बाँके/खेललाई मानव सभ्यता विकासक्रम संगै मनोरन्जनको रुपमा पनि ब्याख्या गरिन्छ । परापूर्वकालमा आफ्नो बल र बुद्धीको क्षमता प्रदर्शनको रुपमा सुरुवात भएको विभिन्न खेल अहिले देशकै इज्जत र सम्मान बढाउनमा प्रेरणादायी सावित भइरहेका छन् । खेलकुद विकासमा सरकारी स्तरबाट पछिल्लो समयमा सक्रियता बृद्धि भएको पाइएको छ । खासगरि क्रिकेट, भलिबल, फुटबल जस्ता खेलमा नेपालले पनि आफुलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएको छ । अर्थात खेल अब कुनै घरदैलो वा दायरामा मात्रै सिमित रहेन र फुर्सदिलाहरुले मात्रै खेल्ने गरेको प्रसंग पनि पुरानो भयो ।
खेल अब सबैको सम्मान र प्रतिष्प्रधाको विषय बनिसकेको छ । तर, सरकारका तर्फबाट हुनु पर्ने प्रचुर प्रयास नहुँदा खेल र त्यस संग सम्बन्धित ब्यक्तिहरु निरास हुने गरेका छन् । बाँके राप्तीपारि जिल्लाको एक तिहाई भुगोल हो । त्यहाँ ९ वटा गाबिस छन् । झण्डै ४० बढि विद्यालय छन् । तर खेलकुदका लागि कुनै ब्यवस्थित ठाउँ वा मैदानको ब्यवस्था छैन । राप्तीपारि क्षेत्रमा कुनै खेलकुद आयोजना गर्दा आयोजकलाई सबै भन्दा बढि तनाव दिने विषय पनि खेल मैदान नै हो । त्यसपछि विद्यार्थीहरुको पठन पाठनलाई प्रभावित गरेर विद्यालय हाता भित्र खेल आयोजना गर्नु आयोजकको बाध्यता हुन्छ ।
राप्तीपारि मटेहिया स्थित गणपति सामुदायिक वन क्षेत्रमा खाली रहेको क्रिकेट मैदान जतिको जग्गालाई राप्तीपारिकै खेल मैदानको रुपमा विकसित गर्न अचेल केहि अभियन्ताहरु जुटेका छन् । महेन्द्र मावि मटेहियाका लेखापाल शिवचरण यादव भन्छन्, विद्यालयको हाता क्षेत्र प्रर्याप्त र ब्यवस्थित नहुने भएकोले खेलका लागि सास्ती हुने गरेको छ । ‘गंगापुरको जयकिसान माविमा खेलका लागि केहि ब्यविस्थत स्थान रहेपनि त्यो प्रयाप्त छैन’, यादवले भने, ‘छुट्टै किसिमको खेल मैदानको खोजी र विकासका लागि अहिले सबैको ध्यानाकर्षण भएको छ ।’
हालै मात्र जयकिसान माविमा आयोजित रनिंङ्ग शिल्डपछि अधिकाँशको टाउको दुखाई खेल मैदान नै बनेको छ । कार्यक्रम उद्घाटनमा बाँके क्षेत्र नं.२ का सांसद दिनेशचन्द्र यादवले खेल मैदान आफ्नो प्राथमिकतामा रहेको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको प्रधानाध्यापक लक्ष्मण प्रसाद तिवारीले बताए । पाँच लाख रुपैया“ खेल मैदानका लागि छुट्याएको जानकारी आएको छ दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रअ तिवारीले भने, मटेहियाको उत्तर तर्फ रहेको सामुदायिक वनको खाली जग्गामा खेल मैदान स्थापनाको पहल सुरु गरिएको छ ।
विद्यालयमा खेल हुँदा अन्य विद्यार्थीको पठन पाठन प्रभावित हुने र विद्यालयको वातावरण खल्बलिने हुँदा खेल मैदान छुट्टै स्थापना गरेर खेल विकास गर्ने प्रयास चौतर्फी रुपमा भइरहेको महेन्द्र मावि मटेहियाका खेल शिक्षक मकबूल अहमद मुकेरीले बताए ।
‘सामुदायिक वन संग जग्गा माँग गर्ने र खेल मैदानको जग्गा निर्धारण गरि चारैतिर बृक्षारोपण र तारवारको लागि प्रयास सुरु भएको हो’, मुकेरीले भने, ‘खेल मैदान नहुँदा विद्यार्थीहरु खेलबाट बञ्चित भएका छन् ।’ ‘सबैको प्रयास खेल मैदानमै केन्द्रित छ’, मुकेरी भन्छन्, ‘खेल मैदानकै अभावमा विद्यार्थीलाई राम्रो प्रशिक्षण दिन सकिएको छैन । यसअघि सिद्धेश्वर उच्च माध्यमिक विद्यालय फत्तेपुरको हातालाई खेल मैदानको रुपमा विद्यार्थी र खेलाडीहरुले प्रयोग गर्दै आएका छन् ।’
खासगरि गंगापुरदेखि कटकुईया सम्म ६ वटा गाबिस क्षेत्रमा कुनै खेल मैदान नभएका कारण विद्यार्थीहरु अतिरिक्त क्रियाकलाप र खेलकुदबाट बञ्चित हुँदै आएका हुन् । मटेहिया स्थित समुदायिक वनको जग्गा सबै विद्यालयका विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा रहेकोले त्यस तर्फ आकर्षण बढेको स्थानीयहरुको भनाई छ ।
‘जग्गा अभावका कारण पर्याप्त खेलका अभ्यास नभएको कुरा सबैलाई महसुस भएकै हो’, जयकिसान मावि गंगापुरका खेल शिक्षक प्रेम चन्द्र मौर्य भन्छन्, ‘हामीले विद्यालयको जग्गाबाट विद्यालय नजिक भएका ब्यक्तिहरुको जग्गा साँट्ने योजनामा पनि छौं ।’ ‘खेल मैदान नभई हुँदैन’, उनले भने, ‘विद्यार्थीहरुको लागि यो अत्यावश्यक विषय हो ।’
‘मटेहिया वडा नं.४ सामुदायिक वनको जग्गामा खेल मैदान स्थापना गर्न सकिन्छ भने त्यो सबैभन्दा उत्तम हो’, मौर्यले भने, ‘सबै गाबिस क्षेत्रको लागि त्यो पायक पर्ने स्थानमा रहेको छ । स्थानीय क्षेत्रमा खेलाडीहरु पनि छन् तर, उनीहरुलाई पर्याप्त सुविधा नहुँदा बेलामौकामा मात्रै क्रिकेट, भलिबल लगायतका प्रतियोगिता हुने गरेका छन् ।