वृद्धाको हत्या आरोपी पक्राउ

नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी बिहीबार पक्राउ परेको छ । पचहत्तर वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको र अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) संजयसिंह थापाले जानकारी दिनुभयो । “लामो समयदेखि लागुऔषध दुव्र्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ,” उहाँले भन्नुभयो, “वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।”

वृद्धाको हत्यापश्चात् लुटिएको रु ८३ हजार र उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडाँैको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो । “गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ,” प्रहरी प्रमुख थापाले भन्नुभयो, “नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ् ।”

एकल महिला र निःसन्तान खत्रीको सोमबार राति १० बजे हत्या भएपनि छिमेकीले मङ्गलबार मात्र थाहा पाएका थिए । सो घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया