नेपाल र गन्जको मिश्रित स्वरुपबाट स्थापित नेपालगन्ज, नेपालको प्राचीन इतिहास बोकेको सहर हो । नेपालगन्ज सहरको स्थापना यात्रा १८५७ सालबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजबाट नयाँ मुलुकका रुपमा बाँकेलाई हत्याएपछि उनले नेपालगँज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारतीय सहर हजरतगन्जको मोडेलमा नेपालगञ्जको संरचना निर्माण गरिएको हो । विक्रम सम्वत् २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट नगर स्थापना भएको हो ।
नेपालगन्ज, थुप्रै सम्भावनाको सहर पनि हो । नेपालगञ्जलाई पश्चिम नेपालकै ‘गेट वे’ पनि मानिन्छ । विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, भेषभुषा भएका बहुसांस्कृतिक सम्प्रदायहरुको संगम स्थल पनि हो, नेपालगन्ज । ८५.९४ वर्ग किमी क्षेत्रफल रहेको नेपालगन्ज उपमहानगरपालिकामा अहिले २३ वडा रहेका छन् । १ लाख ३८ हजार ९ सय ५१ जनसंख्या रहेको नेपालगन्जमा पर्याप्त विकासका पूर्वाधार÷संरचनाहरु पनि छन् । क्षेत्रीय विमानस्थल, वैदेशिक नाका, महत्वपूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यालय, व्यवस्थित औद्योगिक क्षेत्र, शैक्षिक संस्था, अष्पताल तथा सुरक्षा निकायका कार्यालयहरु पनि छन् । विकासका प्रशस्तै सम्भावनाहरु बोकेको नेपालगन्जलाई संघीय राजधानी हुनबाट रोक्ने प्रयास गरिएपनि समग्र विकासको सम्भावनाबाट पनि अब कसैले रोक्न सक्ने छैन । विशेषतः फोहर, डुबान र खाल्डाखुल्डी रहित नेपालगन्ज बनाउने चुनौती हाम्रा सामु छन् तथापी नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो चरणमा विकासको गतीलाई तिव्रता दिएको छ । नगर प्रमुख डा. धवल समशेर राणा नगरलाई शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग वाणिज्य क्षेत्रको हब बनाउने अभियानका साथ लागेको बताउँछन् ।
भौतिक पूर्वाधार निर्माण
नेपालगन्जको समग्र विकासले तिव्रता पाउँदै गएको छ । विकासको मेरुदण्ड मानिने भौतिक पूर्वाधारका दर्जनौं योजना निर्माण भइसकेका छन् भने थप आशलाग्दा केही संरचनाहरु पनि निर्माण हुने क्रममा छन् । जसले नेपालगन्जको स्वरुपमा नै परिवर्तन गर्ने आशा गरिएको छ । पछिल्लो समय नेपालगन्जमा सडक सञ्जालको व्यापक विस्तार भएको छ । रत्नराजमार्ग अन्तर्गत कोहलपुर–राँझा–जमुनाहा सडक निर्माणपछि नेपालगन्जको रौनक नै फेरिएको छ । एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास परियोजना मार्फत नगरका अधिकांस सडक, ढल, नाली निर्माण गरिसकिएका छन् । करिब एक अर्ब लगानीमा ८ किलोमिटर सहरी सडक पिच र ६० किलोमिटर ढल निर्माण भइसकेको छ भने दोस्रो चरणमा पनि सडक पिच र ढल निर्माणको काम हुने तयारीमा छ ।
अधुरो सडक, ढल÷नालाहरुको पूर्वाधार विकासका लागि एशियाली विकास वैंकबाट क्षेत्रीय शहरी विकास परियोजना मार्फत एक अरव ७१ करोड प्राप्त हुने निश्चित भएको उपमहानगरपालिकाले जनाएको छ । सम्भवतः अबको केही दिनमै रोड र ढल निर्माण प्रक्रिया सुरु भइसक्ने छ । यसपाली ३६ किमी एस्फाल्ट रोड बन्ने परियोजनाले जनाएको छ । यस्तै उपमहानगरपालिकाबाट पनि ५० किमि बढी सडक बन्ने योजना अघि सारिएको छ । यसपाली विशेष गरि नेपालगन्जको पुरानो शहरी क्षेत्रमा पनि सडक विकास, विस्तार हुँदैछ । सडक खाली गर्न कठिन हुँदै आएको सदरलाइन (चारवाहीनी–त्रीवेणीमोड) क्षेत्रमा चाँडै सडक विस्तार हुँदैछ । यस्तै एकलैनीमा पनि सडक बन्ने सम्भावना छ । वडा कार्यालयसम्म पुग्ने सडक र कालोपत्रे निर्माणको योजना पनि अघि सारिएको छ । तत्कालीन गाविस रहेका वडामा पनि सडक पहुँचसँगै सरकारीे सेवा प्रवाह, ब्यवसाय÷कारोबारको सम्भावना पनि सहज र प्रभावकारी हुने देखीनेछ । एम्वुलेन्स, दमकल नपस्ने साँघुरो सडक विस्तारपछि ब्यवस्थित सहर बन्दैछ । रोडले यात्रुलाई सहज मात्र भएको छैन, व्यापार व्यवसाय बढनुका साथै नगरको सौन्दर्यता थपिएको छ । उप–महानगरपालिकाको आन्तरिक श्रोतबाट करिव ११ किमि सडक पिच गरिएको थियो ।
व्यवस्थित बसपार्कको अभाव झेल्दै आएको नेपालगन्जमा अब अत्याधुनिक बसपार्क निर्माण हुँदैछ । कान्तिताललाई अत्याधुनीक पर्यटकीय केन्द्रका रुपमा विकास गरिदैछ । लथालिङ रानीतलाउको पुननिर्माण कार्य बढाइदैछ । वाटरपार्क व्यस्थित गर्ने कार्य पनि अगाडी बढाइदैछ । यस्तै नेपालगञ्जमा शिक्षा, स्वास्थ्यसँग सम्वन्धित महत्वपूर्ण संरचना र इन्स्टिच्युट निर्माण भइरहेका छन् । ठुलो लगानीका नयाँ उद्योग, ठुला होटेल, कटेजहरु खुल्ने क्रम पनि रोकिएको छैन । यी र यस्तै थुप्रै पूर्वाधार र विकासका काम हुँदैछन् ।
क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्ज
नेपालगन्ज फोहर सहरका रुपमा बदनाम छ । उपमहानगरपालिकाका तर्फबाट दिनहुँ सडक सफाई भइरहेको छ तर पनि फोहर जहाँतही देखिन्छ । यतिका बावजुद पनि निराशा मात्र हैन, केहीआशा पनि पलाएको छ । क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्ज लगायत अभियान सञ्चालित छन् । थुप्रै संघसंस्थाले हरेक शनिवार सरसफाई गरिरहेका छन् । विशिष्ठ व्यक्तिहरुको सहभागिता पनि बढिरहेको छ । विभिन्न वडा, टोलमा स्वस्फूर्त झाडु लगाउनुलाई पनि मानवीय विकासको फड्को मान्नु पर्छ । डा. विनोद कर्णको क्लीन एण्ड ग्रीन नेपालगन्जको अभियानलाई नेपालगन्ज उपमहानगरपालिकाले समेत आत्मसाथ गरेर सुन्दर सहरको अभियान सुरु गरेको छ । सुर्खेतरोडको ग्रीन वेल्टमा सयौंको संख्यामा विरुवा रोपेर संरक्षण गरिएको छ । यसमा वैंकर्स र होटेल व्यवसायीले पनि सहकार्य गरिरहेका छन् ।
नालामा फोहर, दिशा, झारपात, प्लाष्टिकजन्य वस्तु फाल्ने संस्कारलाई चिर्नु अहिलेको हाम्रो चुनौती हो । उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखाका अनुसार २३ वडामा अहिले पनि दैनिक ३५ टन फोहर उत्पादन हुने गर्दछ । तर, करिव २९ टन फोहर मात्र संकलन (नसकेर) गर्ने गरिएको छ । यसले के देखाउँछ भने उपमहानगरपालिकाको एकल पहलले फोहर व्यवस्थापन सम्भव छैन । यसका लागि सबैको हातेमालो जरुरी छ । क्लीन एण्ड ग्रीन नगर बनाउन सहज छैन । तर, असम्भव पनि छैन । केवल सकारात्मक इच्छा शक्ति चाहिएको छ । हरेक व्यक्ति÷परिवारले सकभर फोहरै नगर्ने, फोहर छुट्याएर, व्यवस्थापन गर्ने वा तोकिएको समय र स्थानमा राखीदिने, सम्वद्ध निकायले कानून कार्यान्वयन तथा अनुगमन गरिदिने हो भने पनि फोहर व्यवस्थित गर्न सकिन्छ । फोहर मेरै लागि नै घातक छ भन्ने कुरा हरेक नागरिकले आत्मसात गर्न जरुरी छ । हिरमिनियामा फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माणाधिन छ । यो निर्माणले पनि फोहरको ठुलो समस्यालाई हल गर्छ ।
यस्तै ढल नाला व्यस्थित नहुँदा सहर सुन्दर र स्तरोन्नतीका हुन सक्तैन । क्षेत्रीय सहरी विकास परियोजनामार्फत पुनः ४० किमी ढल/ नाला निर्माण हुँदैछ । उपमहानगरपालिकाले अहिले एक घर एक विरुवा अनरुप नक्सा इजाजत दिइएपनि पछि एक व्यक्ति एक विरुवाको अवधारणालाई अवलम्वन गर्ने प्रयास गरिरहेको छ । खुला दिसामुक्त पनि चुनौती बन्दै आएको नगरमा अब ८ वडा खुलादिसामुक्त हुन बाँकी छन् । फोहरी शहरको परिचय बदल्न नेपालगञ्बासी स्वंय बदलीने तयारीमा छन् ।
पर्यटकीय सम्भावना
नेपालगन्जमा पनि पर्यटकीय सम्भावना छ । बागेश्वरी मन्दिरलाई पनि पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । मन्दिर दर्शन तथा अवलोकनका लागि आउने स्वदेश तथा विदेशी पर्यटकहरुलाई थप पर्यटकीय स्थानमा पु¥याउन सक्नु पर्ने हुन्छ । मस्जिद, गुरुद्वारा, चर्च, गुम्वाहरु पनि पर्यटकका लागि अध्यन र अवलोकनका क्षेत्र हुन सक्छन् । नेपालगन्ज नगरभित्र अवस्थित महेन्द्र पार्क, वाटरपार्क, रानी तलाउ पनि पर्यटकका लागि गन्तव्य बन्न सक्छन् । यस्तै अन्य क्षेत्रका लागि आउने पर्यटकलाई बास बसाएर पनि आयश्रोत वृद्धि गर्न सकिने हुन्छ । नेपालगन्ज भुगोल, धर्म, सस्कृति एवं परम्पराका हिसावले विविधतायुक्त क्षेत्र हो । नेपालगन्जको धार्मिक र सांस्कृतिक समन्वय र सहकार्य पनि पर्यटकका लागि आकर्षण हुन सक्छ । लोपोन्मुख अवस्थामा रहेका जाति, सम्प्रदायका चाडपर्व, चाल चलन, संस्कृति पनि अध्ययनको पाटो बन्न सक्छ । यस्तै बाँके राष्ट्रिय निकुन्ज, ढकेरी–उद्यान पार्क), अगैया (सिक्टा नहर), होम स्टे (गाभर) आदि जाने पर्यटकबाट पनि नेपालगन्जले लाभ लिन सक्छ । पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रर्वद्धनका लागि स्थानीय सरकार, समुदाय, सञ्चार माध्यमको पनि आपसी सहकार्यको खाँचो छ ।
सकरात्मक सोंचको विकास
भौतिक विकासलाई मात्र विकास मान्न सकिदैन, सिद्धान्तले पनि मिल्दैन । मानवीय सोंच र व्यवहार परिवर्तनलाई पनि विकासको खुड्किलो मान्ने हो भने नेपालगन्जीया विस्तारै वामे सर्दैछन् । सूचना, सञ्चार, प्रविधि र विज्ञानको विकाससँगै आफुलाई समाहित गर्न अब लालायित हुँदैछन् । स्थानीयमा विकासको सपना नहुनु पनि विगतमा नेपालगन्ज विकासको बाधक हो । पछिल्लो समयमा भने केही आशा पलाएको छ । नगरको विकाससँगैको स्थानीयको चासो र सक्रियता पनि बढेको छ । मौन बस्ने र विकासमा सक्रियता नदेखाउने प्रवृत्तिलाई अबको नयाँ पुस्ताले चिर्दै लगेको छ । विस्तारै विकासमा साझा दृष्टिकोण र अग्रसरता बढिरहेको छ । सुर्खेतरोड, सदरलाइन सडक विस्तारमा देखिएको चाँसो र सक्रियताले विकासको सम्भावनालाई निम्त्याइरहेको छ । विकासका लागि हामी स्वयं भन्ने भावना जनतामा जागृत भइदिने हो भने विकास आफै आउँछ । विभिन्न आयोजना सञ्चालन भइरहेको नेपालगन्जको समग्र विकासमा अब केवल सकरात्मक साेंच, एकता अनि सहभागिताको आवश्यक्ता छ । (लेखक नेपालगन्ज उपमहानगरपालिकाका पे्रस सल्लाहकार हुन्)