आठौंबारे व्यवसायीसँग छलफल, महोत्सव र खेलकुद मिति नजुधाउन अनुरोध

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । बिहीबार दाङको भौतिक पूर्वाधारको अध्ययन अनुगमन गरी फर्किएका राखेप सदस्य सचिव विष्ट, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लगायतको टोलीले संघका पदाधिकारीहरुसँग छलफल गरेको हो ।
खासगरी नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी फागुन १६ गतेदेखि औद्योगिक महोत्सवको घोषणा गरेपछि आठौं राष्ट्रिय खेलकुदसँग जुध्ने सम्भावनालाई मध्यनजर भेटघाट छलफल भएको सम्बद्ध स्रोतले जनाएको छ । ‘फागुन १६ देखि झण्डै १० दिन महोत्सव चल्दा त्यसैबीच आठौंको उद्घाटनका लागि सम्भावित योजना बनाइएको छ’, राखेप स्रोत भन्छ, ‘त्यसैले दुवै ठूला आयोजना नजुधोस् भन्ने उद्देश्यले छलफल गरिएको हो ।’
छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, महोत्सव मूल आयोजक समितिका सदस्य सचिव अजय कुमार टण्डन, परामर्शदाता समेत रहेका संघका पूर्व महासचिव अशोक कर्माचार्य लगायत सहभागी थिए । चौथो राष्ट्रिय खेलकुदका आयोजक समेत रहेका भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन पनि छलफलमा सहभागी थिए ।
छलफलमा सदस्य सचिव विष्टले संघलाई महोत्सवको तिथि केही दिनअगाडि सार्न आग्रह गरेका छन् । ‘यो हाम्रो पनि दायित्व हो, त्यसैले उहाँहरुको कुराप्रति हामी गम्भीर छौं’, छलफलमा सहभागी संघका निवर्तमान अध्यक्ष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे छिट्टै बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।’ छलफलमा आठांैको भव्यतामा बाँकेको सम्पूर्ण जनता एक हुनुपर्ने विषयलाई दुवै पक्षले जोड दिएको थियो । आठौं राष्ट्रिय खेलकुदको सफलतामा नेपालगन्जमा अस्तित्व जोडिएकाले सबै व्यवसायिक क्षेत्र एक ढिक्का भएर त्यसमा लाग्ने कुरामा संघ प्रतिबद्ध रहेको श्रेष्ठको भनाइ छ । ‘तर, महोत्सवको मिति तोकिइसकेकाले कसरी अगाडि पछाडि गर्न सकिन्छ भन्ने कुरामा छलफल पछि मात्रै टुङ्गोमा पुग्न सकिन्छ’, उनले भने ।
‘खेलकुदको समग्र अवस्थादेखि आठौंमा निजी क्षेत्रको सहकार्यका बारेमा हाम्रो छलफल केन्द्रित रह्यो’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसक्रममा आठौं र औद्योगिक महोत्सव मिति नजुधाउ भन्ने कुरामा पनि सदस्य सचिवको जोड रह्यो ।’ संघको टोलीले राष्ट्रिय गौरवको आठौंलाई सम्पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको जानकारी ओलीले दिए ।
राखेपले मंसिर २१ देखि आयोजना गर्ने भनिएको प्रतियोगिता भौतिक पूर्वाधार निर्माणका कारण हुन नसकेपछि माघ २५ देखि फागुन ५ गतेसम्म आठौंको आयोजना प्रदेश ५ मा गर्ने प्रस्ताव गरेपनि सो समयमा समेत आयोजना सम्भव देखिएको छैन । सदस्य सचिव विष्टले भौतिक पूर्वाधारहरुको सम्पूर्ण अवस्था अध्ययन गरी बस्ने बैठकले अब नसर्ने गरी तिथि घोषणा गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया