‘प्रदेशलाई पहिलो बनाउन चुनौति’
पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले संसदमा दुई तिहाई मत पाएका छन् । आइतबार प्रदेश सभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई सुविधाजनक दुई तिहाई पाएका हुन् ।
गत फागुन ३ गते शपथ लिएका मुख्यमन्त्री पोखरेलले २४ दिनपछि संसदमा विश्वासको मत मागेका हुन् । उनले संसद संख्याको तीन चौथाई मत पाएका छन् । संसदमा उपस्थित ८४ सांसदमध्ये उनलाई ६६ जना सांसदले मत विभाजनबाट पक्षमा मत दिएका थिए । काँग्रेसका १८ जना सांसदमात्रै उनको विपक्षमा मत दिएका छन् ।
मुख्यमन्त्रीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । माओवादी केन्द्रका सांसद तिलकराम शर्माले समर्थन गरेका थिए । मुख्यमन्त्रीको समर्थनमा एमालेका सरस्वती गौतम, माओवादीका सर्बजित थारु, संघीय समाजवादी फोरमका सहसराम यादव, राष्ट्रिय जनमोर्चाका तारा जिसीले समर्थन सहित शुभाकामना दिएका थिए । काँग्रेसका बैजनाथ जयसवालले जनअपेक्षा अनुरुप काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले मानव सुचकांकका दृष्टिले चौथो स्थानमा रहेको प्रदेशलाई पहिलो स्थानमा ल्याउने चुनौति रहेको बताएका छन् । पर्यटकीय क्षेत्रका प्रचुर सम्भावना रहेकाले त्यसको समुचित प्रयोग गरेर नमुना प्रदेश बनाइने उनले बताए । प्रदेशमा रहेको ३० प्रतिशत गरिबीलाई हटाउँदै सक्षम प्रदेश बनाउने जिम्मेवारी रहेको भन्दै समग्र क्षेत्रको समुचित विकास आवश्यक रहेको बताए ।
मानव सुचकांकमा पछि परेका रोल्पा, रुकुम, प्युठान लगायतका जिल्लाको आर्थिक अवस्था सुधार्नेदेखि साक्षर प्रदेश निर्माणको चुनौतिलाई सहज रुपमा अवतरण गर्ने दायित्व प्रदेश सरकारलाई रहेको उनले बताए । प्रदेशको समृद्धिको यात्रा सुरु भएको भन्दै लक्ष्य प्राप्ति नहँुदासम्म रफ्तार नरोकीने मुख्यमन्त्री पोखरेलले बताए । अस्थायी मुकाममा पूर्वाधार व्यवस्थापन नहुँदा सरकारले काम सुरु गर्न नसकेको भन्दै स्थायी पूर्वाधार निर्माण नहुञ्जेल वैकल्पिक व्यवस्थापनमा सघाउन सबै पक्षलाई उनले आग्रह गरे ।











