समाचारदाता
दैनिक नेपालगन्ज
आज सोमबारदेखि नेपालगन्जमा प्रदेश ५ स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स सुरु भएको छ । नेपालगन्ज रंगशालामा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको आयोजना हुन लागेको प्रतियोगिताबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । प्रतियोगितामा प्रदेश ५ का १२ वटै जिल्लाका ३ सय ३६ जना खेलाडी तथा ६० अफिसियलहरुको सहभागिता रहने समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको बताए ।
‘प्रदेश ५ का जिल्ला–जिल्लामा भएका छनोट खेल पश्चात सफल खेलाडीहरु प्रादेशिक स्तरको प्रतियोगितामा सहभागी हुन लागेका हुन्,’ अध्यक्ष ओलीले भने, ‘प्रतियोगिताका सबै खेलाडी नेपालगन्ज आइपुगेका छन् ।’
समितिका अध्यक्ष ओलीले प्रदेश ५ बाट छनौट भएका (विजेता÷उपविजेता)ले यही जेठ १० र ११ गते काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागिता जनाउने जानकारी गराएका छन् ।
सातै प्रदेशबाट छनौट भएका खेलाडीहरुले काठमाडौंमा प्रतिस्पर्धा गर्ने छन् । चिल्ड्रेन गेम्स अन्तरगत एथलेटिक्स, लङजम्प, ट्रिपलजम्प, सटपुट, कराँते, उसु, तेक्वान्दो लगायतका खेलहरु समाविष्ट गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक एवं क्षेत्रीय उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । आयोजकका अनुसार, प्रतियोगितामा कक्षा ६, ७ र ८ मा अध्यनरत १४ बर्षसम्मका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको कुल लागत खर्च १७ लाख ४० हजार रुपैया रहेको उपाध्यक्ष थापाले बताए ।
प्रतियोगितामा आज सोमबार विहान प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) ले उद्घाटन गर्ने बताइएको छ । क्षेत्रीय संरचनामा रहेको खेलकुद विकास समितिले पहिलो पटक प्रादेशिक संरचनामा खेलकुदको आयोजना गर्न लागेको हो । ‘यसअघि पोखरा जाने खेलाडीहरु यसपटक नेपालगन्ज आइपुगेका छन्’, पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘नयाँ ढंगले खेलकुदका संरचनाहरु पनि सक्रिय भैरहेका छन् ।’