भारोत्तलनको अन्तर्राष्ट्रिय प्रतियोगिता घोषणा

आगामी साउन ६ गतेदेखि नेपालमा १९औं यूथ, २४औं ओमेन, ३१औं जुनियर मेन भारोत्तलन प्रतियोगिता आयोजना हुने घोषणा गरिएको छ ।

दुई बर्ष अघि २०७२ साउन ६–१५ मा पूर्व घोषित उक्त प्रतियोगिता बैशाख १२ को विनाशकारी भूकम्पका कारण स्थगित भएको थियो । ‘मुलुक भुकम्पको चपेटोबाट क्रमशः मुक्त हु“दै आगाडी बढ्न सफल भैरहेकाले प्रतियोगिता सञ्चालनको आ“ट गरेका हौं’, बिहीबार राजधानी काठमाडौंमा अनुमानित १ करोड ७५ लाख बढीको बजेट कार्यक्रम सहित प्रतियोगिता घोषणा गर्दै नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डनले भने ।

अध्यक्ष टण्डनका अनुसार, सन् २०१६ मा जापानमा आयोजित युथ एण्ड वेटलिफ्टिङ्ग च्याम्पियसशिपका क्रममा नेपालले उक्त प्रतियोगिताहरु सञ्चालन गर्ने अनुमति पाएको थियो । प्रतियोगिता २०७४ साल श्रावण ६ गते – १४ गते सम्म आयोजना निश्चित गरिएको जानकारी दिंदै अध्यक्ष टण्डनले झण्डै ३५ राष्ट्रका ४ सय खेलाडी प्रतियोगितामा सहभागी हुने अपेक्षा गरे ।

प्रतियोगितामा साउथ एसिया, इस्ट एसिया, मिडल इस्ट एसिया, सेन्ट्रल एसियाबाट जना पुरुष तथा महिला खेलाडी, प्रविधिक, अफिसियल, व्यवस्थापक, प्रशिक्षकहरुको सहभागिता हुने अनुमान गरिएको छ ।

‘विश्व भारोत्तोलनको मानचित्रमा भारोत्तोलन खेलका पावर हाउस मानिने महादेश एसिया नै भएको हुनाले विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन जस्ता खेलाडीहरु पनि उक्त प्रतियोगितामा सहभागी हुने अवगत गराउन चाहन्छौ’, बिहीबार प्रतियोगिता घोषणा गर्दै संघका अध्यक्ष टण्डनले भने, ‘प्रतियोगिताबाट युथ तथा जुनियर तर्फको नयाँ विश्व किर्तिमान तथा एसियन किर्तिमान कायम हुने सम्भावना पनि रहेको छ ।’ ‘प्रतियोगिता नेपालले आयोजना गर्ने स्विकृति पाउनु नै एउटा गौरवको कुरा हो र यसमा हाम्रो राष्ट्रको प्रतिष्ठा गाँसिएको हामीले महसुस गरेका छौ’, उनले भने ।

‘नेपाली खेलकुद इतिहासमा यो प्रतियोगिता आधिकारिक रुपले हालसम्मकै सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता हो’, अध्यक्ष टण्डनले भने, ‘दक्षिण एसियाली राष्ट्रहरुमा नेपाली खेलाडी उत्पादनमा मात्र होइन, आयोजना र व्यवस्थापनमा पनि त्यतिकै सक्षम छ भन्ने सन्देश प्रवाह भएको छ ।’ एसियाली भारोत्तोलन प्रतियोगिताको सफल आयोजनाले भविष्यमा एसियन या विश्व स्तरिय भारोत्तोलन प्रतियोगिता नेपालमा आयोजना हुने अर्को अवसर प्राप्त हुने विश्वास अध्यक्ष टण्डनको छ । ‘प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा टेवा पु¥याउने छ, खेल संस्कारको विकास हुने छ, अर्थतन्त्र चलायमान गर्न सघाउने छ, नेपालले विश्व समुदायको विश्वास जित्ने अवसर प्राप्त गर्ने छ’, उनले भने ।

सन् २०१५ मा सिनियर एसियन भारोत्तोलन प्रतियोगिता सञ्चालन गर्न गराउनको लागि एसियन भारोत्तोलन महासंघ तथा नेपाल भारोत्तोलन संघको पहलमा चीनस्थित जेडकेसी कम्पनीबाट लगभग ८६ हजार अमेरिकी डलरको भारोत्तोलन खेल सामाग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो ।

सो रकम मध्ये २० हजार अमेरिकी डलर म्याचिङ्ग फन्डको लागि राष्ट्रिय खेलकुद परिषदबाट अनुदान स्वरुप प्राप्त भएको र बाँकी रहेको ६६ हजार अमेरिकी डलर बराबरको खेल सामाग्रीहरु अन्तराष्ट्रिय भारोत्तोलन महासंघ, एसियन भारोत्तोलन महासंघ तथा जेडकेसी कम्पनीबाट अनुदान स्वरुप उपलब्ध गराइएको काठमाडौंमा आयोजित प्रतियोगिता घोषणा कार्यक्रममा जानकारी गराइएको छ । उक्त सामाग्रीहरु पनि प्राप्त भइसकेको संघका अध्यक्ष टण्डनले जानकारी गराएका छन् ।

प्रतियोगिताको लागि पनि अन्तराष्ट्रिय भारोत्तोलन महासंघबाट पुनः ३६ हजार अमेरिकी डलर बराबरको खेल सामाग्रीहरु अनुदान स्वरुप उपलब्ध गराइएकोमा उक्त सामाग्रीहरु केही दिन मै नेपाल आइपुग्ने अध्यक्ष टण्डले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया