कैलाली घोडाघोडी नगरपालिकाका प्रमुखमाथि गोली प्रहार भएको हो
दैनिक नेपालगन्ज
कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले खुकुरीले आक्रमण गरी गोली गरेको प्रहरीले जनाएको छ । ‘गम्भीर अवस्थाका चौधरीलाई कैलाली प्रहरीले उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पठाएको छ’, घाइतेलाई भेट्न अस्पताल पुगेका संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जका प्रमुख एसएसपी महेश विक्रम शाहले भने ।
नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले सोमबार साँझ खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि कोहलपुर ल्याइएको हो । चौधरीको खुट्टा र कम्मरमा गोली लागेको छ । टाउकोमा खुकुरी प्रहार गरिएको चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ ।
नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन प्रहरीलाई दबाब दिएको आरोप उनीमाथि थियो । नगर प्रमुख चौधरीले उक्त आरोपको प्रतिवाद गर्दै आएका थिए । गोली प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।