Tuesday, May 12, 2026
घर ब्लग पृष्ठ 1102

यसरी बन्दैछ नेपालगन्ज


३० महिनामा ४१ वटा सडक बन्दै, सम्झौता लगत्तै सडक निर्माण सुरु


नेपालगन्जका भित्री सडकहरु सडकहरु निर्माण सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार कालिका जेडीटएसजे जेभीसँग सम्झौता गरेपछि सडक तथा ढल÷नाला निर्माणको काम सुरु भएको हो । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले सहरी विकास आयोजना, परियोजना कार्यान्वयन इकाइ अन्तर्गत सडक तथा नाला निर्माणको काम हुन लागेको हो ।

 
एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी सम्झौता भएको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिएका छन् ।
‘७ सय मिटरदेखि ३ हजार मिटरसम्मका ४१ वटा सडकहरु निर्माण हुँदैछ’, इन्जिनियर महर्जनले भने, ‘कुल ३६ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको हो ।’ अब बन्ने सडकहरु ६ मिटर देखि १६ मिटर सम्मको चौडा हुने महर्जनले जानकारी दिए ।

परियोजनाबारे जानकारी दिंदै इन्जिनियर शैलेन्द्र महर्जन ।

सडकका दुवैतर्फ ढल तथा नाला समेत निर्माण हुनेछन् । सडकको चौडाई अनुसार नाला बनाउने उपमहानगरपालिकाले जनाएको छ । ‘उपमहानगरपालिका भित्र ४० किलोमिटर नाला बन्नेछन्’, इन्जिनियर महर्जनले भने ।
उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीबीच सडक तथा नाला निर्माणका लागि शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । परियोजनाले सम्पूर्ण प्रक्रिया एवं मुल्यांकन गर्दै ठेकेदार कम्पनी छनौट गरेको आयोजना प्रमुख सुनिल ठाकुरले बताएका छन् ।
निर्माण ठेक्का पाएको कालिका जेडीटएसजे जेभीले सम्झौता लगत्तै काम समेत अगाडि बढाएको छ । यसअघि राँझा–कोहलपुर सडक खण्ड निर्माण गरेको कालिकाले निर्धारित समय अगावै काम सकेकाले अब पनि समयमै काम हुनेमा उपमहानगरपालिका विश्वस्त देखिन्छ ।

 
रामलिला बुललिया मार्ग, अशोक मार्ग, समशानघाट रोडमा बाटो सम्याउने काम सुरु भैसकेको छ । ‘सडक सबैका लागि हो र यसका लागि आवश्यक क्षेत्रफल छुट्याउन स्थानीयबासीले पूर्ण सहयोग गर्नुपर्छ’, इन्जिनियर महर्जनले भने, ‘जनप्रतिनिधि समेत आउनुभएकाले सडक क्षेत्रफल खाली गर्न थप सहज भएको छ ।’

 
सडक तथा नाला निर्माणका लागि उपमहानगरपालिकाले सडक क्षेत्रफल सहित उल्लेख गरेर उक्त क्षेत्रमा रहेका भौतिक संरचना, पर्खाल र घर भत्काउन २०७४ बैशाख १५ गते नै सूचना जारी गरिसकेको छ । ‘सडक क्षेत्रफलका लागि चिन्ह लगाउन काम पहिल्यै भैसकेको छ’, इन्जिनियर महर्जनले भने, ‘कतिपयले आवश्यक क्षेत्रफल छाडिपनि सक्नुभएको छ ।’
परियोजनामा अन्तर्गत सदरलाइनको बाटो पनि रहेको छ । ‘सदरलाइन १४ मिटरको बन्नेछ, घरधनीले सडक क्षेत्रफल छाड्ने बित्तिकै काम सुरु हुनेछ’, इन्जिनियर महर्जनले भने, ‘त्यसका लागि हामीले सहजीकरण पनि गरिराखेका छौं ।’ त्रिवेणीमोडदेखि चारबाहिनीसम्म रहेको उक्त सडकको बाँकी खण्ड त्रिभुवन चोकदेखि त्रिवेणीमोडसम्मको सडकखण्ड पनि ३० महिने अवधी भित्र बनिसक्नेछ ।

 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले समयमै गुणस्तरिय काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । विद्यतु, खानेपानी, टेलीकमका संरचना स्वयं व्यवस्थित गर्नका लागि सम्वन्धित पक्षलाई पत्राचार गरेको उपमहानगरपालिकाले सुरक्षा अधिकारी, राजनीतिक दल लगायतसँग समन्वय गर्दै सबैसँग सहयोगको अपिल गरेको छ ।

 
परियोजना अन्तर्गत तत्कालीन वडा नं. १६ को विपीचोक पथ ९ मिटर, चारवाहिनीदेखि नगरभवन सम्म १५ मिटर, रंगशालादेखि अस्पतालसम्मको रोड १५ मिटर, अशोक मार्ग १० मिटर, रानीतलाउ देखि त्रिभुवनचोकसम्म १० देखि १६ मिटरसम्म, शितल नगर रोड ८ मिटर, श्रृष्टि सिनेमा हल रोड ६ मिटर, कस्तुरीमार्गदेखि भेरी प्राविधिक शिक्षालयसम्मको रोड ८ मिटरको बन्नेछ ।

 
आइएनएफ मार्ग १० मिटर, समशानघाटदेखि रानीतलाउसम्म १० मिटर, भेरी अञ्चल अस्पतालदेखि रामलिला मैदानसम्मको बाटो १० मिटर, तत्कालीन वडा नं. १ को वाटर पार्क रोड ८ मिटर, घरबारीटोल देखि नागरिक चोकसम्म ८ मिटर, तत्कालीन वडा नं. २ र ३ घरबारीटोलदेखि त्रिवेणीमोडसम्मको बाटो १० मिटर बन्न लागेको हो ।

सडकमा ट्राफिक नियम मिच्नेको बाहुल्यता

दैनिक नेपालगन्ज

राप्तीपारिबाट ३ जना मोटरसाइकलमा बसेर नेपालगन्ज भित्रिए । नेपालगन्ज ६ शिव मन्दिर चोकमा रहेका ट्राफिक प्रहरीले कानून विपरीत काम भएको भन्दै पाँच सय रुपैयाँ जरिवाना काट्यो ।

लगत्तै ओभरलोड ट्याक्टर, विना इन्ट्री भारतीय गाडी, विना लाइसेन्सका चालक, सिट वेल्ट नबाँधेको कार चालक, ८ जना बोकेको ईरिक्सा । आइतवार दिउँसो आधा घण्टा भित्र फुल्टेक्रा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा हेरेको चित्र हो ।

चेकजाँचमा रोकिएपछि जरिवानाको दर रेट सुनेर हतास हुने सवारी चालकले सकभर रसिद बाहिरै आधा कारवाही मात्र खेप्न तयार हुन्छन् । सवारी साधन रोकिएपछि सुरु हुन्छ, पावर लगाउने प्रयास ।

कसैको पावर लागेपछि मोलतोल हुन्छ । ट्राफिक प्रहरीले नियमानुसार नै गर्ने भनेपछि अन्तिममा जरिवाना तिर्न बाध्य हुन्छन् चालक । कानून विपरीत सवारी चलाउने चालकले ट्राफिक संग पनि कानून विपरीत अर्थात विना रसिद आधा रकम तिर्न दबाव बनाउँछन् ।

कुनै उपाय नलागेपछि मात्र सरकारी जरिवाना तिर्ने स्थिति आउँछ । ट्राफिक प्रहरीले विना जरिवाना कुनै उपाय नचल्ने जनाएपछि मात्र जरिवाना र रसीदको कुरा अघि बढ्छ । ‘राम्ररी चेकजाँच गर्ने हो भने, ८० प्रतिशत सवारी साधनहरु कानून विपरीत संचालित रहेको फेला पर्छन्’, चेकजाँचमा रहेका ट्राफिक प्रहरीले भने, ‘कतिपय सामान्य त्रुटि हामीले पनि हेर्न छाडिसकेका छौं ।’

‘सबै भन्दा बढि त्रुटि मोटरसाइकलमा फेला पर्छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होम बहादुर थापाले भने, ‘लापरवाही गरि नियम उल्लंघन गर्नेको सूची मोटरसाइकल चालकको बढी छ ।’

नेपालगन्जको सडक नियम, पार्किंङ स्थिति र नागरिक सचेतनाको अवस्था अहिले पनि ब्यवस्थापन हुन सकेको छैन । बाटो काट्ने देखि डिभाइडरमा उछिट्टिनेको संख्यापनि धेरै छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा अनावश्यक बाटो काट्ने गतिविधि नियन्त्रण र बाटो चौडा पार्ने अभियानमा डिभाडरको प्रयोग गरेको छ ।

सडकमा विभिन्न स्थानमा आफु खुसी क्रस गर्न सक्ने स्थितिलाई नियन्त्रण गर्दै निश्चित स्थानबाट मात्र सवारी साधन मोड्न मिल्ने अवस्था डिभाइडरबाटै बनाइएको छ । तर, पैदल यात्री, विद्यार्थी र बालबालिकाहरु डिभाइडर समेत नाघ्ने गरेको पाइएको छ ।

‘ब्यक्ति ब्यक्तिलाई जरिवाना गर्न कसरी र कहाँ सम्म सम्भव छ’, दैनिक नेपालगन्ज संग थापाले भने, ‘आफ्नो सुरक्षाको विषयमा नागरिक पहिले सचेत हुनु पर्छ ।’ ‘कानून विपरीत काम गरेपछि कारवाहीको पक्ष छ नै’, उनले भने, ‘तर सुरक्षित साथ यात्रा गर्नुको आनन्द फरक हुन्छ ।’

‘सडकमा मन लागेको स्थानबाट बाटो काट्न अवरोध होस भनेर नै डिभाइडर राखिएको छ’, थापाले भने, ‘तर ब्यक्ति साइकल सहित डिभाइटर समेत क्रस गर्ने गरेको पाइएको छ ।’ ‘मुख्य विषय त सडकमा कसरी सुरक्षित हुने भन्ने हेक्का चालक र यात्रीले राख्नु पर्छ’, उनले भने, ‘हामी सबै स्थानमा नहुन सक्छांैं तर सावधानी सबै स्थानमा कायम रहन सक्छ ।’

‘सडकको सबै पक्षमा काम गर्ने जिम्मेवारी हाम्रो हो’, थापाले भने, ‘सचेतना देखि कारवाही सम्मको कदम चालिरहँदा पनि अपेक्षानुसार नागरिकमा सुधार देखिएन ।’ ‘सडकमा कसरी हिंड्ने सम्मको सिकाउने काम भएको छ, कार्यान्वयन कतै भएन’, उनले भने, ‘कारवाहीको तथ्यांक हेरेरै थाहा हुन्छ उल्ंघन गर्नेको संख्या कति धेरै छ ।’

‘दुर्घटनाका अधिकांश कारण मानवीय नै हुन्छन्’, थापाले भने, ‘मानिस सावधान हुने हो भने दुर्घटना ९० प्रतिशत सम्म न्यून हुन्छ ।’ ओभरस्पीड, बे्रकिङ डिस्टेन्स, साइड नियम, वन वे, टु वे का नियमहरु बुझ्न नसकेका कारण दुर्घटना हुने गरेको तथ्यहरु छन् ।

सुुर्खेतरोडमा लामो दुरी सम्म बाटोमा क्रस नराखिंदा ट्राफिक नियम पालना गर्न समस्या हुने गरेको सवारी चालकहरुले बताएका छन् । स्थानीय शेर बहादुर बोहराले आइतबार हतारमा अस्पताल जाने क्रममा सडकको क्रस नजिक नहुँदा ट्राफिक कारवाही भोग्नु परेको दुखेसो सुनाए ।

ओहो दिउसै चोरी !

हिमाल गैरे/दैनिक नेपालगन्ज

चोरीका दृष्टिले बाँके जिल्ला निकै संवेदनशील बन्दै गएको तथ्यले देखाएको छ । बाँकेका अपराध घटनाको तथ्य विश्लेषण गर्दा लागु औषधपछि सबै भन्दा बढी चोरीका घटना पाइएको हो । पछिल्ला पाँच वर्षका तथ्याङ्कमा चोरीका घटना बढ्दो क्रममा छ । यसले आम सर्वसाधारणको घर असुरक्षित रहेको र कुनै पनि बेला चोरीको घटनामा पर्ने जोखिममा देखिन्छ । किनकी चोरीका घटनामा कुनै विशेष समय भन्दा कुनैपनि बेला चोरी हुनसक्ने देखाएको छ ।

 

आश्चर्यको कुरा, दिनदहाडै चोरीका घटनामा वृद्धि भएका छन् । पछिल्लो एक महिना यतामात्रै नेपालगन्ज नगरक्षेत्रमा ५ चोरीका घटना भए । ती मध्य एउटा चोरीको घटना मात्रै राती भएको छ । आ.व ०७४÷०७५ सम्मको घटनाहरु तथ्य हेर्दा झण्डै ४४ प्रतिशत अपराधहरु ‘दिन दहाडै’ भएको तथ्यले सर्वसाधारणको सुरक्षा चिन्ता स्वाभाविक देखिएको छ । भने, सुरक्षा संयन्त्र माथि गम्भीर प्रश्न उब्जिएको छ ।

 

फागुन ६ गते नेपालगन्ज उपमहानगरपालिका १०, सिद्धार्थटोलकी कमला डाँगीको घरमा दिउसो १ देखि २ः३० बजेभित्र कोही नभएको मौका छोपेर लाखौंको धनमाल चोरी भयो । जिल्ला प्रशासन कार्यालय देखि ३०० मिटर दुरीको उनको घर जिल्ला कारागार नजिकै छ । नगर भित्र दिउँसै चोरीको घटनाको २ साता बित्दा पनि प्रहरीले चोरीमा संलग्नलाई फेला नपारेर सुरक्षा चिन्ता बढाएको डाँगीको प्रतिक्रिया छ ।


‘दिन दहाडै नेपालगन्ज क्षेत्रमा लगातार चोरी हुनु दुखद् हो, हामी नगर क्षेत्रमै सुरक्षित भएनौं’ नेपालगन्ज १० की शारदा बुढाथोकीले दैनिक नेपालगन्ज सँग भनिन् । आफु उपचार गर्न गएको समयमा बुढाथोकीको घर फागुन १२ गते दिउँसै चोरी भई सुन एंव नगद चोरी भएको थियो । ९ सय ५ प्रहरीको दरबन्दी रहेको बाँके जिल्ला प्रहरीमा नगर भित्रै भएका यस्ता अपराधका घटनाले प्रहरी र सुरक्षा निकायले ‘के गरिरहेको छ भन्ने’ प्रश्न जनसाधारणमा उब्जिएको हो । घटनामा संलग्नलाई प्रहरीले फेला पार्न नसक्नुमा आन्तरिक कमजोरीनै बढी जिम्मेवार भएको तर्क गर्नेको कमी छैन ।


आश्चर्यको कुरा, दिनदहाडै चोरीका घटनामा वृद्धि भएका छन् । पछिल्लो एक महिना यतामात्रै नेपालगन्ज नगरक्षेत्रमा भएका ५ चोरीका घटना मध्य ४ वटा दिउसै भए । पछिल्लो आर्थिक वर्षको तथ्यांक केलाउँदा झण्डै ४४ प्रतिशत अपराधहरु ‘दिन दहाडै’ भएका छन् । प्रहरी अधिकारी भन्छन्, चोरी नियन्त्रणका लागि कम्युनिटी साइरन र सिसिटिभी क्यामेरा आवश्यक छ ।’

 

‘राइट पर्सन इन राइट प्लेस नहुनुनै अनुसन्धानमा प्रहरी कमजोरी हो,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘प्रहरीले चाह्यो भने जुसकै अपराधीको फन्दा समात्न समय लाग्ला तर, असम्भव भन्ने छैन ।’ ‘क्राइम एक्सन् प्लान’ को प्रभावकारी कार्यान्वयन नहुनु र प्रहरी संगठन भित्र नातावाद, क्रिपावाद हावी हुनुलाई अर्काे कारण मान्दै ती अधिकृत दैनिक नेपालगन्ज सँग भन्छन्, ‘दण्डहीनताको अवस्था रहिरहने र प्रेसर थेग्न नसकेर अनुसन्धानको बिचमै छाडिनुले पनि प्रभावकारी अनुसन्धान प्रक्रिया नै फितलो भई नतिजा ल्याउन सकिएको छैन ।’

 

 

बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ भने चोरीका घटनामा वृद्धि भन्दा पनि चोरीका घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने कुरामा अपेक्षित सफलता नमिलेको बताउँछन् । ‘यो कुरा स्वीकार गर्नै पर्छ, चोरीका घटनामा अपेक्षित सफलता पाउन सकिएको छैन,’ प्रहरी उपरीक्षक तामाङले दैनिक नेपालगन्ज सँग भने, छुट्टै टिम बनाएर पनि खोजतलास र अनुसन्धान भने जारी छ ।’ चोरीका घटना नियन्त्रणका लागि ‘कम्युनिटी साइरन र सिसिटिभी’ मा जोड दिएका तामाङले त्यसका लागि नेपालगन्ज उपमहानगरपालिका सँग आग्रह गरिएको बताए ।

 

 

नेपालगन्ज ३, एकलैनीको पसलबाट नगद ३ लाख चोरी भएका पीडित अफिस हलवाईले पनि ‘यथोचित प्रमाण नपुगको’ भनि प्रहरीले शंकास्पद व्यक्तिहरुलाई छाड्ने गरेको गुनासो गर्दै पीडित सधैं पीडामा रहिरहने अवस्था रहेको बताउँछन् ।
जिल्लामा हालसम्मका तथ्याङ्क विश्लेषण गर्ने हो भने लागु औषधमा १ सय ९ छ भने त्यस पछाडि चोरी ४८ रहेको छ । अपराधमा लागुऔषध र चोरीलाई एक आपसमा अन्र्तसम्बन्धित रहेको बताइन्छ । ‘कतिपय चोरीका घटनामा लागु औषध दुव्र्यसनीकै संलग्नता पाइन्छ,’ अनुसन्धान अधिकृत भन्छन् ।

 

आर्थिक वर्ष २०७३/०७४ मा लागु औषधका घटना १ सय ३७ रहेको थियो भने चोरीका घटनाहरु ६२ रहेको थियो । तर अनुसन्धान र अपराधको फर्छौट गरि पीडितलाई न्याय दिने अवस्थाको विश्लेषण गर्ने हो भने चोरी घटनामा जम्मा ७७.४१ प्रतिशतको मात्रै अनुसन्धान भई फर्छौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पूँजी बजारमा आकर्षण बढ्दो

दैनिक नेपालगन्ज/देबेन्द्र राज पौडेल

बाँके, बर्दियाका लगानीकर्ताहरुको पूँजी बजारमा आकर्षण बढेको पाइएको छ । खासगरी सेयर बजारका लागि मध्यस्थकर्ता संस्था, सेयर दलालहरु नेपालगन्ज आएपछि पूँजी बजारको आकर्षण एकाएक बढेको हो ।
‘यसले बाँके, बर्दियामा लगानीको वातावरण बनिरहेको छ भन्ने कुरा देखाएको छ’, नेपाल स्टक एक्सचेन्ज सदस्य नं. ४५ इम्पेयियल सेक्युरिटिज् प्रा.लि.का प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले भने, ‘पश्चिममा सेयर बजारको आकर्षण बढ्नु खुशीको कुरा हो ।’


नेपालगन्जमा सेयर बजार सचेतना सम्बन्धी सरोकारवालाहरुले लगानीकर्ताहरु माझ प्रशिक्षणात्मक कार्यक्रम गरेका छन् ।


 

बर्दिया निवासी घिमिरेले आफु सम्भावना भएका अन्य जिल्ला नभई नेपालगन्ज नै रोजेर शाखा बिस्तार गरेको र यसले बिस्तारै सकारात्मक परिणाम देखाउन थालेको बताए । नेपालगन्जमै कार्यालय खोलेको अर्को ब्रोकर नं. ४६ को कालिका सेक्युरिटिज् प्रा.लि.का प्रमुख नरेन्द्र सिजापतिले ‘सेकेण्डरी मार्केटका लागि नेपालगन्ज ग्रामीण सहर’ भएको टिप्पणी गरे । ‘तर, सुन्दर भविष्य देखिंदैछ’, ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष समेत रहेका सिजापतिले नेपालको सेयर बजार प्राइमरी स्टेजमा अन्तर्राष्ट्रिय स्तरको भएको धारणा राख्दै भने, ‘सेकेण्डरी मार्केट भने अपेक्षित रुपमा विकास हुन सकेन ।’

 

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङले नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा शनिबार नेपालगन्जमा लगानीकर्ता सचेतना तथा प्रशिक्षण कार्यक्रम गर्यो । प्रशिक्षणमा बाँके, बर्दियाका झण्डै २ सय लगानीकर्ताहरुको सहभागिता थियो । ‘यो सहभागिता र उठेका जिज्ञासाहरुबाट पूँजी बजार प्रतिको आकर्षण एकदमै बढेको छ भन्ने कुरा प्रष्ट देखिएको छ’, नेपाल स्टक एक्सचेन्जका वरिष्ठ अधिकृत मुराहरी पराजुलीले भने । उनले नेपालगन्जमा सेयर बजारको पूर्वाधार फैलदै गएको धारणा राख्दै भने, ‘काठमाडौं बाहिर कुल कारोबारको १५ प्रतिशत सेयर बजार फैलिएको छ ।’ स्टक एक्सचेन्जका दुई वटा ब्रोकर कम्पनी बैशाख यता नेपालगन्जमा आएपछि सेयर बजारको सहजीकरण भएको हो ।

 

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक विमल खनालले कम्पनीको अवस्था विश्लेषण गरेर मात्र लगानी गर्न आग्रह गरे । पूँजी बजारको नियमनकारी निकाय, नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारी, उपनिर्देशक निरञ्जय घिमिरे लगायतले लगानीकर्ताका आधारभूत विषयमा प्रकाश पारेका थिए ।

 

‘लगानीकर्ताहरु बढ्दै गएपछि जोखिम र अवसर बारे जानकारी दिन लगानीकर्ता सचेतना कार्यक्रमको आयोजना आवश्यक ठानिएको हो’, इम्पेरियल सेक्युरिटिजका नेपालगन्ज स्थित कार्यालय प्रमुख उद्दव अधिकारीले भने । कार्यक्रममा पूँजी बजारलाई थप विकास तथा आधुनिकीकरण गर्ने उद्देश्यले स्थापना गरिएको सिडिएस एण्ड क्लियरिङबारे पनि जानकारी गराइएको थियो ।

 

लगानीकर्ताहरुले अनलाइन टे«डिङ देखि आइपिओ जारी गर्ने लगायतका तमाम विषयहरुमा सरोकारवालाहरु सँग जिज्ञासा राखेका थिए । ‘सीमित व्यक्तिका हातमा सेयर बजार रहने अवस्थाको अन्त्य गरिनुपर्छ’, नवराज पराजुलीले नेप्सेलाई शक्तिशाली भूमिकामा रहन जोड दिंदै भने, ‘यसले सेयर बजारको विश्वास बढाउँछ ।’

करिब दुई अर्बको शेयर कारोबार
काठमाडौं/समाचारदाता
धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ दशमलव शुन्य चार प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८ दशमलव ७४ अंकले घटेर अन्तिम दिन एक हजार ३४५ दशमलव ९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव २० अंकले घटेर २८५ दशमलव ३८ अंकमा आइपुगेको छ ।

 

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २२ करोड ६२ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएका थिए । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

अतिक्रमण जग्गा खाली गरिएपछि विद्यार्थीले पाए मैदान

‘पहिलो पटक आफ्नै खेल मैदानमा उफ्रन पाउँदा विद्यार्थीहरुको खुशी थामिनसक्नु छ’, आदर्श मावि राँझाका प्राचार्य प्रकाश आचार्यले उत्साहित हुँदै भने, ‘उनीहरुको खुशीमै म आफ्नो सफलता देखेको छु ।’

आदर्श माविले राँझा चोकमा रहेको विद्यालय भवनदेखि केही पश्चिम गायत्री नगरमा नयाँ भवन निर्माण गरी त्यसैसँग जोडिएको एक विगाह जग्गामा खेल मैदान बनाएको हो । त्यो भन्दा खुशीको कुरा के भने २०३६ सालदेखि भोगचलन गर्न नपाएको जग्गामा मैदान बनाउन पाउने अनुकुलता मिल्नासाथ आदर्शले खेलकुद उत्सवको आयोजना नै गर्यो ।
‘यसअघि विद्यार्थीहरुलाई नियमित प्रार्थना गर्ने ठाउँ पनि थिएन’, आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘यति पाउँदा पनि पहाडै जितेजस्तो भएको छ ।’ आदर्शले माघ २१ गतेबाट सञ्चालनमा ल्याएको भवनसँगै डेढ विगाह जग्गा उपलब्ध भएपछि खेल मैदान बनाइएको हो ।

‘प्राप्त खेलमैदान संस्थागत गर्नकै लागि यो आयोजना गरिएको हो’, नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘यसका लागि धेरै जोखिम उठाउनु पर्यो ।’  २०३६ साल असार १० गते जिल्ला स्तरीय जग्गा दर्ता समितिले आदर्शका नाममा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराउने निर्णय गराएको थियो । त्यसअनुसार विद्यालयले समयमै जग्गा भोगचलन नगर्दा बिस्तारै अतिक्रमणमा परेको उक्त जग्गा खाली गर्न स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि प्रयास थालिएको हो । ‘राजनीतिक दलका नेताहरु नै आफ्नो स्वार्थ अनुसार बस्ती बसाएका थिए’, स्थानीय समाजसेवी सोम बहादुर थापाले दैनिक नेपालगन्जसँग भने, ‘अनाधिकृत बस्ती हटाएर विद्यालयका लागि पुरै जग्गा उपभोगको व्यवस्था मिलाउनु पर्छ ।’

 

आदर्श माविको नाममा रहेको उक्त जग्गामा झण्डै ८२ घरधुरीले कब्जा जमाएपछि विद्यालय सीमित संरचनामा खुम्चिएको थियो । ‘विद्यार्थी कम भएका बेला सामान्य संरचनामा रहेको विद्यालय आज यति धेरै विद्यार्थी हुँदा पनि भौतिक पूर्वाधारको विकास गर्न सकिएको थिएन’, वडाध्यक्ष कार्कीले भने, ‘त्यसैले पनि अतिक्रमण हटाउन सर्वदलीय प्रयास भएको हो ।’

 

बस्तीमा अधिकांस भूमिहीन, सुकुम्बासीहरु रहेको भन्दै भूमि अधिकार मञ्चले वैकल्पिक व्यवस्था विना बस्ती नहटाउन दबाब दिंदै आएको छ । विवाद बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले नगर कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा छानबिन समिति बनाएको छ । ‘समितिले बस्तीमा आश्रितहरुको वास्तविक अवस्था छानविन गरी आवश्यक निर्णयका लागि उपमहानगरपालिकालाई सुझाव दिनेछ’, वडाध्यक्ष कार्कीले भने ।

 

त्यसअघि नै वडाध्यक्ष कार्कीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय प्रयासबाट खाली रहेको ठाउँलाई खेलमैदानका रुपमा उपयोग गर्न सहमति जुटाइएको हो । ‘मैदान बनाउँदै खेलकुद पनि सुरु गरेका छौं’, मंगलबार वडास्तरीय रनिङ्ग शिल्ड सुरु गरेका आदर्शका प्राचार्य आचार्यले भने, ‘अब यो आयोजनापछि खेल मैदानलाई नियमितता दिइनेछ ।’ आदर्शमा हाल १ हजार ३१ विद्यार्थी अध्ययनरत् रहेको जानकारी दिंदै आचार्यले खेल मैदान पाएपछि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहन मिल्ने बताए ।

दुई घरले सम्पूर्ण रुपमा अतिक्रमण छाड्न तयार भएको र कतिपयले दोहोरो उपयोग गरिरहेको गोठ र शौचालयका टहरा हटाउन सहमत भएपछि डेढ विगाह जग्गा विद्यालयका लागि सम्भव भएको हो । ‘बाँकी उपमहानगरपालिकाको निर्णयमा निर्भर छ’, वडाध्यक्ष कार्कीले भने ।

आदर्शको वर्चश्व

बुधबार सुरु भएको वडास्तरीय रनिङ शिल्डमा आयोजक आदर्श मावि राँझाले अधिकांश उपाधीहरु हात पारेको छ ।
वडा नं. २० का सामुदायिक विद्यालयहरु बीच गरिएका विभिन्न २७ खेलका प्रतिस्पर्धामा अधिकांस आयोजक आदर्श नै विजयी भएको हो ।

 

विभिन्न ६ वटा विद्यालयले सहभागिता जनाएको वडास्तरीय रनिङ शिल्डमा दोस्रो जय जनतामावि थपुवा र तेस्रो नेपाल राष्ट्रिय आधारभूत विद्यालय नटरनपूर्वा भएका छन् । एथलेक्टिसका ४ सय मिटर छात्र दौडमा जय जनता मावि र निमावि तर्फ कपर्दीमा जय जनताले उपाधी जितेपनि बाँकी सबै उपाधी आदर्शका विद्यार्थीले हात पारेका छन् ।

 

तीन दिन चलेको आयोजनाका विभिन्न इभेन्टमा २ सय ७५ खेलाडी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । ‘उद्घाटनको अघिल्लो दिन प्रावि स्तरका सबै प्रतियोगिता सञ्चालन गरियो’, खेल संयोजक रविन्द्र रेग्मीले भने । बुधबार प्रतियोगिता समापन गरिने पूर्व योजनामा खेल लम्बिदै जाँदा ढिलाई भएकाले होली पर्व पछाडि औपचारिक कार्यक्रम गरी पुरस्कार वितरणको कार्यक्रम राखिने आयोजक आदर्श माविका प्राचार्य प्रकाश आचार्यले जानकारी दिए ।

वान्टेड सूचीमा मुख्य न्यायाधिवक्ता

कानूनका विश्लेषक मानिएका अधिवक्ता दिपेन्द्र झा प्रहरीको वान्टेड सूचीमा रहेकै बेला प्रदेश नं.२ को मुख्य न्यायाधिवक्ता पदमा नियुक्त भएको खुलेको छ । न्यायाधिवक्ता पद योग्यता विवादमा तानिएपछि अधिवक्ता झा प्रहरीको वान्टेड सूचीमा रहेको तथ्य बाहिर आएको हो । उनी विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दायर रहेको खुलेको छ । कोषराज न्यौपानेको जाहेरीले नेपाल सरकार वादी रहेको विद्युतीय कारोबार अपराध मुद्दामा उनी प्रहरी खोजीमा रहेको खुलेको हो ।

 

२०७४ पौष ३० गते अधिवक्ता झा विरुद्ध सरकारी मुद्दा सम्बन्धी ऐन २०४८ को दफा १८ बमोजिम काठमाडौ जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । झाले संचालन गरेको एउटा वेभसाइटमा चरित्र हत्या गर्ने खालका टिका टिप्पणी गरेकोले मुद्दा दायर गरेको अधिवक्ता न्यौपानेले बताए । झा र उनका एक फेसबुक मित्रले मेरो विषयमा अनावश्यक र आधारहीन तथ्यहरु प्रस्तुत गरेकोले कानूनी उपचारको बाटो अवलम्बन गरिएको न्यौपानेले बताए । २०७४ सालको सीआर ०८३८।४५ नं.को मुद्दा बारे जिल्ला अदालत काठमाडौले चलानी नं.१३०९२ बाट २०७४ माघ १० गते ३० दिने म्याद जारी गरेको थियो ।

 

अभियोग पत्र अनुसार महोतरी घर भई ललितपुर जिल्ला वडा नम्बर ५ टिकाथली बस्ने मोहित झाको नाती, उदितनारायण झाको छोरा, तराई ल एसोसिएट तथा तराई जस्टिस सेन्टरका ३८ वर्षिय अभियुक्त दिपेन्द्र झा हाल फरार सूचीमा छन् । अभियोगपत्रमा झाको मोवाइल नम्बरको कल डिटेल युजर डिटेल्स समेत उपलब्ध गराइदिन भनिएको छ । दायर भएको अभियोग पत्रमा सुनुवाई गर्दै काठमाडौ जिल्ला अदालतले २०७४ पौष ३० गते फरार अभियुक्तको नाममा म्याद जारी गर्न आदेश दिएको छ ।

झालाई अदालत समक्ष पेश गर्न प्रहरीलाई अदालतले आदेश दिएको हो । प्रहरी अनुसन्धान पूरा भएपछि दायर भएको अभियोग पत्रमा झालाई थुनछेकका लागि इजलास समक्ष पेश गर्न भनिएको छ । मुद्दा बारे जानकारी लिन अधिवक्ता झालाई गरिएको फोन प्रयासमा उनका लिगल असिस्टेन्ट सुनील कुमार चौहानले जवाफ दिए । मुद्दा दायर भएको विषय सत्य भएको बताउँदै उनले त्यस्तो गम्भिर प्रकृतिको नभएकोले फरार हुनु पर्ने औचित्य गलत रहेको बताए ।

कुनै मीडियाले लेखेको कुरा सेयर गर्दैमा विद्युतीय अपराध हुन जाने होइन, चौहानले भने, मुद्दा दायर भएको सन्दर्भ आवश्यक परेका बेला अदालतमा उपस्थित हुने नै छौं । उनले प्रहरी तहकिकात पूरा भएपनि फरार अभियुक्त भन्न नमिल्ने तर्क गरे । मुख्य न्यायाधिवक्ताको योग्यता बारे चुलिएको विवाद बारे प्रष्ट पार्दै चौहानले भने, केहि ब्यक्तिहरु ब्यक्तिगत समस्याका कारण मुद्दा दायर गरेको बताए । योग्यता नपुगेको ब्यक्ति पदमा आउन सक्दैन, उनले भने, कानून बमोजिम पूरा हुनु पर्ने मापदण्ड पूर भएकै छ ।

विमानस्थल मर्मत सुस्त


शतप्रतिशत काम सकिसक्नुपर्ने समयमा ३० प्रतिशत मात्र प्रगति देखाएको पप्पु–लुम्बिनी एपेक्स जेभीले म्याद गरेपनि सन्तोषजनक काम गर्न सकेको छैन । नेपालगन्ज विमानस्थल मर्मतका लागि ३ बजेपछि उडान रोकिंदै आएको छ ।


दैनिक नेपालगन्ज/हिमाल गैरे

निर्माण सकिइसक्नु पर्ने समयमा नेपालगन्ज विमानस्थलको मर्मत सम्भार कार्य ३० प्रतिशत मात्र भएपछि ठेकेदार कम्पनीले म्याद थप खेलको चलखेल गरेको खुलासा भएको छ । पप्पु–लुम्बिनी एपेक्स जेभीले सम्झौता अनुसार काम सक्नुपर्ने बेला ३० प्रतिशत मात्र प्रगति गरेपछि निर्माणमा म्याद थपको चलखेल भएको हो ।

 
पश्चिम नेपालकै प्रमुख ‘हवाई हब’ का रुपमा रहेको नेपालगन्ज विमानस्थलको मर्मत सम्भारका लागि निर्माण कम्पनीले ढिलाई गर्दा यात्रुहरुले थप केही महिना सास्ती खेप्नुपर्ने भएको छ । सम्झौता अनुसार काम गर्न नसकेपछि पप्पुले २०७४ चैत्र मसान्तसम्म थप म्यादको प्रपञ्च गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

 
२१ करोडमा टेण्डर गरिएको उक्त ठेक्का पप्पु, लुम्बिनी एपेक्स जेभीले झण्डै ३३ प्रतिशत (झण्डै ७ करोड रुपैयाँ) कममा गर्ने गरि सम्झौता गरेको थियो । सम्झौता अनुसार, २०६३ साल पुस १७ गते सम्झौता गरि उक्त निर्माण कार्य २०७४ माघ २ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । ‘तर, फागुनको दोस्रो सातासम्म ३० प्रतिशत मात्र प्रगति देखिएको छ’, स्रोतले भन्यो ।

 
निर्माण कार्यमा यस क्षेत्रमा निकै ‘बदनामी’ कमाएको पप्पु कन्सट्रक्सनले पहुँचको भरमा ठेक्का हात सफल भएको थियो । म्याद थपका चलखेलमा लागेको पप्पुले भने खोलाबाट गिट्टी ल्याउन नपाएको, स्थानीय तथा राष्ट्रिय निर्वाचन लगायतको विभिन्न बहाना देखाएर काम गर्न नसकिएको भन्दै ८८ दिन म्याद थप गर्न सफल भएको हो ।

 
आयोजनाका गुणस्तरियताका लागि सडक विभागको डिजाइन अनुसार कार्य भैरहेको र निर्माण कार्य मापदण्ड अनुरुप जाँच गर्ने काम समेत भैरहेको उक्त आयोजनाका प्रमुख इन्जिनियर योगेन्द्र राज शर्माले जानकारी दिए । ‘यहाँ स्तरिय मान्छे नपाइने रहेछ, कलकत्ता, पटना लगायतका ठाउँबाट कार्य गर्न कामदार एवं प्राविधिकहरु कार्यरत रहे पनि अनुभवी कामदारहरुको अभाव देखियो’, इन्जिनियर शर्माले दैनिक नेपालगन्जसँग भने, ‘रोलर चलाउने मान्छे अर्को ल्याउनलाई सुझाव दिएका छौं । पप्पु कन्सट्रक्सनलाई हामीले अन्य स्थानमा गरिएको जस्तो लापरवाही र गुणस्तरहीन काम गर्नका लागि रोक्ने प्रयासमा छौं ।’

 
‘काम अझै नसकिएकाले सन्तोषजनक भन्नुपर्दछ । प्लेन पार्किङ एरियाको निर्माण कार्य त ठिकै छ तर लेवलिङ कार्य भने सोंचे जस्तो भएको छैन’, तारा एयरका पाइलट सञ्जीव श्रेष्ठले भने । उक्त ठेक्का अन्र्तगत जहाज पार्किङ, धावन मार्गमा जहाज जाने बाटो र धावन मार्ग बनाउने काम गरिसक्नुपर्ने भए पनि हाल धावन मार्गको पुरै काम बाँकी रहेको बताइन्छ ।

 
नागरिक उडड्यन प्राधिकरण, नेपालगन्ज विमानस्थलका प्रमुख प्रताप बाबु तिवारीले यात्रु सुविधालाई मध्यनजर गरेर स्वरुपमा बिस्तार गर्न लागिएको जानकारी दिए । प्रमुख तिवारीका अनुसार निर्माण कार्य ‘रन वे’को काम सुरु नै नभएका कारण थप केही महिना दिउँसो ३ बजे पछि उडान रोकिने बताए । ‘धावन मार्ग भत्किनु भन्दा अगाडि प्रत्येक १० वर्षमा गरिने योजना अनुरुप यो १ महिना देखि निर्माण कार्य फागुन १९ गते सम्मलाई सुचना जारी गरि ३ बजे पछि उडान रोकिएको भए पनि निर्माण कार्य नसकिएकाले थप १ महिना उडान कार्य प्रभावित हुने भएको छ’, प्रमुख तिवारीले दैनिक नेपालगन्जसँग भने ‘गुणस्तरियताका निम्ति प्राविधिक टोलीले नियमित जाँच गर्ने गरेको छ ।’

 
प्रमुख तिवारीले निर्माणको गति सन्तोषजनक नभएको टिप्पणी गर्दै केन्द्रबाटै काम भैरहेकाले त्यसबारे आफुले धेरै बोल्न नमिल्ने बताए । ‘गत आर्थिक बर्षमै ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने थियो’, तिवारीले आगामी शनिबारसम्म काम सकिइसक्ने योजना अनुसार उडान रोक्दै आएपनि काम पूरा नभएकाले थप समय लाग्ने बताए ।

 
भैरहेको गुणस्तरमा पनि प्रश्न उठाइसकिएको छ । ‘पिचलाई नजिकबाट नियाल्नु भयो भने घाँस उम्रिएका देखिन्छन्’, एक सुरक्षा अधिकारीले काम सम्पन्न नहुँदै गुणस्तरको चेकजाँचमा अख्तियारले निगरानी गर्नुपर्ने ध्यानाकर्षण गराउँदै दैनिक नेपालगन्जसँग भने । म्याद थप र गुणस्तरबारे ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारले आफुले त्यसबारे नहेरेकाले प्रतिक्रिया दिन नसक्ने बताए । ‘नेपालगन्जमा छोरा सुमितले हेर्छन्’, सांसद समेत रौनियारले दैनिक नेपालगन्ज सँगको सम्पर्कमा भने, ‘उनीसँगै यसबारे जानकारी लिनुहोला ।’ सुमितले भने गरिएको टेलिफोन उठाएनन् ।

 
गत वर्षको तुलनामा ५८.६ प्रतिशत हवाई यात्रु वृद्धि भएको नेपालगन्ज विमानस्थलमा निर्माण कार्यको ढिला सुस्तीले नकारात्मक असर पुगेको यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् । सन् २०१७ को अन्त सम्म ३ लाख ७० हजार ३ सय ९८ हवाई यात्रु यात्रा गरेको नेपालगन्ज विमानस्थलमा जहाजको उडान पनि २२ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

लोभ्याउँदै अदालत

सेवाग्राही मैत्री ब्यवस्थापन र पारदर्शितामा विशेष पहल

दैनिक नेपालगन्ज

अदालत सुन्ने वित्तिकै मानिसको मनमा विभिन्न आशंका र त्रास उत्पन्न हुन्छ । तर, बाँके जिल्ला अदालत नागरिकमैत्री सेवा प्रवाह गर्न आफ्नो कार्यशैलीमा समयानुकूल परिवर्तन गर्दै आएको छ ।

अदालतमा नागरिकमैत्री सेवा प्रवाह गर्नका लागि ब्यवस्थापकीय पद्दतीमा सुधार गरिँदै लगिएको छ । सेवाग्राही बस्ने प्रतिक्षालय देखि खानेपानी सम्म सुधार गरेको अदालतले पछिल्लो समय सुरक्षा र कर्मचारी संवेदनशीलतालाई ध्यानमा राख्दै सिसिटिभी जडान गरेको छ ।

गर्मीको समयमा लोडसेडिङबाट अक्रान्त हुने बाँकेमा अदालतले ७ केभीको सोलार जडान गरेको छ । ‘टाढाबाट आउने सेवाग्राही कम्प्युटर नचलेकै कारण अनावश्यक खर्च ब्यहोर्न बाध्य हुनु पर्ने परिस्थितिलाई सुधार गरिएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अदालतका श्रेस्तेदार उपसचिव डण्डपाणि लामिछानेले भने, ‘हामी सेवाग्राहीको हितमा काम गर्न सँधै तात्पर छौं ।’ ‘अदालत आउँदा डराउनु पर्ने, पन्छिनु पर्ने स्थिति छैन’, लामिछानेले भने, ‘निरन्तर नागरिकमैत्री सेवा प्रवाहका लागि हामी पहल गर्दै आएका छौं ।’ अचेल न्यायाधीश पनि गाउँमा जनतामाझ जान थालेपछि अदालतलाई हेर्ने दृष्टिकोण विस्तारै परिवर्तन हुन थालेको उनले बताए ।

कर्मचारीको आचरण, अदालतको कार्यशैली, सुरक्षा, सुशासन र पारदर्शितामा गुनासो आउन नदिनका लागि अदालतमा ८ वटा सिसि क्यामरा जडान गरिएको छ । ३० दिन सम्मको रेकर्ड राख्ने व्यवस्था रहेको सिसिटिभीमा नागरिक गुनासो आउने वित्तिकै हेरविचार र कारवाही गर्न सक्ने व्यवस्था रहेको श्रेस्तेदार लामिछानेले बताए ।

‘अदालत निरन्तर आफुलाई अपडेट गर्दै गएको छ’, लामिछानेले भने, ‘पुरानो शैली र परम्परागत आधारबाट न्याय प्रणाली चल्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै अदालत पनि आधुनिकता तिर आकर्षित भएको हो ।’ पीडित मैत्री इजलासपनि अदालतमा राखिएको छ । बाल इजलाशको सेवा प्रवाह गरिरहेको बाँके जिल्ला अदालतले पीडित भएर अदालतमा न्याय प्राप्त गर्न पुगेका पीडितहरुका लागि पीडित मैत्री कक्ष, छुटै सुरक्षित र गोप्य कोठा संचालनमा ल्याएको छ ।

पछिल्लो दुई वर्ष भित्र अदालतले आफुलाई परिमार्जित गर्दै सेवाग्राहीको हितमा काम गर्न अग्रसर हुँदै गएको छ । सेवाग्राहीबाट अनुचित लाभ लिन सक्ने कर्मचारीहरु माथि लगाम लगाउन अदालतले झ्याल बाहिरबाटै सेवा प्रवाहको विधि अवलम्बन गरेको छ ।

‘हामी अहिले पनि कर्मचारी ब्यवस्थापनकै चुनौतीमा छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै श्रेस्तादार उपसचिव लामिछानेले भने, ‘आइटी अफिसर एकवर्ष अघि देखि अदालतमा छैन ।’ ‘काजमा यहाँबाट गएको कर्मचारी पछि राजीनामा दिएको थियो’, उनले भने, ‘अहिलेपनि कम्प्युटर विधिमा अपेक्षानुसार प्रभावकारिता हुन सकेको छैन ।’
‘इन्टरनेट स्लो भएको वा कम्प्युटर काम गर्न छाडेका बखत बाहिरबाट व्यक्ति बोलाउनु पर्छ’, लामिछानेले भने, ‘अदालतमा ८ जना न्यायाधीश हुनु पर्नेमा अहिले ४ जनाबाटै काम चलिरहेको छ ।’ ८ जनाको दरवन्दी रहेको अदालतमा ४ जना न्यायाधीश कार्यरत छन् । न्यायाधीशको उपस्थिति कम भएका कारण न्याय सम्पादनमा पनि प्रभाव परिरहेको लामिछानेले बताए । एक जना न्यायाधीश काजमा दांग गएपछि बाँकी बचेका ५ मध्ये ४ जना अहिले अदालतमा कार्यरत रहेका छन् ।

‘तर, पनि हामी सहज र सुलभ सेवा प्रवाह गर्नमा प्रतिबद्ध छौं’, लामिछानेले भने, ‘न्यायाधीश नियुक्ती प्रक्रिया चलिरहेकोले विस्तारै समस्या समाधान हुने संकेत देखा परेको छ ।’ त्यस बाहेक पनि अदालतमा सुधार हुनु पर्ने दर्जन बढि योजना केन्द्रमा पठाइएको उनले बताए ।

गास, बाँस र कपास मानवीय जीवनका तीन प्रमुख आवश्यकता हुन् । हामी सँगै देश मै एक्लो सरकारी संस्थाको रूपमा कपास विकास समिति छ । यो हाम्रा लागि गर्वको विषय हो । बाँकेको खजुरामा केन्द्रीय कार्यालय राखी सुरु गरिएको यो आयोजनालाई तत्कालीन शासकले पनि विशेष महत्व दिएका कारण २०४५ सालमा तत्कालीन राजा विरेन्द्रले यो समितिको बारेमा चासो राखी भ्रमण समेत गरेका थिए । तर पछिल्लो समय ५० को दशक सम्म राजनीतिक नियुक्तिका लागि पनि तछाडमछाड थियोे यसको लागि अहिले आएर न सम्बन्धित मन्त्रीको चासोको विषय बन्यो यो न त जिल्लाका नेता मन्त्री र सभासद, सांसद बन्दा नै यसले महत्व पायो ।

 

 

५० को दशक सम्म पनि कपास विकास समितिको स्थिति राम्रै थियो अहिले आएर यो अलि गम्भीर अवस्थामा छ । बाँके र बर्दियाका किसान ५० को दशकसम्म कपास खेती प्रति आकर्षित नै थिए कारण थियो यो नगदे बाली हो । किटनाशक औषधीमा आएको समस्या र मेहनत अनुसारको प्रतिफल नआउँदा बिस्तारै कृषकहरुको आकर्षण यो बाली प्रति घट्दै गयो । यो अफिस अहिले समस्या ग्रस्त र चुनौतीपूर्ण अवस्थामा छ ।अब यसको विकास, बिस्तार र गतिशीलताका लागि नयाँ बन्ने प्रदेश सरकारले विशेष कार्यक्रम नै ल्याउनु जरुरी छ । यो आयोजना हाम्रो प्रदेशको नै मुख्य योजनाको रूपमा प्रदेश सरकारले अघि बढाउन पर्छ ।

 

 

बुटवलमा रहेको धागो कारखानालाई पुनर्सञ्चालनमा ल्याउनु पर्छ अनि यो प्रदेशका सबै प्रहरी र सामुदायिक विद्यालयको विद्यार्थी को पोशाक उत्पादनलाई लक्षित गरि कपडा उद्योगको स्थापना गरि यो आयोजनालाई पुनर्जीवन दिन सकिन्छ । यसो गर्न सकिए यो प्रदेशको केही प्रतिशत भए पनि बेरोजगारी र विदेश पलायनको समस्या समाधान गरि देश भित्र नै रोजगारीको वातावरण तयार गर्न सकिन्छ ।

 

 

अहिले भारतबाट आउने सि ग्रेड्को कपासले बजार लिइरहेको छ भने ए ग्रेडको रेसादार कपासको हजारौं टन समितिको गोदाममा थन्किएको अवस्थामा छ । अब सरकारले भारतबाट भित्रिने कपासमा भन्सार दर वृद्धि गरि भारतीय कपासलाई विस्थापन गर्ने नीति तयार गर्नु पर्छ ।

 

 

अहिले पनि बाँके, बर्दिया र दाङमा किसानहरु कपास खेती गरिरहेका छन् । कपास किसानलाई यो खेती प्रति थप आकर्षण गर्न राज्यले बीउ निसुल्क वितरण गर्नु पर्छ र कपासमा प्रयोग हुने विषादीमा किसान लाई सहुलियत दिनु पर्दछ । कपासमा प्रयोग हुने विषादी कारण किसानको स्वास्थ समेत जोखिममा पर्ने हुँदा विषादी छर्किदा लगाउने एप्रोन देखि कपास किसानको स्वास्थ्य विमा समेतमा राज्यले ध्यान पुर्याउनु पर्दछ ।

 

 

राज्यले कपास खेतिलाई मध्यनजर गर्दै यो खेती हुने गाउँपालिका र नगरपालिका हरुमा जेटि–जेटिएको विशेष दरबन्दीको व्यवस्थापन गर्नु पर्दछ । नेपालमा कपास उत्पादनलाई वृद्धि गर्दै यसको अन्तर्राष्ट्रिय बजारिकरण लाई पनि ध्यान दिन जरुरी छ । कपास विकास समितिको ठुलो क्षेत्रफलको जग्गा द्वन्द्वकाल मा समितिको स्वामित्व भन्दा बाहिर गयो । बर्दियाको ताराताल कुम्भरमा रहेको सो जग्गाको कानुनी रूपमा कपास बिकास समिति कै रहेपनि समितिले उपभोग गर्न पाएको छैन । अब सो जग्गामा विशेष कपास खेती अनुसन्धान र बिस्तार योजना अघि बढाउन प्रदेश सरकारले तत्परता देखाउनु पर्दछ ।

 

 

कपास विकासको पुनर्जीवनले हाम्रो प्रदेशको समृद्धिको एउटा ढोका उघार्ने छ त्यसैले कपास समितिको नयाँ अध्याय सुरुका लागि ‘कपास अध्ययन अनुसन्धान र बिस्तारिकरण उच्च स्तरीय आयोग’ बन्नु जरुरी छ ।

सम्भावनाको सहर

नेपाल र गन्जको मिश्रित स्वरुपबाट स्थापित नेपालगन्ज, नेपालको प्राचीन इतिहास बोकेको सहर हो । नेपालगन्ज सहरको स्थापना यात्रा १८५७ सालबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजबाट नयाँ मुलुकका रुपमा बाँकेलाई हत्याएपछि उनले नेपालगँज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारतीय सहर हजरतगन्जको मोडेलमा नेपालगञ्जको संरचना निर्माण गरिएको हो । विक्रम सम्वत् २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट नगर स्थापना भएको हो ।

 
नेपालगन्ज, थुप्रै सम्भावनाको सहर पनि हो । नेपालगञ्जलाई पश्चिम नेपालकै ‘गेट वे’ पनि मानिन्छ । विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, भेषभुषा भएका बहुसांस्कृतिक सम्प्रदायहरुको संगम स्थल पनि हो, नेपालगन्ज । ८५.९४ वर्ग किमी क्षेत्रफल रहेको नेपालगन्ज उपमहानगरपालिकामा अहिले २३ वडा रहेका छन् । १ लाख ३८ हजार ९ सय ५१ जनसंख्या रहेको नेपालगन्जमा पर्याप्त विकासका पूर्वाधार÷संरचनाहरु पनि छन् । क्षेत्रीय विमानस्थल, वैदेशिक नाका, महत्वपूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यालय, व्यवस्थित औद्योगिक क्षेत्र, शैक्षिक संस्था, अष्पताल तथा सुरक्षा निकायका कार्यालयहरु पनि छन् । विकासका प्रशस्तै सम्भावनाहरु बोकेको नेपालगन्जलाई संघीय राजधानी हुनबाट रोक्ने प्रयास गरिएपनि समग्र विकासको सम्भावनाबाट पनि अब कसैले रोक्न सक्ने छैन । विशेषतः फोहर, डुबान र खाल्डाखुल्डी रहित नेपालगन्ज बनाउने चुनौती हाम्रा सामु छन् तथापी नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो चरणमा विकासको गतीलाई तिव्रता दिएको छ । नगर प्रमुख डा. धवल समशेर राणा नगरलाई शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग वाणिज्य क्षेत्रको हब बनाउने अभियानका साथ लागेको बताउँछन् ।

भौतिक पूर्वाधार निर्माण

नेपालगन्जको समग्र विकासले तिव्रता पाउँदै गएको छ । विकासको मेरुदण्ड मानिने भौतिक पूर्वाधारका दर्जनौं योजना निर्माण भइसकेका छन् भने थप आशलाग्दा केही संरचनाहरु पनि निर्माण हुने क्रममा छन् । जसले नेपालगन्जको स्वरुपमा नै परिवर्तन गर्ने आशा गरिएको छ । पछिल्लो समय नेपालगन्जमा सडक सञ्जालको व्यापक विस्तार भएको छ । रत्नराजमार्ग अन्तर्गत कोहलपुर–राँझा–जमुनाहा सडक निर्माणपछि नेपालगन्जको रौनक नै फेरिएको छ । एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास परियोजना मार्फत नगरका अधिकांस सडक, ढल, नाली निर्माण गरिसकिएका छन् । करिब एक अर्ब लगानीमा ८ किलोमिटर सहरी सडक पिच र ६० किलोमिटर ढल निर्माण भइसकेको छ भने दोस्रो चरणमा पनि सडक पिच र ढल निर्माणको काम हुने तयारीमा छ ।

 

 

अधुरो सडक, ढल÷नालाहरुको पूर्वाधार विकासका लागि एशियाली विकास वैंकबाट क्षेत्रीय शहरी विकास परियोजना मार्फत एक अरव ७१ करोड प्राप्त हुने निश्चित भएको उपमहानगरपालिकाले जनाएको छ । सम्भवतः अबको केही दिनमै रोड र ढल निर्माण प्रक्रिया सुरु भइसक्ने छ । यसपाली ३६ किमी एस्फाल्ट रोड बन्ने परियोजनाले जनाएको छ । यस्तै उपमहानगरपालिकाबाट पनि ५० किमि बढी सडक बन्ने योजना अघि सारिएको छ । यसपाली विशेष गरि नेपालगन्जको पुरानो शहरी क्षेत्रमा पनि सडक विकास, विस्तार हुँदैछ । सडक खाली गर्न कठिन हुँदै आएको सदरलाइन (चारवाहीनी–त्रीवेणीमोड) क्षेत्रमा चाँडै सडक विस्तार हुँदैछ । यस्तै एकलैनीमा पनि सडक बन्ने सम्भावना छ । वडा कार्यालयसम्म पुग्ने सडक र कालोपत्रे निर्माणको योजना पनि अघि सारिएको छ । तत्कालीन गाविस रहेका वडामा पनि सडक पहुँचसँगै सरकारीे सेवा प्रवाह, ब्यवसाय÷कारोबारको सम्भावना पनि सहज र प्रभावकारी हुने देखीनेछ । एम्वुलेन्स, दमकल नपस्ने साँघुरो सडक विस्तारपछि ब्यवस्थित सहर बन्दैछ । रोडले यात्रुलाई सहज मात्र भएको छैन, व्यापार व्यवसाय बढनुका साथै नगरको सौन्दर्यता थपिएको छ । उप–महानगरपालिकाको आन्तरिक श्रोतबाट करिव ११ किमि सडक पिच गरिएको थियो ।

 

 
व्यवस्थित बसपार्कको अभाव झेल्दै आएको नेपालगन्जमा अब अत्याधुनिक बसपार्क निर्माण हुँदैछ । कान्तिताललाई अत्याधुनीक पर्यटकीय केन्द्रका रुपमा विकास गरिदैछ । लथालिङ रानीतलाउको पुननिर्माण कार्य बढाइदैछ । वाटरपार्क व्यस्थित गर्ने कार्य पनि अगाडी बढाइदैछ । यस्तै नेपालगञ्जमा शिक्षा, स्वास्थ्यसँग सम्वन्धित महत्वपूर्ण संरचना र इन्स्टिच्युट निर्माण भइरहेका छन् । ठुलो लगानीका नयाँ उद्योग, ठुला होटेल, कटेजहरु खुल्ने क्रम पनि रोकिएको छैन । यी र यस्तै थुप्रै पूर्वाधार र विकासका काम हुँदैछन् ।

 
क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्ज

नेपालगन्ज फोहर सहरका रुपमा बदनाम छ । उपमहानगरपालिकाका तर्फबाट दिनहुँ सडक सफाई भइरहेको छ तर पनि फोहर जहाँतही देखिन्छ । यतिका बावजुद पनि निराशा मात्र हैन, केहीआशा पनि पलाएको छ । क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्ज लगायत अभियान सञ्चालित छन् । थुप्रै संघसंस्थाले हरेक शनिवार सरसफाई गरिरहेका छन् । विशिष्ठ व्यक्तिहरुको सहभागिता पनि बढिरहेको छ । विभिन्न वडा, टोलमा स्वस्फूर्त झाडु लगाउनुलाई पनि मानवीय विकासको फड्को मान्नु पर्छ । डा. विनोद कर्णको क्लीन एण्ड ग्रीन नेपालगन्जको अभियानलाई नेपालगन्ज उपमहानगरपालिकाले समेत आत्मसाथ गरेर सुन्दर सहरको अभियान सुरु गरेको छ । सुर्खेतरोडको ग्रीन वेल्टमा सयौंको संख्यामा विरुवा रोपेर संरक्षण गरिएको छ । यसमा वैंकर्स र होटेल व्यवसायीले पनि सहकार्य गरिरहेका छन् ।

 

 
नालामा फोहर, दिशा, झारपात, प्लाष्टिकजन्य वस्तु फाल्ने संस्कारलाई चिर्नु अहिलेको हाम्रो चुनौती हो । उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखाका अनुसार २३ वडामा अहिले पनि दैनिक ३५ टन फोहर उत्पादन हुने गर्दछ । तर, करिव २९ टन फोहर मात्र संकलन (नसकेर) गर्ने गरिएको छ । यसले के देखाउँछ भने उपमहानगरपालिकाको एकल पहलले फोहर व्यवस्थापन सम्भव छैन । यसका लागि सबैको हातेमालो जरुरी छ । क्लीन एण्ड ग्रीन नगर बनाउन सहज छैन । तर, असम्भव पनि छैन । केवल सकारात्मक इच्छा शक्ति चाहिएको छ । हरेक व्यक्ति÷परिवारले सकभर फोहरै नगर्ने, फोहर छुट्याएर, व्यवस्थापन गर्ने वा तोकिएको समय र स्थानमा राखीदिने, सम्वद्ध निकायले कानून कार्यान्वयन तथा अनुगमन गरिदिने हो भने पनि फोहर व्यवस्थित गर्न सकिन्छ । फोहर मेरै लागि नै घातक छ भन्ने कुरा हरेक नागरिकले आत्मसात गर्न जरुरी छ । हिरमिनियामा फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माणाधिन छ । यो निर्माणले पनि फोहरको ठुलो समस्यालाई हल गर्छ ।

 

 

यस्तै ढल नाला व्यस्थित नहुँदा सहर सुन्दर र स्तरोन्नतीका हुन सक्तैन । क्षेत्रीय सहरी विकास परियोजनामार्फत पुनः ४० किमी ढल/ नाला निर्माण हुँदैछ । उपमहानगरपालिकाले अहिले एक घर एक विरुवा अनरुप नक्सा इजाजत दिइएपनि पछि एक व्यक्ति एक विरुवाको अवधारणालाई अवलम्वन गर्ने प्रयास गरिरहेको छ । खुला दिसामुक्त पनि चुनौती बन्दै आएको नगरमा अब ८ वडा खुलादिसामुक्त हुन बाँकी छन् । फोहरी शहरको परिचय बदल्न नेपालगञ्बासी स्वंय बदलीने तयारीमा छन् ।

 

पर्यटकीय सम्भावना

नेपालगन्जमा पनि पर्यटकीय सम्भावना छ । बागेश्वरी मन्दिरलाई पनि पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । मन्दिर दर्शन तथा अवलोकनका लागि आउने स्वदेश तथा विदेशी पर्यटकहरुलाई थप पर्यटकीय स्थानमा पु¥याउन सक्नु पर्ने हुन्छ । मस्जिद, गुरुद्वारा, चर्च, गुम्वाहरु पनि पर्यटकका लागि अध्यन र अवलोकनका क्षेत्र हुन सक्छन् । नेपालगन्ज नगरभित्र अवस्थित महेन्द्र पार्क, वाटरपार्क, रानी तलाउ पनि पर्यटकका लागि गन्तव्य बन्न सक्छन् । यस्तै अन्य क्षेत्रका लागि आउने पर्यटकलाई बास बसाएर पनि आयश्रोत वृद्धि गर्न सकिने हुन्छ । नेपालगन्ज भुगोल, धर्म, सस्कृति एवं परम्पराका हिसावले विविधतायुक्त क्षेत्र हो । नेपालगन्जको धार्मिक र सांस्कृतिक समन्वय र सहकार्य पनि पर्यटकका लागि आकर्षण हुन सक्छ । लोपोन्मुख अवस्थामा रहेका जाति, सम्प्रदायका चाडपर्व, चाल चलन, संस्कृति पनि अध्ययनको पाटो बन्न सक्छ । यस्तै बाँके राष्ट्रिय निकुन्ज, ढकेरी–उद्यान पार्क), अगैया (सिक्टा नहर), होम स्टे (गाभर) आदि जाने पर्यटकबाट पनि नेपालगन्जले लाभ लिन सक्छ । पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रर्वद्धनका लागि स्थानीय सरकार, समुदाय, सञ्चार माध्यमको पनि आपसी सहकार्यको खाँचो छ ।

 

 

सकरात्मक सोंचको विकास

भौतिक विकासलाई मात्र विकास मान्न सकिदैन, सिद्धान्तले पनि मिल्दैन । मानवीय सोंच र व्यवहार परिवर्तनलाई पनि विकासको खुड्किलो मान्ने हो भने नेपालगन्जीया विस्तारै वामे सर्दैछन् । सूचना, सञ्चार, प्रविधि र विज्ञानको विकाससँगै आफुलाई समाहित गर्न अब लालायित हुँदैछन् । स्थानीयमा विकासको सपना नहुनु पनि विगतमा नेपालगन्ज विकासको बाधक हो । पछिल्लो समयमा भने केही आशा पलाएको छ । नगरको विकाससँगैको स्थानीयको चासो र सक्रियता पनि बढेको छ । मौन बस्ने र विकासमा सक्रियता नदेखाउने प्रवृत्तिलाई अबको नयाँ पुस्ताले चिर्दै लगेको छ । विस्तारै विकासमा साझा दृष्टिकोण र अग्रसरता बढिरहेको छ । सुर्खेतरोड, सदरलाइन सडक विस्तारमा देखिएको चाँसो र सक्रियताले विकासको सम्भावनालाई निम्त्याइरहेको छ । विकासका लागि हामी स्वयं भन्ने भावना जनतामा जागृत भइदिने हो भने विकास आफै आउँछ । विभिन्न आयोजना सञ्चालन भइरहेको नेपालगन्जको समग्र विकासमा अब केवल सकरात्मक साेंच, एकता अनि सहभागिताको आवश्यक्ता छ । (लेखक नेपालगन्ज उपमहानगरपालिकाका पे्रस सल्लाहकार हुन्)