मेलबर्न शिखर सम्मेलन २०२५ नवप्रवर्तन र दिगो विकासमा बल दिएको छ र यसले नेपाल, अष्ट्रेलिया र अमेरिकाका प्रमुख सहभागीहरूलाई समेटेको थियो, जसमा सांसद, मेयर, उद्यमी र विज्ञहरू सामेल थिए। हिमालयन आउटरीच इन्टरनेशनल अष्ट्रेलियाले आयोजना गरेको यो सम्मेलन मेलबर्नको ऐस्कट भेलमा भएको थियो र यसले वैश्विक सहकार्यको प्रवर्द्धनका लागि छलफलहरू गरिरहेको थियो।

मुख्य वक्ता, नेपाल खेलकुद विश्वविद्यालयका बोर्ड सदस्य डा. ओम कृष्ण प्रसाईले खेलकुदको महत्व र यसले नेपाल-अष्ट्रेलिया सम्बन्धमा कसरि सुदृढ गर्न सक्छ भन्ने विषयमा चर्चा गरे, साथै खेल शिक्षा क्षेत्रको ज्ञान साटासाटको महत्त्वलाई जोड दिए। काशि अधिकारीले अमेरिकाबाट विश्व शान्तिको विषयमा कुरा गरे भने, डा. प्रदीप बस्तोलाले नवप्रवर्तन र दिगो विकासको बीचको महत्त्वपूर्ण सम्बन्धबारे एक अवधारणा पत्र प्रस्तुत गरे।
सम्मेलनमा विभिन्न प्रभावशाली उद्घाटन मन्तव्यहरू प्रस्तुत गरिएका थिए, जसको शुरुआत हिमालयन आउटरीचका अन्तर्राष्ट्रिय निर्देशक ड्यान घिसिङले गरेका थिए। त्यसपछि, गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका उपाध्यक्ष मोनिरत्न सापकोटाले अष्ट्रेलिया-नेपाल सम्बन्धलाई प्रगाढ बनाउन र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृतिको भूमिकामा जोड दिएका थिए।
सम्मेलनमा ग्रामीण-शहरी योजना विषयमा पनि छलफल गरिएको थियो, जसमा बागलुङ नगरपालिकाका प्रमुख हरि कँडेल र ढोरपाटन नगरपालिका वार्ड अध्यक्ष खिमा घर्ती मगरले स्थानीय विकास प्रयासहरूलाई प्रस्तुत गर्दै एउटा डोक्युमेन्ट्री प्रदर्शन गरे।
बंगलादेशकी पत्रकार र उद्यमी शर्मिन मिशुले सीमान्त व्यापार अवसर र चुनौतीहरूमा एक अवधारणा पत्र प्रस्तुत गरिन् । सामाजिक कार्यकर्ता निरु त्रिपाठीले नेपाल-अष्ट्रेलिया कूटनीतिक सम्बन्धको बारेमा चर्चा गरिन्।
-(डा. विधुप्रकाश कायस्थ)











