दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५ जना पुगेको छ । शुक्रबार राती बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस राप्ती नदीमा खसेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट, बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान भएको छ भने अन्य ३ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएका २ तथा भालुवाङका मृत्यु भएका एक जनाको पहिचान नखुलेको हो ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी प्रमुख हरिभक्त रोकाया अनुसार घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन् । उनीहरु सामान्य घाइते छन् ।
यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगञ्जका १८ वर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन् ।
यसैगरी भारतका २० वर्षीया छोथी सिलौटा गम्भिर घाइते भएकी छन् । काठमाडौंकी राधा पाण्डे पनि गम्भिर घाइते भई थप उपचारका लागि बुटवल ल्याइएको छ । उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे भने सामान्य घाइते भएकी छन् ।
सामान्य घाइते हुनेहरुमा बाँके बैधापुरका २१ वर्षीय शंकर थारु, ३० वर्षीय भारतीय नागरिक रावलकुमार अहिर, कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, जुम्लाका १९ वर्षीइ विशाल बोहोरा र बाँकेका २० वर्षीय निरञ्जन कोरी रहेका छन् । यस्तै बाँके नेपालगञ्जका २४ वर्षीय आशुतोस गौतमले गाडीबाट हामफालेर ज्यान बचाउन सफल भएका थिए । उनी सामान्य घाइते छन् ।