प्रहरी धरापमा ‘असुली गिरोह’

दैनिक नेपालगन्ज

नेपालगन्ज चन्दा आतंक मच्चाउन सक्रिय एउटा समूहलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको उच्च स्तरीय विशेष टोलीले उनीहरुलाई नेपालगन्जकै विभिन्न ठाउँबाट पक्राउ गरी बिहिवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकका अनुसार, ५ नं. प्रदेश प्रहरी ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र जिप्रका बाँकेबाट परिचालित संयुक्त टोलीले बुधबार राती उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
‘दुई सातादेखि उनीहरु नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न उद्योगी, व्यवसायीहरुलाई फोन कल र एसएमएस मार्फत ठूलो रकम माग गरिरहेका थिए’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङले पत्रकारहरुसँग भने, ‘गिरोह बारे गम्भीर अनुसन्धान भैरहेको छ ।’

 

प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको तथ्य दिंदै प्रहरीले उक्त गिरोहबाट विभिन्न संकेतका रुपमा असुलीका लागि चेतावनी जाने गरेको बताएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुर समेतको सहयोगमा गरिएको अनुसन्धानबाट दाङमा समेत असुली गिरोहको पहुँच देखिएको छ । उक्त गिरोहले एक करोड २० लाख रुपैयाँ सम्मको रकम माग गरेको खुलेको छ । प्रहरीका अनुसार, विभिन्न संकेत मार्फत गरिने उनीहरुको डिमाण्डमा १८ लाखदेखि २५ लाखसम्म र कतिपयसँग १ करोड २० लाख सम्म माग गरेका छन् । ‘गत माघ महिनादेखि नै फोनद्वारा धम्की दिई ठूलो मात्रामा रकम माग गर्ने योजना चलिरहेको रहेछ’, पक्राउ पत्ररेका विजय विक्रम शाह र रमेश प्रसाद अधिकारीबारे टिप्पणी गर्दै प्रहरी उपरीक्षक तामाङले भने ।

 

प्रहरीले विभिन्न ६ जनालाई पक्राउ गरेको विवरण दिएको छ । पत्रकार माझ मुख्य तीन जनालाई प्रस्तुत गरेको बाँके प्रहरीले उनीहरुसँग एनसेल र नमस्तेका १२ वटा छुट्टाछुट्टै सीम बरामद गरेको छ । पक्राउ पर्नेमा सुर्खेत लेखगाउँ–१का विजय विक्रम शाह, नेपालगन्ज–४ का केशराज भण्डारी, चितवन भरतपुर–६ का विष्णु तिमिल्सिना, कुशल श्रेष्ठ, नेपालगन्ज–६ का राजु भन्ने असफाक सिद्दिकी र नेपालगन्ज–१२का रमेश प्रसाद अधिकारी छन् । भण्डारी राप्तीसोनारी–५ का स्थायी बासिन्दा हुन् ।

 

‘शाहले चितवन पुगेर सामाजिक सञ्जाल मार्फत विष्णु र कुशललाई अपराधलाई अञ्जाम दिन कोहलपुर ल्याएको खुलेको छ’, प्रारम्भिक अनुसन्धानबारे जानकारी दिंदै प्रहरी उपरीक्षक तामाङले भने, ‘उनीहरुले पीडितहरुसँग ठूलो रकम माग गरेको र नदिइएमा घर, परिवारसम्मलाई जिउ, ज्यान मार्ने दिने गरेका थिए ।’

 

संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कानुनी कारवाही अगाडि बढाएर अनुसन्धान थालिएका उनीहरुको राजनीतिक पृष्ठभूमि भने नभेटिएको प्रहरी दाबी छ । दैनिक नेपालगन्जले बुधबार मात्रै सहरमा चन्दा आतंक फैलिएको बारेमा खोजमूलक समाचार प्रकाशमा ल्याएको थियो । समाचारमा दुई वटा छुट्टा–छुट्टै समूह चन्दा आतंकमा संलग्न भएको तथ्य उजागर गरिएपछि प्रहरी सक्रियताले अझ तिव्रता पाएको हो । ‘हामी एक सातादेखि अनुसन्धानमा सक्रिय थियौं’, प्रहरी उपरीक्षक तामाङले भने, ‘अपराधीहरुलाई राजनीतिक संरक्षण भएको पाइएको छैन ।’ तामाङले संगठित अपराधमा लागेका युवाहरु राजनीतिक नभई व्यक्तिगत ढंगले समूह बनाएर अपराध अञ्जाम दिन लागिपरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

 

नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टीका नाममा चन्दा आतंक फैलाइएको समाचार आएपछि उक्त पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेपछि पनि अनुसन्धानमा प्रहरीले सहजता अनुभूत गरेको थियो । अखिल क्रान्तिकारीले आफ्नो महाधिवेशनका लागि ‘स्वेच्छिक सहयोग’ मात्र लिइएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो । बाँके प्रशासनले राजनीतिक रुपमा पनि जबर्जस्ती चन्दा असुलीलाई रोक्न कानुनी कारवाही अगाडि बढाउने चेतावनी दिएको छ । ‘प्रहरीले अवैध असुली गर्नेहरुलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्ज सँग भने, ‘जनमानसमा त्रास फैलाउने, जबर्जस्ती असुली गर्ने, चन्दा आतंक मच्चाउने जुनसुकै पृष्ठभूमिका व्यक्तिलाई राज्यले छुट दिंदैन ।’

 

बाँके प्रहरीले सिद्दिकी बाहेक अन्यको अपराधिक पृष्ठभूमि भने अभिलेखमा नभेटिएको बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया