वर्षाले बजार डुबानमा, लोकमार्ग अवरुद्ध

बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ बजार क्षेत्र प्रभावित भएको छ । भारी वर्षापछि आएको भलपानीले निकास नपाउँदा बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

बजारको माथिल्लो भेगबाट आएको बल बजारमा पसेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए । राति बजार क्षेत्र जलमग्न भए पनि अहिले अवस्था केही सुधार भएको उनले बताए । ‘श्रीनगर टोलमा अलि बढी पानी पसेको भन्ने खबर आएको छ । तर एकीन क्षति विवरण आइसकेको छैन, हामी बुझ्दैछौं’, उनले भने ।

उच्च भेगमा भएको बागलुङ बजार यसअघि त्यसरी डुबानमा परेको थाहा नभएको स्थानीयले बताएको डीएसपी यादवले सुनाए । ‘यहाँका बासिन्दाले यसअघि बजारमा यति ठूलो पानी पसेको थाहा थिएन भनेका छन् । एकै पटक ठूलो मात्रामा पानी पर्दा डुबानमा परेको हुन सक्छ’, उनले भने ।

स्थानीयका अनुसार मध्यपहाडी लोकमार्गदेखि आएको भल बागलुङ बजारमा पसेको हो । भलबाढीले बजार क्षेत्रका विभिन्न बाटोमा क्षति पुर्‍याएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया