवेदन दिँदा नेपालले जहाँ सजिलै स्वस्कृति पाएको तर थाइल्याण्डलाई तिम्रो देशमा पर्यटक आउने आधार के छ भनेर सोधिएको थियो र भन्ने अपुष्ट किंवदन्ती सुनेको हुँदा मेरो लागि ‘स्वर्ण भूमी’ को भव्यता आफैमा कुनै सपना भन्दा कम थिएन ।

भार्गव विकास बैंकको शाखा राप्तीसोनारीको अगैया बजारमा

स्थानीय तहमा पुग्दै बैंक

स्थानीय तहको संरचनासँगै बैंक तथा वित्तीय संस्था पनि गाउँपालिकाका केन्द्रमा पुग्न थालेका छन् ।
त्यसक्रममा भार्गव विकास बैंक लि. ले बुधवार राप्ती सोनारी गाउँपालिकाको केन्द्र वडा नंं. २ स्थित अगैयाबजारमा सञ्चालनमा ल्याएको छ ।

आफ्नो १६ औं शाखा स्थापना गरि विधिवत रुपमा बुधवारदेखि कारोबार शुरु गरेको भार्गवको शाखा औपचारिक कार्यक्रमबीच प्रदेशसभा सदस्य कृष्णा के.सी. (नमूना) र नेपाल राष्ट्र बैंक नेपालगन्जका कामु निर्देशक शेलेन्द्र रेग्मी संयुक्तरुपमा उद्घाटन गरेका हुन् । ‘ब्यापक जनचाहना एवं स्थानीय ब्यापारी, व्यावसायी तथा बुद्घिजिवीहरुको बित्तीय आबश्यकता र सुरक्षालाई ध्यानमा राप्तीसोनारी गाउँपालिकाका लागि शाखा सञ्चालनमा ल्याइएको हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले भने ।

 

‘गाउँ गाउँसम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्ने लक्ष्य सहित यस क्षेत्रका ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै सेवा प्रवाह गर्दै जानेछौें,’ जोशीले भने । जोशीका अनुसार, बैंकले चालु आ.व.को माघ महिना सम्ममा रु २ अर्ब ६० करोड माथि निक्षेप संकलन तथा रु २ अर्ब १५ करोड कर्जा लगानी गर्न सफल भएको छ । सोहि अवधि सम्ममा बाँके, दाङ्ग र बर्दियाका ग्रामीण क्षेत्र समेतका गरि करिव ४५ हजार ग्राहकहरुलाई सेवा पुर्याउन सफल भएको उनले जानकारी दिए ।

 

बैंकका पूर्व सञ्चालक श्री रेशम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अगैयाबजार र आसपासका ग्रामिण क्षेत्रका स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो । राप्ती सोनारी पुग्ने बैंक तथा वित्तीय संस्थामा भार्गव विकास बैंक लि. पहिलो भएको छ ।

प्रहरी धरापमा ‘असुली गिरोह’

दैनिक नेपालगन्ज

नेपालगन्ज चन्दा आतंक मच्चाउन सक्रिय एउटा समूहलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको उच्च स्तरीय विशेष टोलीले उनीहरुलाई नेपालगन्जकै विभिन्न ठाउँबाट पक्राउ गरी बिहिवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकका अनुसार, ५ नं. प्रदेश प्रहरी ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र जिप्रका बाँकेबाट परिचालित संयुक्त टोलीले बुधबार राती उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
‘दुई सातादेखि उनीहरु नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न उद्योगी, व्यवसायीहरुलाई फोन कल र एसएमएस मार्फत ठूलो रकम माग गरिरहेका थिए’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङले पत्रकारहरुसँग भने, ‘गिरोह बारे गम्भीर अनुसन्धान भैरहेको छ ।’

 

प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको तथ्य दिंदै प्रहरीले उक्त गिरोहबाट विभिन्न संकेतका रुपमा असुलीका लागि चेतावनी जाने गरेको बताएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुर समेतको सहयोगमा गरिएको अनुसन्धानबाट दाङमा समेत असुली गिरोहको पहुँच देखिएको छ । उक्त गिरोहले एक करोड २० लाख रुपैयाँ सम्मको रकम माग गरेको खुलेको छ । प्रहरीका अनुसार, विभिन्न संकेत मार्फत गरिने उनीहरुको डिमाण्डमा १८ लाखदेखि २५ लाखसम्म र कतिपयसँग १ करोड २० लाख सम्म माग गरेका छन् । ‘गत माघ महिनादेखि नै फोनद्वारा धम्की दिई ठूलो मात्रामा रकम माग गर्ने योजना चलिरहेको रहेछ’, पक्राउ पत्ररेका विजय विक्रम शाह र रमेश प्रसाद अधिकारीबारे टिप्पणी गर्दै प्रहरी उपरीक्षक तामाङले भने ।

 

प्रहरीले विभिन्न ६ जनालाई पक्राउ गरेको विवरण दिएको छ । पत्रकार माझ मुख्य तीन जनालाई प्रस्तुत गरेको बाँके प्रहरीले उनीहरुसँग एनसेल र नमस्तेका १२ वटा छुट्टाछुट्टै सीम बरामद गरेको छ । पक्राउ पर्नेमा सुर्खेत लेखगाउँ–१का विजय विक्रम शाह, नेपालगन्ज–४ का केशराज भण्डारी, चितवन भरतपुर–६ का विष्णु तिमिल्सिना, कुशल श्रेष्ठ, नेपालगन्ज–६ का राजु भन्ने असफाक सिद्दिकी र नेपालगन्ज–१२का रमेश प्रसाद अधिकारी छन् । भण्डारी राप्तीसोनारी–५ का स्थायी बासिन्दा हुन् ।

 

‘शाहले चितवन पुगेर सामाजिक सञ्जाल मार्फत विष्णु र कुशललाई अपराधलाई अञ्जाम दिन कोहलपुर ल्याएको खुलेको छ’, प्रारम्भिक अनुसन्धानबारे जानकारी दिंदै प्रहरी उपरीक्षक तामाङले भने, ‘उनीहरुले पीडितहरुसँग ठूलो रकम माग गरेको र नदिइएमा घर, परिवारसम्मलाई जिउ, ज्यान मार्ने दिने गरेका थिए ।’

 

संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कानुनी कारवाही अगाडि बढाएर अनुसन्धान थालिएका उनीहरुको राजनीतिक पृष्ठभूमि भने नभेटिएको प्रहरी दाबी छ । दैनिक नेपालगन्जले बुधबार मात्रै सहरमा चन्दा आतंक फैलिएको बारेमा खोजमूलक समाचार प्रकाशमा ल्याएको थियो । समाचारमा दुई वटा छुट्टा–छुट्टै समूह चन्दा आतंकमा संलग्न भएको तथ्य उजागर गरिएपछि प्रहरी सक्रियताले अझ तिव्रता पाएको हो । ‘हामी एक सातादेखि अनुसन्धानमा सक्रिय थियौं’, प्रहरी उपरीक्षक तामाङले भने, ‘अपराधीहरुलाई राजनीतिक संरक्षण भएको पाइएको छैन ।’ तामाङले संगठित अपराधमा लागेका युवाहरु राजनीतिक नभई व्यक्तिगत ढंगले समूह बनाएर अपराध अञ्जाम दिन लागिपरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

 

नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टीका नाममा चन्दा आतंक फैलाइएको समाचार आएपछि उक्त पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेपछि पनि अनुसन्धानमा प्रहरीले सहजता अनुभूत गरेको थियो । अखिल क्रान्तिकारीले आफ्नो महाधिवेशनका लागि ‘स्वेच्छिक सहयोग’ मात्र लिइएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो । बाँके प्रशासनले राजनीतिक रुपमा पनि जबर्जस्ती चन्दा असुलीलाई रोक्न कानुनी कारवाही अगाडि बढाउने चेतावनी दिएको छ । ‘प्रहरीले अवैध असुली गर्नेहरुलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्ज सँग भने, ‘जनमानसमा त्रास फैलाउने, जबर्जस्ती असुली गर्ने, चन्दा आतंक मच्चाउने जुनसुकै पृष्ठभूमिका व्यक्तिलाई राज्यले छुट दिंदैन ।’

 

बाँके प्रहरीले सिद्दिकी बाहेक अन्यको अपराधिक पृष्ठभूमि भने अभिलेखमा नभेटिएको बताएको छ ।

[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2018/03/Nepalgunj-Dainik-1-page-25-falgun-2074.pdf”] [gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2018/03/Nepalgunj-Dainik-2-page-25-falgun-2074.pdf”] [gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2018/03/Nepalgunj-Dainik-3-page-25-falgun-2074.pdf”] [gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2018/03/Nepalgunj-Dainik-4-page-25-falgun-2074.pdf”]

अन्तराष्ट्रिय महिला दिवस मनाइयो

१ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्ज प्रभातफेरिको आयोजना गरिएको छ । गणेशमानचोक देखि सुरु भएर भन्सार कार्यालय पुगेर समापन भएको थियो । महिला तथा बालबालिका कार्यालयको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा प्रभातफेरि आयोजना गरिएको हो ।

(सबै तस्वीर : विशाल रानामगर/नेपालगन्जन्यूज)

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “विभिन्न खालका कूरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु ।”

सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उल्लेख छ ।

त्यसैगरी स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला राख्ने प्रावधान महिला सशक्तीकरणका लागि महत्वपूर्ण फड्को भएको र राष्ट्रपतिजस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका सीमित मुलुकको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको सन्देशमा उल्लेख छ ।

नेपालको संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

महिला हकअधिकारप्राप्तिका लागि संविधान, विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले ती सन्धिसम्झौताको पालनमा सरकार गम्भीर रहेको सन्देशमा उल्लेख छ ।

सम्बन्ध बिच्छेद कानुनी रुपमा मात्र, सामाजिक रुपमा हुन्न

सुरेन्द्र दिप कार्की

‘लोग्ने स्वास्नी को झगडा पराल को आगो’ फेसबुक युग भन्दा पहिला को पुस्ताले यसै भन्थे । झगडालाई सामान्य रुपमा लिन्थे मिलेर सहेर बस्थे तर अहिलेको पुस्ताले उखान पनि रिमिक्स गरेको छन मिलेर पनि बस्दैनन सहदा पनि सहदैनन । ‘लोग्ने स्वास्नी को झगडा, साथि भाईलाई कुरा काट्ने मसला’, भन्छन्, ‘तुरुन्तै कानुनी बाटो समाउँछन् ।’
श्रीमानले फेसबुकको पासवर्ड मागेको कारण विहा भएको केहि दिन मै एक शिक्षित खानदानी युवतीले सम्बन्ध बिच्छेद गरिन् । ‘यत्रो लामो जिन्दगी कसरि संगै काटिएला, उसलाई मेरो विश्वास नै छैन भने । पास वार्ड मेरो व्यक्तिगत मामला हो कारण यस्तो बताइन् । फेसबुकको च्याट, कमेन्ट, लाइकको कारण आज सयौंको घर झगडा भएको छ ।
प्रविधिको कारण र प्रमाणको आधारमा सयौको घरबार विग्रेको छ भने आश्रित सन्ततिको जिन्दगीमा एक अभिभावकको कमि भएको छ । सन्तानको लागि बाबु आमा दुवैको मायाको जरुरी हुन्छ तर आवेगमा आएर शंकाको भरमा असमझदारी, ईगोको कारण कानुनी सहारा लिदा धेरै बच्चा मारमा परेको छन । पढाई बिगारेको छन् कुलत कुसंस्कारको शिकार भएको छन् । हाल सालै चर्चित कलाकार मनोज गजुरेलले सम्बन्ध बिच्छेद गरको कुरा भाइरल भएर आयो । छोरा गजुरेलले जिम्मा लिए छोरी श्रीमतीले जिम्मा लिइन् । बाँकी जीवन अर्को केटि संग विवाह गरेर सुखीसँग बस्न सुझाव समेत दिइन् ।

 
सम्बन्ध विच्छेद एक जोडीले पहिलाको सन्तान सहित विवाह गरेछन् । उनीहरुबाट सन्तान भएछ बच्चाहरु खेल्ने बेला झगडा गरेछन् । ‘तपाईको बच्चा र मेरो बच्चा मिलेर हाम्रो बच्चालाई पिटेछन्’ श्रीमान समक्ष आमाले भनिछन् । अब समाज तपाईको बच्चा र मेरो बच्चा तर्फ अगाडि जादै छ । विवाह स्वर्गमा नै तय हुन्छ अनि यहाँ जोडी बन्छ भन्छन् बुढा पाका । सबैको ईच्छा चाहना माया गर्ने राम्रो श्रीमान्÷श्रीमती पाइओस् जीवन सुखी होस् खुसि होस् भन्ने हुन्छ । तर, विवाहित सबै मानिस सुखी खुसि हुन सकेका हुँदैनन् । अर्काको जीवन सुखी मेरो चै दुखि भन्ने धेरै छन् । धेरै विवाहितहरु वैवाहिक जीवनबाट खुशि हँुदैनन्, सोचाई र व्यवहार फरक पाउछन । मसिनो प्यारो स्वर ठुलो हँुदै खस्रो, टर्रो, तितो र झर्को लाग्ने हुन्छ अनि झगडा सुरु हुन्छ । साथी भाई छिमेक इस्टमित्र सबैको कुरा काट्ने बाटो हुन्छ । मन अशान्ति भएपछि यो दुनियाँ सबै निरास हुन्छ । कतिले कमजोर मन हुनेहरु आत्महत्या गर्छन्, कति डिप्रेसनमा जान्छन् कडा हुनेहरु छुट्टिएर बस्छन् । असन्तुष्टीको ठूलो पीडाको बीचमा मानव जीवन समाप्त गरेर यो धर्तिबाट बिदा हुन्छन् ।

 

 
सामजशास्त्री मनोवैज्ञानिकहरुले यस विषयमा धेरै अध्ययन अनुसन्धान गरेको छन् । आजभोलि धेरै मानिसहरु परामर्श दाता (मनोवैज्ञानिक, धार्मिक गुरु र ज्योतिष) को सल्लाह लिएर पनि नयाँ जीवन सुरुवात गरेको उदाहरण पनि छ । कति निराशावादीहरु चाहीँ फुटेको भाडा कहाँ जोडिन्छ भन्ने उदाहरण दिएर झन सम्बन्ध विगारिदिने गरेको हाम्रो समाजमा छ । सकारात्मक सोच, आचरणमा सुधार विचारमा परिवर्तन ल्याएर धेरै बिग्रेको सामाजिक सम्बन्धहरु सुध्रेको छ । ठुलो युद्ध झगडा र वैमनश्यताहरु समेत आजभोलि वार्ताको माध्यमबाट समाधानमा पुग्ने गरेको छ । हाम्रै देशमा यसको उदाहरण छ । वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएर आज सरकार चलाको हाम्रै आँखा साक्षी छ । यो कुरा घरमा पनि लागु गर्न सक्छौ । श्रीमान् श्रीमतीको बीचमा चित्त नबुझेको कुरा एक आपसमा छलफल गरेर पनि अगाडि बढ्न सकिन्छ । दुवैको मनको कुण्ठालाई निकालेर औषधि गर्न सकिन्छ । राजनीति पाटीको कार्यकर्ताहरु चित्त नबुझेको कुरा ‘नोट अफ डिसेन्ट’ लेखेर अगाडि जाने गर्दछन् । हामीले पनि श्रीमान् श्रीमतीको कति बानी चालचलन मन नपरेको मलाई यस्तो मन पर्दैन कृपया मेरो अगाडि नगरिदेउ बाँकी सबै ठिक छ भनेर अगाडि जान सकिन्छ । फरक घर परिवार, परिवेश संस्कारबाट आएको जोडीको सबै व्यवहार सबैलाई मनपर्छ भन्ने हुँदैन र केहि बानि कसैको राम्रो हुन्छ केहि नराम्रो हुन्छ राम्रो बानीको प्रशंसा गर्दै नराम्रो सुधार गर्दै जाँदा जीवन स्वर्ग बन्न सक्छ । किनकी परिवार पनि सामजशास्त्र अनुसार एक सामाजिक संस्था हो । संस्था संचालन गर्न यस्तो कुरा सहायक हुन सक्छ ।

