एचसीआरसी कप ब्याडमिन्टनको ट्रफी ज्ञानोदय विद्या निकेतनले हात पारेको छ । प्रतियोगितामा सबैभन्दा बढी पदक जित्दै ज्ञानोदयले उपाधी हात पारेको हो । बिहीबार समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य रोहित टन्डन, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणा, आयोजक अस्पतालका बलराम शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति उपाध्यक्ष नरेन्द्र थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
बिहीबार भएको यु–१६ तर्फको फाइनल खेलमा सफल थापा र समिक्षा न्यौपाने च्याम्पियन भए । नेपालगन्ज कभर्डहलमा भएको खेलमा सेन्ट थोमस स्कुलका सफलले फाइनलमा आफ्नै स्कुलका सचिन चौधरीलाई २१–१२, २१–११ ले पराजित गर्दै च्याम्पियन भएका हुन् । सोही इभेन्टमा सेन्ट थोमसकै शिव सुनार र संगम पुन तेस्रो भए । शिव प्रतियोगितामा उदयीमान खेलाडीबाट पुरस्कृत भएका थिए ।
यु–१६ महिलामा वेस्ट जोनकी समिक्षाले ज्ञानोदय विद्या निकेतनकी विपना थापालाई २१–५, २१–१३ ले पराजित गर्दै प्रथम भइन् । सेन्ट थोमसकी दुर्गा पुन र सुस्मिता पौडेल तेस्रो भए । यु–१३ पुरुषमा करण सिह र विपनाले पहिलो स्थानमा हासिल गरे । विपनाले आफनै स्कुलकी सुस्मितालाई २१–७, २१–१७ ले पराजित गरिन् । सेलिना र दुर्गा पुन तेस्रो भइन् । ज्ञानोदयका करणले ब्राइटल्यान्डका दिब्य बोथरालाई २१–८, ७–२१, २१–१५ ले हराएर प्रथम भए ।
पुरुष डब्लसको फाइनलमा इरफान अन्सारी र चक्र दाम्रपालले रियाज अन्सारी र राम प्रसाद भुषालको जोडीलाई १९–२१, २१–१८, २१–१७ ले हराउदै प्रथम भयो । सो ईभेन्टमा विलाल वारिस र सफल थापा, तथा अभय लाल श्रेष्ठ र अरुण गौतमको जोडी तेस्रो भयो । पुरुष डबल्स विजेताले आधा तोला सुन, उपविजेता जोडीले १० हजार र सेमिफाइनल पुग्ने टिमले समान ५ हजार नगद रुपैया“ प्राप्त गरेका थिए ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा संचालन भएको प्रतियोगितामा पाँच वटा इभेन्ट समावेश गरिएको थियो । प्रतियोगितामा१ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गरेका थिए ।