समाचारदाता
दैनिक नेपालगन्ज
निकै चुनौती, आशंका र अन्योलबीच आज सोमवारबाट नेपालगन्ज गोल्डकप फुटबलको तेस्रो संस्करण शुरु हुने भएको छ । यसपटक विभिन्न ६ वटा टिमबीच ५ लाख रुपिया पुरस्कार राशी सहितको उपाधिका लागि प्रतिष्पर्धा हुने भएको हो ।
आयोजक बाँके जिल्ला फुटबल संघले आयोजनास्थल नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमा आइतवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपालगन्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत मर्मत सम्भार भएपछि गोल्डकप खजुरामा गर्नु परेको हो । न्यू डाँफे क्लबले ठूल्ठूला प्रतियोगिता गरिरहेको मैदान भएकाले नेपालगन्ज रंगशालाको विकल्प डीगाउँको मैदान भएको आयोजकले बताएको छ ।
एन्फाका सदस्य प्रदेशसिंह राठौरले खजुरा क्षेत्रमा फुटबल गराउदा दर्शकको कमी नहुने विश्वास व्यक्त गरे । एन्फा ग्रासरुटबाट फुटबलको विकास गर्न लागि परेको तर्क गर्दै उनले भने, ‘यो अवसर पनि हो ।’
स्थानीय वडाका अध्यक्ष समेत रहेका न्यू डाँफे क्लबका अध्यक्ष तीलकबीर सुनारले रातदिन खटेर मैदानलाई राम्रो बनाएको बताए । ‘खजुरा फुटबलको हब हो । हामी आफैले पनि ठूल्ठूला प्रतियोगिता गराइसकेका छौं, यो गोल्डकपमा नेपालगन्जमा भन्दा बढी दर्शक आउँछन्, सुनारले आयोजकलाई ढुक्क पार्दै भने ।
संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने जानकारी दिएका हुन् । ‘सबै तिर प्रतियोगिता जुधेकाले अपेक्षा अनुरुप टिम आइपुगेनन्,’ अध्यक्ष शाहीले दैनिक नेपालगन्ज सँग भने । संघका अध्यक्ष शाहीले खजुरा क्षेत्र फुटबलको क्रेज भएको ठाउँ भएकाले गोल्डकप उत्साहजनक हुने बताए ।
नेपालगन्ज–११, सशस्त्र प्रहरी बल, लाली रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी संकटा क्लबले तेस्रो नेपालगन्ज गोल्डकपमा सहभागिता जनाउदै छन् । आज प्रतियोगिताको उद्घाटन खेल नेपालगन्ज–११ र सशस्त्र प्रहरी बलका बीचमा हुने अध्यक्ष शाहीले जानकारी दिए ।
नेपालगन्ज–११ ले पनि ए डिभिजन खेलेका खेलाडीहरु ल्याएको छ । व्यवस्थापक गान्धी हमालले मनाङबाट खेल्ने केही खेलाडी ल्याएको बताएका छन् । उद्घाटन खेल गर्ने दुवै टोली तम्तयार अवस्थामा रहेका छन् । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले सिनियर र जुनियर खेलाडी मिलाएर टोली ल्याएको बताए । एपीएफको धेरै सिनियर टोली नुवाकोटमा जारी गोल्डकप खेलिरहेका छन् । ‘खेलाडीहरु मिलाएर ल्याएका छौं, श्रेष्ठले भने ।