 

 
एक पटक एक जोडी समबन्ध विच्छेद गर्न भनि परामर्श दाताकोमा गएछन् । परामर्श दाताले श्रीमतीलाई सोधेछ, किन विच्छेद गर्न चाहनुहुन्छ ? उनले भनिन, ‘म दिन भर घरमा एक्लै हुन्छु कोही साथी छैन । उहाँ अफिसबाट आउनु हुन्छ अनि लुगा मोजा सोफामा फालेर केहि नबोली सुत्नु हुन्छ ।’ त्यसपछि श्रीमान्लाई सोधेछ । श्रीमान्ले भने, ‘म आफिसबाट थाकेर आउँछु चिया खाजा केहि सोध्दिन ।’ परामर्शदाताले श्रीमतिलाई श्रीमान्लाई खाजा बनाउन खुवाउन र श्रीमान्लाई दिउँसो अफिसबाट फोन आएपछि पनि आज दिनभरि के गर्यो के खायौ भनेर सोध्न सिकाएछ । अनि १ हप्ता पछि आउनुहोस म सम्बन्ध बिच्छेदको तयारी गर्दै गर्छु भनि पठाए छ । एक महिना बित्दा पनि त्यो जोडी आएनछ । एक दिन बजारमा हासी खुसी घुमेको देखेर परामर्श दाताले खै त आउनु भएन ? जोडीले संगै जवाफ दिएछन् हामीले बानी सुधार गर्यौ । हजुरलाई धन्यवाद ।

 

 
पश्चिमाहरुले विवाहलाई करार सम्झौता मान्ने भएकोले त्यहाँ सम्बन्ध बिच्छेद हुन्छ । तर, पूर्वीया दर्शन हिन्दु धर्मशास्त्र अनुसार, सम्बन्ध बिच्छेदको चलन छैन । ऋग्गवेदको मन्त्र उच्चारण गरेर सम्पूर्ण ऋषि, कुल देव, ईस्ट देव, पितृ देवलाई आव्हान गरि गोत्र परिवर्तन गरिन्छ । अनि छोरी कन्यादान दिने चलन छ । कानुनी रुपमा सम्बन्ध विच्छेद भएपनि सामाजिक रुपमा विच्छेद हँुदैन । जिम्मेवारी न हुन् सक्छ तर सम्बन्ध विच्छेद नै भने हुँदैन । किनकी एक पटक गाँसिएको सम्बन्ध मिटाउने कुनै केमिकल अहिलेसम्म यस धर्तिमा छैन । बिग्रेको सम्बन्ध पुन जोड्न सकिन्छ, फाटेको मन प्रेमले भर्न सकिन्छ तर विच्छेद भने हँुदैन ।

 

 
हिन्दु धर्मशास्त्र अनुसार, विवाह संस्कारलाई ज्यादै महत्वपूर्ण स्थान दिएको पाइन्छ र संस्कार पुनर्जन्म आदि संग जोडिएको कारण परिणय वा पाणीग्रहण भन्ने गरिन्छ । मनुस्मृतिको अनुसार, कोहि पनि मानिसले श्रीमती आप्mनो इच्छा अनुसार पाउँदैन । सुर्य आदि देवताले दिएको स्त्री मात्र पतिले पाउने गर्दछ । वेदका अनुसार गर्भ ग्रहण गर्न स्त्रीको र गर्भाधान गर्न पुरुषको सृष्टि भएको हो । त्यसकारण अगन्याधान आदि साधारण धर्म पनि पुरुषले स्त्री को साथ गर्नु पर्दछ ।

 

 
मनुस्मृतिका अनुसार, स्त्री विना पुरुषलाई पूर्ण मानिएको छैन । पुरुष अपूर्ण रहन्छ जबसम्म स्त्री स्वदेह र सन्तान प्राप्त गर्दैन । यी तीन कुराले मात्र पुरुष पूर्ण हुन्छ । स्त्री त्याग गरेर पनि स्त्री पतिको स्त्रीत्वबाट मुक्त हुँदैन । पहिले ब्रम्हाले बनाएको धर्म यहि हो । ऋग वेदको मन्त्रद्वारा वर र बधुको आत्मालाई एक बनाउने काम गरिन्छ ।
उपरोक्त धर्म शास्त्रीय व्यवस्थाबाट हिन्दु धर्ममा पति पत्नी चन्द्रमा संग चाँदनी देह संग छाँयालाई छुट्याउन नसके जस्तै एक अर्कामा आबद्ध हुन्छन् । पतिको पत्नी अर्धाङ्गिनी हुन्छे । विवाह पछि नै पुरुषले पूर्णत्व पाउने हँुदा पति र पत्नीको हिन्दु धर्म मा सम्बन्ध विच्छेद हुँदैन ।

 

 
वैदिक साहित्यमा पुनर्भु शब्द प्रयोग गरेर विधवा वा पुनः विवाहको कुरा आउँ सक्छ । तर, विवाह विच्छेदको कुरा कहिँ गरेको छैन । धर्मशास्त्रकारहरुले विवाह गर्दा होम र सप्तपदीको कृत्यबाट विवाह विच्छेद नहुने विधान बनाएको छन् ।
युरोपमा रोमन कानुन अनुसार, विवाहलाई सम्झौता भनिन्छ । मुस्लिम कानुनमा पनि विवाहलाई सम्झौता नै भनिन्छ । सम्झौता त्याग्न सकिन्छ नमान्न सकिन्छ । तर, हिन्दुहरुले विवाहलाई पवित्र संस्कार मानेको छन् । त्यहि भएर सम्बन्ध विच्छेद हुँदैन ।

स्थानीय तहको न्यायिक अधिकार

नेपालको संविधानको धारा १२७ ले सर्वोच्च, उच्च र जिल्ला अदालत गरि नेपालमा तिन तहका अदालतको ब्यवस्था गरेको छ । संविधानले तिन तहका अदालतको अतिरित्त कानुन बमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सकिने व्यवस्था समेत गरेको छ ।

 
नेपालमा न्याय सम्पादनको अधिकार तिन तहका अदालतलाई दिइएको भएतापनि संविधान र कानून बमोजिम केही न्यायिक अधिकार स्थानीय तहलाई पनि दिएको छ । स्थानीय तहका दिइएको यी अधिकार न्यायपालिकाको अदालती संरचना भित्र पर्दैनन । तर स्थानीय तहले गरेको निर्णय उपर भने न्यायपालिकाको अदालती संरचना भित्रको अदालतमा लाग्ने कानूनी रहेको छ ।

 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।
संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने र सो बमोजिमको न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था समेत छ ।

 
स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन ०७४ प्रचलनमा आएको छ । यो ऐनले स्थानीय तहको न्यायिक अधिकार र क्षेत्राधिकार बारेमा समेत व्यवस्था गरेको छ । ऐनको दफा ४६ ले गाउँपालिका वा नगरपालिकामा संबिधानको धारा २१७ बमोजिम एक न्यायिक समिति रहने ब्यवस्था गरेको छ । न्यायिक समितिलाई सामान्य प्रकृतिका विवादको सुनुवाई गर्ने, मेलमिलाप गराउने र निर्णय सुनाउन सक्ने सम्मको अधिकार दिइएको पाइन्छ । न्यायिक समितिले सुनुवाई गर्न सक्ने मुद्दाहरु मध्ये केहि मुद्दामा मेलमिलाप मात्र गराउन सक्छ भने केहिमा फैसला गर्न सक्दछ । स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले न्यायिक समितिले कस्ता उजुरी ग्रहण गर्न सक्ने, कुन कुन मद्दामा निर्णय सुनाउन सक्ने र कस्ता मुद्धामा मेलमिलाप मात्र गराउने सक्ने भनी स्पष्ट पारेको छ ।

 
आलीधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला मजुरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति–पत्नीलाई इज्जत आमदअनुसार खान–लाउन वा शिक्षादीक्षा नदिएको, वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घरबहाल र घरबहाल सुविधा, अन्य व्यक्तिको घरजग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको, आफ्नो घर वा बलेसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सँधियारको जग्गा तथा झ्याल राखी घर बनाउनुपर्दा कानुन बमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको जस्ता विवादको निरुपण गर्ने अधिकार स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।

 
त्यसैगरी कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वकाल देखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटीपौवा, अन्त्येष्टिस्थल, धार्मिकस्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पु¥याएको, संघिय वा प्रदेश कानूनले स्थानिय तहबाट निरुपण हुने भनी तोकेको अन्य बिवादको सुनुवाई गर्ने अधिकार न्यायिक समितिलाई दिइएको छ ।

 
न्यायिक समितिलाई केही विवादहरुमा मेलमिलापको माध्यामबाट मात्र बिवादको निरुपण गर्न सक्ने अधिकार ऐनले दिएको छ । जस अनुसार सरकारी सर्वाजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गाा अर्कोले च्यापी, मिची वा घुसाई खाएको, सरकारी सर्वाजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको, पतिपत्नी बीचको सम्बन्ध विच्छेद, अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट, गाली–बेइज्जती, लुटपिट, पशुपक्षी छाडेको वा पाल्दा लापरबाही गरी अरूलाई असर पारेका, अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको, ध्वनी प्रदुर्षण गरि वा फोहर मैला फ्याकी छिमेकीलाई असर पु¥याएको, प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने ब्यक्ति वादी भई दायर हुने अन्य एक बर्षसम्म कैद हुन सक्ने फौजदारी बिवादलाई पनि न्यायिक समितिले आफ्नो निर्णय नसुनाई दुवै पक्षलाई मेलमिलापको माध्यामबाट मात्र बिवादको निरुपण गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ । उल्लेखित मुद्दामा न्यायिक समितिले हारजितको फैसला सुनाउन पाउदैन ।

 
यस्ता विवादका बिषयमा न्यायिक समितिले प्रतिवादी उपस्थित भएको मितिले तिन महिना भित्र बिवादित पक्षहरुलाई छलफल गराई मिलापत्र गराउन नसके अदालतमा कारबाही र किनाराका लागि कागजात पठाई पक्षहरुलाई अदालत जान सुचित गर्नु पर्दछ । उल्लेखित विवादका सम्बन्धमा उजुरकर्ताले चाहेमा स्थानीय तहमा उजुर नदिई सीधै अदालतमा मुद्दा दर्ता गराउन सक्ने पनि कानूनी ब्यवस्था रहेको छ ।

 
ऐनको दफा ३८ अनुसार न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समितिका संयोजक र सदस्यहरुले सामुहिक रुपले गर्ने र बहुमतको राय न्यायिक समितिको निर्णय मानिने कानूनी ब्यवस्था गरिएको छ । मुद्धाको सुनुवाई संयोजक र अर्को एक जना सदस्यको उपस्थितिमा पनि गर्न सकिएता पनि मुद्धाको निर्णय गर्ने बेलामा संयोजकको उपस्थिति हुनु पर्ने भनी कानूनले स्पष्ट पारेको छ ।

 
न्यायिक समितिले आफु समक्ष पेश भएको बिवादको निवेदनको कारवाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित गर्नु पर्दछ । पक्षहरुको मिलापत्र हुन नसकेमा निर्णय सुनाउन सक्ने मुद्धाहरुमा कानून बमोजिम बिवादको कारवाही र किनारा गर्नु पर्ने भनी ऐनले न्यायिक समितिलाई कानूनी दायित्व तोकेको छ ।

 
न्यायिक समितिले आफु समक्ष परेको बिवादमा बादीले प्रतिवादीको नाममा कुनै बैंक कम्पनी, बित्तीय संस्था वा अन्य कुनै निकायमा रहेको खाता, निक्षेप, प्रतिवादीले पाउने कुनै रकम यथास्थितिमा राखी कसैलाई भुत्तानी नगर्न नगराउन वा प्रतिवादीको हक भोगको कुनै अचल सम्पत्ति कसैलाई कुनै पनि ब्यहोराले हक हस्तान्तरण गर्नबाट रोक्का गर्नका लागी निवेदन दिएमा न्यायिक समितिले प्रारम्भिक जाँच बुझ गरि त्यस्तो जाँचबुझबाट रोक्का गर्न उपयुक्त देखिएमा अवधी तोकि रोक्का लागी सम्बन्धित निकायमा पत्रचार गर्न सक्ने कानूनी व्यवस्था रहेको छ । न्यायिक समितिले विवाद निरुपण गर्दा विवादको उजुरी दर्ता, त्यसको जाँचबुझ, म्याद तामेली, सुनुवाइ, मिलापत्र, निर्णय र निरुपण, निर्णयको कार्यान्वयन लगायत विषयमा कानूनी व्यवस्था र कार्यबिधिगत प्रक्रियालाई अवलम्बन गर्नु पर्ने हुन्छ ।

 
स्थानीय तहको न्यायिक समितिबाट विवादहरुको सुनुवाई गर्दा प्रारम्भिक चरणमा कतिपय चुनौती र जटिलता भए पनि आवश्यक, तालिम पुर्वाधार, जनशक्तिको व्यवस्था मिलाउन सके जटिललाई विस्तारै हटाउन सकिन्छ ।
हामीलाई थाहै छ न्यायिक समितिका सदस्यहरु कानूनका ज्ञाता होइन । राजनीतिक पृष्ठभमिबाट आएका राजनैतिक कार्यकर्ता हुनु । दलीय विचारमा निर्वाचन जितेका न्यायिक समितिका सदस्यलाई फरक राजनैतिक आस्था राख्ने जनतालाई समेत न्यायको अनुभुति दिलाउन सक्नु उनीहरुको पदिय जिम्मेवारी र दायित्व पनि हो । तसर्थ विवादको सुनुवाई गर्दा न्यायिक समितिले कानुन र न्यायका मूल्य–मान्यता, प्राकृतिक न्यायका सिद्धान्त र स्वच्छ सुनुवाइ जस्ता आधारभुत कुराहरुलाई अनिवार्य पालना गर्नु पर्ने हुन्छ ।

 
स्थानीय तहले न्यायिक अधिकारको प्रयोग गर्नमा यसमा सदस्यहरुलाई कानूनी ज्ञानको अभाव हुँदा काममा अलमलको स्थिति देखिएको छ । यहि अलमलका कारण कतिपय स्थानीय तहले अझै पनि न्यायिक समिति गठन गर्न सकेका छैनन । सानातिना विवादमा आफ्नै गाउँ÷नगरबाट सरल र सुलभ तरिकाले न्याय सम्पादन गर्न र पीडितको न्यायमा सहज पहुँच पु¥याउनका लागि न्यायिक समितिलाई न्यायका मूल्य मान्यता, सिद्धान्त र न्याय सम्पादनमा अपनाउनु पर्ने प्रक्रिया लगायतका विषयमा तालिमको माध्यामबाट दक्ष बनाउन जरुरी छ । (लेखक गौतम अधिवक्ता हुन् ।)

भ्रष्टाचार नियन्त्रणमा निरन्तर खवरदारी

भष्टाचारलाई वृहत् नेपाली शब्दकोषले पतित आचरण र दूषित मर्यादाको रुपमा व्याख्या गरेको छ । नियम वा कानुन विरुद्ध नैतिक पतन हुने गरी घुस खाइ पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो ।

 

राजनीतिक दलहरूका बजेट, चन्दा संकलन वा अपारदर्शी शैली, सार्वजनिक अडिटिङको अभाव र खर्चिलो निर्वाचन प्रणालीका कारण पनि भ्रष्टाचारजन्य कार्यमा बढोत्तरी भैरहेको छ । यसै गरि महत्वपूर्ण संवैधानिक, राजनीतिक र कूटनीतिक पदहरूको दलीय भागबन्डा र सरकारी ठेक्कापट्टामा अपनाइने अपारदर्शिता बढ्दो भ्रष्टाचारका कारक बन्ने गरेका छन् ।

 
वास्तवमा, भन्ने हो भने राजनीतिज्ञका साथै सार्वजनिक ओहोदामा रहेका पदाधिकारीहरु सरकारी बिकाश बजेट दोहनमा लिप्त रहने प्रवृत्ति भष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जवाफदेहीता र पारदर्शिताविना संचालन गरिने बिकाश निमार्णका कार्यले पनि भष्टाचार हुनमा मद्दत पु¥याइरहेको छ ।

 
अहिले विश्वभरि खुला र पारदर्शि सरकारको अवधारण अगाडि आएको छ । नागरीक र सरकारी निकायको आपसी समन्वय, सहकार्य र सहभागितामा काम कारवाही संचालन गर्ने परिपाटीको विकास भएपनि नेपालमा त्यसले अझै संस्थागत रुप लिन सकेको छैन । नेपाली राजनीति र राज्य सञ्चालनमा जवाफदेही भनेको पटक्कै देखिदैन । नीति, निर्माण र कार्यान्वयनमा पारदर्शिताको सर्वथा अभाव रहेको देखिन्छ । सरकारी काम कारवाहीलाई समय समयमा सार्वजनिक गर्नु पर्ने, आफ्नो कार्यालयको सेवा सुविधाका बारेमा सार्वजनिक बडापत्र जारी गरि सो अनुसार सेवा प्रवाह गर्नुपर्नेमा सबै निकायले सो बमोजिम कार्य गरेको पाईदैन । नेपालमा भ्रष्टाचार आम प्रवृतिको रुपमा देखिन थालेको छ । दण्डहीनताको संस्कृति मौलाउँदै जाँदा भ्रष्टाचार त्यही अनुपातमा झांगिदै गएको छ ।

 
बर्षेनी हजारौं नेपालीहरु सामान्य औषधि उपचार नपाएर कालको मुखमा पर्छन् । पेटभरी खान नपाएर वा उमरै नपुगी बुढो हुन्छन् । लाखौं युवाहरु आफ्नो देशमा रोजगारी पाउन नसक्दा विदेशी भूमिमा आफ्नो रगत पसिना बगाएर देशको अर्थतन्त्रलाई टेवा दिन्छन् । विडम्बना भष्टाचारीहरु अर्बौ भ्रष्टाचार गरेर निर्लज्ज मुस्कुराउँछन् । यस्ता भ्रष्टाचारीका कारण लाखौं नेपाली जनताको मानव अधिकार हनन भए पनि उनीहरु दण्डहिनतामा रमाउन्छन् । आज देशका अधिकांस जनतालाइ आधारभूत आवश्यकता पुरा गर्न धौ धौ भैरहेको छ ।

 
भ्रष्टाचार एक्लै गरीने कार्य होइन । यो त संगठित र संस्थागत रुपमा समेत भएको पाइन्छ । सरकार, राजनीतिक दलहरु, सरकारी कर्मचारीहरु र गैरसरकारी संस्थाहरु सार्वजनिक रुपमा एकले अर्कालाई दोष दिइरहन्छन तर कतिपयले आपसमा मिलेर भ्रष्टाचार गरिरहेका हुन्छन् । जनाताले आधारभूत सेवाका लागी घुस दिनु सामान्य जस्तै बनेको छ ।
भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी गराउने उद्देश्यले नेपालको नयाँ संविधान लगायत प्रशस्त कानुनी आधार समेत तयार गरिएको भए पनि भ्रष्टाचार नियन्त्रणको अभियान गतिशील र प्रभावकारी हुन सकेको छैन । नेपालमा भ्रष्टाचारको अवस्थाका बारेमा भएका विभिन्न अध्ययन अनुसन्धानले समेत यस तथ्यलाई स्पष्ट गरेको छ ।

 
ठूला परियोजना सञ्चालनमा नीतिगत निर्णय, न्याय प्रशासनमा नागरिकको पहुँच सहजै नपुग्नु, सार्वजनिक सेवाप्रवाह गर्ने निकायमा मौलाएको कमिसन र घुसखोरी, आर्थिक वर्षको अन्त्यतिर बजेट रित्याउने प्रवृत्तिका कारणले पनि भ्रष्टाचारजन्य कार्यमा बढोत्तरी भैरहेको छ । यसै गरि राजनीतिमा अपराधीकरण, अपारदर्शी खरिद प्रक्रिया, सरकारी नियुक्ति तथा सरुवा–बढुवामा आर्थिक मोलमोलाई लगायतमा सुधार आउन नसक्दा सुशासन र भ्रष्टाचार नियन्त्रण प्रमुख चुनौती बनेको छ । सरकारी आँकडा अनुसार विकास निर्माण सम्बन्धी कुल बजेटको ८० प्रतिशत भन्दा बढी खर्च आर्थिक वर्षको अन्त्यतिर हुने गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि यो सबैभन्दा चुनौतीको रुपमा देखिएको छ ।

 
भष्टाचारले देशको विकास र शान्ति र सम्वृद्धिमा पनि गंभिर असर पारिरहेको छ । बिकाश निर्माण र जनतालाई सेवा सुविधा दिने सार्वजनिक जवाफदेहिताका सस्थामा मौलाएको भष्टाचारले बिकाशले दु्रत गति लिन सकेको छैन भने भएका पनि कतिपय गुणस्तरहिन रहेको पाईन्छ । यस्तै मौलाउदै दण्डहिनता, अपराधको राजनीतिकरण कारण शान्ति र सम्वृद्धिमा समेत गम्भीर असर परेको छ ।

 
नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा प्रवेश गरेको छ । संविधानको धारा ५६ ले राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरि तीन तहको हुने व्यवस्था गरेको छ । यसै गरि संविधानको धारा ५७ मा राज्यका तीनैवटा तहको अधिकार बाँडफाँडको पनि व्यवस्था गरेको छ । केन्द्रमा सिमित सिंहदरवारको अधिकार अव स्थानीय तहसम्म संविधानले नै वाँडफाँड भएको अवस्थामा जनताले स्थानीय स्तरबाट सेवा सुविधा पाउन सहज भए पनि ति निकायमा भ्रष्टाचारजन्य क्रियाकलाप हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । यस्तो अवस्थामा ति निकाय र त्यसमा कार्यरत ब्यक्तिहरुले सुशासन कायम राख्नका लागि जिम्मेवार र जवाफदेहितापूर्ण कार्य गर्नुपर्दछ । त्यसमा आमजनताको निरन्तरको खवरदारीको आवश्यक छ । भष्टाचार विरुद्धमा ग्रामीणस्तरसम्म जनचेतना फैलाउन पनि उत्तिकै जरुरी रहेको छ ।

 
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको खराब शासन प्रणाली हो । भ्रष्टाचारले विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना गर्ने भएकोले सन् १९९० को दशक देखि नै दिगो विकास र गरिवी न्यूनीकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणालाई अगाडि सारिएको हो ।
भष्टाचार नियन्त्रका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज लगायतका सबै सरोकारवाला निकायहरुको भुमिका उत्तिकै महत्वपूर्ण छ । संघ, प्रदेश र स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु सदा सदाचार र सुशासन कायम राख्न गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्नका लागि भष्टाचार जन्य कार्यलाई पूर्ण रुपमा निषेध गर्दै कानून बमोजिमको कार्यवाही अगाडि बढाउनु पर्ने हुन्छ । यसै गरि नागरिक समाज र आमनागरिकले पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिन सदा सक्रिय रहि आमजनतासम्म जनचेतना फैलाउनु पर्दछ । भ्रष्टाचारजन्य क्रियाकलाप हुन लागे वा भएको पाइएमा कानूनी कारवाहीका लागि सम्बन्धि निकायमा उजुरी गर्ने बानी बसाल्नु पर्दछ ।

 
मुहान फोहोर भएमा तल जति सफा गरेपनि पानी शुद्ध नहुने भएकाले भ्रष्टाचार रोकथामको लागि पहिले मुहान सफा हुन जरुरी छ । जबसम्म राज्यका नीति निर्माता तथा अन्य शक्तिशाली निकायहरूले सदाचार, सुशासन र जवाफदेहीता कायम गर्दैनन, त्यसबेलासम्म भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउन सक्दैन । भ्रष्टाचार नियन्त्रण जटिल, चुनौतीपूर्ण र निरन्तर गरिरहनुपर्ने कार्य हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ तर पूर्ण निर्मूल गर्न निकै गाह्रो पर्दछ । तत्कालको अभियानले मात्र यसलाई नियन्त्रण गर्न नसकिने भएकाले मुलुकको मौजुदा परिस्थिति, भ्रष्टाचारको स्वभाव एवं प्रकृति अनुरूप नियन्त्रणका शैली, तरिका, समग्र अभियानलाई आवश्यक परिमार्जन सहित बलियो गराउने कार्यलाई निरन्तरता दिनु पर्दछ ।

 
अन्तमा पारदर्शी, जवाफदेही एवं जिम्मेवार सरकार, स्वतन्त्र एवं निष्पक्ष न्यायपालिका, जनउत्तरदायी संसद, लोकतान्त्रिक राज्य, जवाफदेही सार्वजनिक निकायहरु, निरन्तर खवरदारी गर्ने जागरुक नागरिक भएको खण्डमा भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्न सक्दछ । (लेखक गौतम अधिवक्ता हुन् ।)