ठेक्कापट्टामा ४ करोड २२ लाख घुस: पुरातत्वका दुई कर्मचारीविरुद्ध मुद्दा दायर

पुरातत्व विभागसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले विभागका सिडीई (उपसचिव) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक (नासु) देउकला अधिकारीमाथि ठेक्कापट्टा प्रक्रियामा घुस लिएको आरोप लगाएको हो।

अख्तियारका अनुसार, निर्माण सेवा प्रालि नामक कम्पनीले पुरातत्व विभागबाट विभिन्न कार्यका लागि ६४ करोड २१ लाख रुपैयाँ बराबरको ठेक्का प्राप्त गरेको थियो।

सोही ठेक्कासँग सम्बन्धित रकममध्ये चार करोड २२ लाख रुपैयाँ घुसस्वरूप देउकला अधिकारीको खातामा जम्मा गरिएको आरोप लगाइएको छ।

आयोगले ती विभिन्न ठेक्कामा सहजीकरण गरिदिएको भन्दै उक्त रकम घुसका रूपमा प्राप्त भएको दाबी गरेको छ।

यसबाहेक, अख्तियारका अनुसार उनीहरूले संयुक्त नाममा नुवाकोटमा तीन कित्तामा फैलिएको १५ रोपनी जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा खरिद गरेका छन्। साथै, घुसबाट प्राप्त रकम प्रयोग गरी करिब सय ग्राम सुन किनिएको, चेकमार्फत रकम साटेर नगद बनाइएको र ऋणका रूपमा लगानी गरिएको पनि आरोपपत्रमा उल्लेख छ।

उक्त घटनामा उनीहरूमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

प्रतिक्रिया