सुरु भयो कबड्डी, चेस र महिला हक्की, आजबाट जुडो पनि

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका राष्ट्रिय खेलहरु धमाधम भैरहेका छन् । गत चैत्र २७ गतेदेखि शुभारम्भ भएका प्रतियोगिताहरु मध्ये प्रदेश ५ का विभिन्न जिल्ला स्थित खेलकुद मैदान, पोखरा र काठमाडौंमा आठौं अन्तर्गतका प्रतिस्पर्धाहरु भैरहेका हुन् ।

 
‘बाँकेमा मात्रै विभिन्न ५ वटा प्रतियोगिता चलिरहेका छन्’, आठौंका प्रचार प्रमुख रोहित दाहालले दैनिक नेपालगन्जसँग भने, ‘उत्साहजनक ढंगबाट खेलाडीहरु सबै प्रतिस्पर्धामा बाँडिइरहेका छन् ।’ दाहालका अनुसार, बाँकेमा पुरुष हक्की, फेन्सिङ, पुरुष बक्सिङ्ग, महिला हक्की भैरहेको छ । आज आइतबारबाट जुडो प्रतियोगिता सुरु हुँदैछ ।

 
शनिबारबाट खजुरामा शुक्र मावि खेल मैदान के गाउँ खजुरामा महिला हक्की सुरु भएको हो । खजुरा गाउँपालिका प्रमुख, किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको भव्य समारोह बीच ओलम्पियन समेत रहेका प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले महिला हक्कीको राष्ट्रिय प्रतियोगिता शुभारम्भ गरे ।

 
नेपालगन्जको कारकाँदो स्थित जुडो एकेडेमीमा आज आइतबारदेखि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६औं राष्ट्रिय जुडो प्रतियोगिता सुरु हुँदैछ । जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठका अनुसार, प्रतियोगितामा ११ वटा टिमबाट १ सय ४८ जना खेलाडीहरुले व्यक्तिगत तथा टिम गरी ६० पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 
संघले आइतबार हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिन शनिबार पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, ७७ पुरुष, ७१ महिला गरी १ सय ४८ प्रतिस्पर्धी रहेको जुडोमा २० टिम प्रशिक्षक, १९ व्यवस्थापक ३ जना संघ प्रतिनिधि, २ जुरी र १४ जना निर्णायक लगायतको ठूलो टिम प्रतियोगितालाई सफल पार्न परिचालित छ ।

 


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बर्दियाको बाँसगढीमा नवनिर्मित कबड्डी स्टेडियममा राष्ट्रिय प्रतियोगिताको शुभारम्भ गरे । दिनभर नेपालगन्ज रंगशालामा फिनिसिङ्ग कार्यको दिशा निर्देश गरिरहेका सदस्य सचिव विष्ट दिउँसो प्रतियोगिता उद्घाटन गर्न बर्दिया पुगेका हुन् ।

 
बर्दियामा चेस र खोखो प्रतियोगिता समेत आयोजना हुन लागेको खेलकुद क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । उनका अनुसार, ठाकुरद्वारामा चेस सुरु भएको छ भने भुरीगाउँमा बैशाख ६ गते खोखो प्रतियोगिता सुरु हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया