ट्रेड टावरले आईपीओ जारी गर्ने, के हो कम्पनीको बिजनेस ?

ट्रेड टावरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ ।

मंसिर १२ गते कम्पनीले गौशालास्थित क्रिस्टल होटलमा साधारणसभा बोलाएको छ । साधारणसभाले आईपीओ निष्कासनको प्रस्तावसँगै उपयुक्त पार्टनर भेटेमा मर्जरको सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पास गर्नेछ । आईपीओको संख्या तथा मूल्यबारे पछि तय हुनेछ ।

यस कम्पनीले हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो ।

काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षका लागि भाडामा लिएर कम्पनीले भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १२ वर्ष बितिसकेको छ ।

त्यस्तै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ । कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ । ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो ।

प्रतिक्रिया

प्रतिक्रिया