खेलकुदमा ‘क्षमता पहिचान’, नेपालगन्जमा प्रधानमन्त्री कपको तयारी बैठक

नेपालगन्ज/समाचारदाता
दैनिक नेपालगन्ज

विद्यालय स्तरका स–साना बालबालिकाका लागि राष्ट्रिय खेलकुद परिषद्ले ‘क्षमता पहिचान’ सुरु गरेको छ । शनिबार देखि बाँकेमा पनि विद्यार्थीहरु बीच खेलकुदमा ‘क्षमता पहिचान’ सुरु गरिएको हो ।
जिल्लाबाट ३४ जना बालबालिका खेलकुदका लागि छनोटमा पर्नेछन् । राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले देशभरीबाट १ सय ७० जनालाई छनोट गरी उनीहरुको विकासका लागि आगामी असार सम्म नियमित प्रशिक्षणमा सहभागी गराउने बताइएको छ । राखेपले भलिबल, कबड्डी र एथलेक्टिसमा देशभरीबाट क्षमतावान बालबालिका लिन खोजेको हो ।
बाँकेमा त्यसका लागि छनोट सुरु गरिएको छ । क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त शर्माले १० देखि १२ बर्ष उमेर समूहका विद्यार्थी बीच उनीहरुको रुचि अनुसार क्षमता पहिचान सुरु गरिएको जानकारी दिए । ‘छात्र÷छात्रा दुवैलाई बराबर मौका दिइनेछ’, एथलेक्टिस प्रशिक्षक बिक्रम थापाले दैनिक नेपालगन्जसँग भने, ‘राखेपले यस बर्षदेखि खेलकुद विकासमा नयाँ प्रतिभा प्रवेशको राम्रो अभियान सुरु गरेको छ ।’
छनोटका लागि राखेपका खेलकुद विज्ञ शिवराज भट्ट र लेखा अधिकृत विकास विक्रम शाह नेपालगन्जमा खटिएका छन् । ‘पहिले खेलाडीहरु छनोट गरी सबै खेलमा उनीहरुको क्षमता पहिचान गरिन्थ्यो’, निर्णायक राजेन्द्र शाहीले भने, ‘यस पटकदेखि निश्चित खेलमा उनीहरुको रुचि अनुसार अवसर दिन खोजिएको छ ।’
राखेपले छनोटमा परेका विद्यार्थीहरुका लागि मासिक २ हजार रुपैयाँ पोषण खर्च समेत उपलब्ध गराउने छ । नियमित प्रशिक्षणको अवसरसँगै पोषण खर्च समेत प्राप्त हुने भएकाले विद्यार्थी नियमित खेलकुदमा केन्द्रित हुन सक्नेछन् । ‘यो विश्वभर चलिरहेको अभ्यासलाई नेपालगन्जलाई पनि नेपालले आत्मसात गरेको हो’, एथलेक्टिक्स प्रशिक्षक थापाले भने ।
आगामी असार पछि पनि उनीहरुलाई निरन्तर प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउनु पर्ने माग प्रतिष्ठानको छ । ‘त्यसका लागि बजेट आइसकेको छैन’, राखेपका खेलकुद विज्ञ भट्टले बार्षिक कार्यक्रम मात्र भएकाले असार पछि के गर्ने भन्ने अहिले नै भन्न नसकिने बताए । ‘तर, हामीले कम्तिमा ५ बर्षसम्म यि विद्यार्थीलाई नियमित प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै अगाडि बढाउनु पर्छ भन्ने योजना सहित बजेट माग गरेका छौं’, भट्टले भने ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले राखेपको क्षमता पहिचानलाई व्यापकता दिएर अगाडि बढ्नु पर्ने बताए । ‘तर, कतिपय प्रक्रियागत कमजोरीले बृहत सहभागिता हुन सकेको छैन’, वलीले भने, ‘आउँदा दिनमा क्षेत्रीय स्तरमा यसलाई ध्यान दिइनेछ ।’
नेपालगन्जमा प्रधानमन्त्री कपको तयारी बैठक

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पाँचौ संस्करणलाई भव्य बनाउने विषयमा शनिबार तयारी परामर्श बैठक गरिएको छ । जिल्ला भलिबल संघ बाँकेले आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म नेपालगन्जमा आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई कसरी विशेष बनाउने भन्ने बारे तयारी परामर्श बैठक गरिएको हो ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता थियो । प्रजिअ केसीले आयोजनाको भव्यतामा सरकारी सहभागितालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले प्रधानमन्त्री कप भलिबल बाँके जिल्लाकै गौरवको आयोजना भएकाले सबै स्थानीय तहको सहभागिता आवश्यक भएको बताए ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै अभियानका रुपमा प्रधानमन्त्री कपको पाँचौ संस्करणलाई लिइएको बताए । ‘आयोजनालाई विशेष बनाउन सबैको भूमिका खोजिएको छ’, आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया