हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।
उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए ।
क्यान्सर जितेर फर्केको करिब ३ महिनापछि राणा अहिले प्रहरी हिरासतमा छन् । उनै राणालाई उपचार गराउन भारत लैजान सरकारले नदिएको भन्दै संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार एक विज्ञप्ति समेत निकालेका थिए ।
‘भारतको मुम्बईमा फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौं,’ नेपालले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि उनी पक्राउ परेका थिए । उनको गत सोमबार र मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान समेत लिइएको थियो ।
उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।
यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो । यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो ।
प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए । यो प्रदर्शनमा मिश्र र राणा समेत आफैं तीनकुनेमा उपस्थित भएका थिए ।
प्रदर्शन हिंसात्मक बनेपछि उनीहरू दुवै जनालाई प्रहरीले ललितपुरबाट १५ चैतकै राति पक्राउ गरेको थियो ।
