‘संघीयता कार्यान्वयन अझै चुनौती’
प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा डा. राजकुमार सुवेदी निर्वाचित भएका छन् । प्रजातान्त्रिक विचार समाजको शनिवार नेपालगन्जमा भएको साधारणसभा तथा जिल्ला अधिवेशनले डा. सुवेदीको अध्यक्षतामा आगामी कार्यकालका लागि जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा दोर्णबहादुर ओली, सचिवमा चित्रबहादुर शाही, सहसचिवमा प्रियास्मृति ढकाल र कोषाध्यक्षमा यशोदा उपाध्याय निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा शुक्रऋषि चौलागाई, मधु पौडेल, ऋषि शर्मा, राम एकपाल मण्डल, अस्मिता शाह, मोहनजंग शाह, अरविन्ददत्त मिश्र, डा. राजेश केशर खनाल, अयूब सिद्दिकी र टेकेन्द्र महतरा छन् । कोषाध्यक्ष उपाध्याय, सह–सचिव ढकाल, सदस्य पौडेल र शर्माबाहेक अध्यक्ष डा. सुवेदीसहितका सबै पुनः निर्वाचित भएका हुन् ।
त्यसअघि, शनिवारनै प्रजातान्त्रिक विचार समाज बाँकेले नेपालगन्जमा आयोजना गरेको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले नेपालमा संघीयता लागू भएपनि कार्यान्वयन गर्न चुनौती रहेको बताएका थिए । उनीहरुले संघीयताको आवश्यकता रहेपनि यसलाई असफल बनाउने प्रयास भइरहेको धारणा राखेका हुन् ।
संघीयताले देशको समृद्धि र विकासमा टेवा पुर्याउने बक्ताहरुको जोड थियो । संघीयताले धेरै अवसर सिर्जना पनि गरेको उनीहरुले बताए । समाजका अध्यक्ष डा. राजकुमार सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा सदस्य शुक्रऋषि चौलागाईंले संघीयताको प्रयोग, असर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिस्ठानका पुर्ब सदस्य सचिव सनत रेग्मी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनजंग शाह र गणेश रेग्मी, सावित्री बस्नेत लगायतले बोलेका थिए ।